हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित सिद्धनाथ मन्दिर समितिको आयोजनामा भएको सिद्धनाथ वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को टिमले हात पारेको छ । बिहीबार साँझ आयोजित अन्तिम खेलमा आयोजक सिद्धनाथ मन्दिर समिति "ए" लाई ३-१ सेटको अन्तरले पराजित गर्दै धनगढी ८ प्रथम भएको हो । उक्त टिमले पुरस्कार स्वरूप रु. २१ हजार एक सय ११ सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।
आयोजक सिद्धनाथ मन्दिर समिति "ए" भने द्वितीय भएको छ । उक्त टिमले पुरस्कार स्वरूप रु. ११ हजार एक सय ११ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर ९ को टिमले तृतीय स्थानमा चित्त बुझाउनु परेको छ । उक्त टिमलाई पुरस्कार स्वरूप रु. ७ हजार ७ सय ७८ सहित, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
योसँगै सिद्धनाथ मन्दिर समितिद्वारा आयोजित गौरा पर्व विशेष डेउडा कार्यक्रम र सिद्धनाथ वडा स्तरीय भलिबल प्रतियोगिता २०८१ समापन गरिएको मन्दिर कार्य समितिका अध्यक्ष दिनेश राज भट्टले जानकारी दिनुभएको छ । उहाँले गौरा पर्व विशेष डेउडा कार्यक्रम र भलिबल प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
त्यस्तै, समापन कार्यक्रमका प्रमुख अतिथि एवम् बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सबै समुदायका चाडपर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउन नगरपालिकाले प्रोत्साहन गर्दै आएको उल्लेख गर्नुभयो । नगरपालिका स्वयं वा मातहतका वडा एवम् शाखाहरूबाट यस्ता कार्यक्रमलाई सहयोग गर्न नगरपालिका सदैव तयार रहेको उहाँको भनाइ छ ।
कार्यक्रमका विशिष्ट अतिथि एवं वडा नम्बर ९ का वडाध्यक्ष किसान सिंह रानाले सह आयोजकका रूपमा वडाले उक्त कार्यक्रममा भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उद्घोष गर्नुभयो । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले खेलाडीहरूको जोस जाँगर देखेर वडाले सिफारिस गरेको सुनाउँदै प्रथम भएकोमा खेलाडीलाई बधाई समेत ज्ञापन गर्नुभयो ।
समापन कार्यक्रममा नयाँ आजीवन सदस्य र खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ भने खेल सञ्चालनमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान पत्र प्रदान गरिएको सिद्धनाथ मन्दिर समितिका सचिव बलदेव भट्टले जानकारी दिनुभयो । कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको छ । यही भदौ ८ गतेदेखि सञ्चालित भलिबल प्रतियोगिता त्रिभुवन मावि रतनपुरको प्राङ्गणमा सञ्चालन गरिएको थियो भने डेउडा कार्यक्रम मन्दिरको प्राङ्गणमा ।