हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ भदौ । कञ्चनपुरमा एकै दिन नेपाल प्रहरीका दुई वटा कार्यालय भवनहरूको उद्घाटन गरिएको छ । बुधबार गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले संयुक्त रूपमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनहरूको उद्घाटन गर्नुभएको हो । नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन तथा भान्साघरको उद्घाटन गरी उहाँहरूले उक्त नवनिर्मित भवनहरूको अवलोकन तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । त्यस क्रममा गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु नै रहेको बताउनु भएको छ । मन्त्री लेखकले दुई ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच सात बुँदे समझदारी गर्दै नागरिकको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको बताउनु भयो । २०४६।०४७ सालको आन्दोलनमा मिलेर जाँदा पञ्चायती व्यवस्थालाई परास्त गरी लोकतान्त्रिक बहुदलीय व्यवस्था कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, दश वर्षे सशस्त्र द्वन्द्वलाई पनि मिलेरै शान्तिमा परिणत गरेको बताउनु भयो । त्यसपछि पनि अन्तरिम संविधान बनाउनेदेखि संविधान सभाबाट नयाँ संविधान जारी गरिएको र त्यसको कार्यान्वयन भइरहेको हुँदा देशको विशिष्ट कार्यभार सम्हाल्न सहमति र सहकार्य मार्फत सरकार सञ्चालन गर्न लागिएको धारणा राख्नु भयो ।
पछिल्लो समयमा मुलुकमा देखा परेको सरकारको अस्थिरता, राजनीतिक अस्थिरता र त्यसैका कारण मुलुकमा उत्पन्न अन्यौलता र नागरिकमा देखा परेको निराशालाई समाप्त गरेर सरकारको स्थिरताका साथै भ्रष्टाचार नियन्त्रण, मुलुकमा सुशासन ल्याउन, शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, जनतालाई सहज सेवा प्रवाह गर्न, विकासका कार्यलाई तीव्रता दिन र संविधानको समीक्षा गर्दै आवश्यक रहेका धारा उपधाराहरू संशोधन गर्न दुई ठुला दलहरू मिलेर नयाँ सरकार गठन गरिएको स्पष्ट पार्नुभयो । नागरिकलाई अधिकतम सेवा प्रदान गर्ने वातावरण बनाउनका लागि पनि सुरक्षा निकायका भौतिक संरचना अत्यावश्यक रहेको मन्त्री लेखकको भनाइ छ । उक्त अवसरमा गृहमन्त्री लेखकले शान्ति सुरक्षा, अमन चयन कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण नेपाल प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवर्निमित भवनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल प्रहरीले सीमित स्रोत साधनका बाबजुद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै उहाँले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ससाना युनिटहरूका लागि आवश्यक भौतिक संरचना निर्माणमा बजेटको व्यवस्थापन गर्न प्रदेश सरकारका मन्त्रीलाई अनुरोध गर्दै आफूले जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसा–पत्र समेत प्रदान गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश सरकारसँग बजेटको अभावका कारण सुरक्षा निकायमा भौतिक संरचना निर्माणमा त्यति धेरै सहयोग गर्न नसकिएको भन्दै मन्त्री सार्कीले स्थानीय तह र सङ्घीय सरकारको सहकार्यको आवश्यकता औँल्याउनु भयो । मन्त्री सार्कीले युवाहरू लागु औषध दुर्व्यसनमा फसेको भन्दै समयमै त्यसको नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर लगायतका प्रहरी अधिकारीहरू र विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो । त्यस क्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षामा सधैँ केन्द्रित हुनु प्रहरीको मुख्य काम भएको उल्लेख गर्दै त्यसका लागि भौतिक संरचनाहरू निर्माण गर्ने काममा प्रहरी लागेको बताउनु भयो । प्रहरी महानिरीक्षक कुँवरले कानुन कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा रहेको नेपाल प्रहरीका अधिकांश भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै लैजाने योजना बमोजिम भवन निर्माणका कार्यहरूलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सम्पूर्ण नागरिकहरूले गुणस्तरीय एवम् व्यावसायिक प्रहरी सेवा प्राप्त गर्न पाउन् भन्ने मुख्य उद्देश्यका साथ नेपाल प्रहरीको पूर्वाधारहरू विकसित गर्दै लैजानेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रवीन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरञ्जीवी महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको विनियोजित बजेटबाट कुल १३ करोड २६ लाख ६५ हजार ३ सय ३६ रुपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । प्रहरी सङ्गठनलाई भौतिक पूर्वाधारबाट आत्मनिर्भर बनाउने क्रममा २०७९ भदौ २६ गते बोलपत्र आह्वान गरिएकोमा आवश्यक प्रक्रिया पुर्याई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र आशिष् कन्स्ट्रक्सन कम्पनी प्रा.लि. धनगढीबिच २०७९ मङ्सिर २९ गतेका दिन सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार निर्धारित समयावधि भित्रै २०८१ जेठ २९ गतेका दिन कार्यालय, ब्यारेक, भान्साघर निर्माण लगायतका सबै कार्य सम्पन्न भएको नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरले जनाएको छ । त्यस्तै, नेपाल सरकारको विनियोजित बजेटबाट कुल ४ करोड ५२ लाख ८९ हजार ४ रुपैयाँ ३७ पैसा लागतमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । सुविधा सम्पन्न उक्त भौतिक संरचनाले अब सेवा प्रवाहमा सहजता हुने विश्वास लिइएको छ । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी सङ्गठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवी, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।