कञ्चनपुर, १३ भदौ । कञ्चनपुरको बेलडाँडीमा सञ्चालित सातौँ संस्करणको बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन झिलमिला युवा समाज 'बि' बनेको छ । अल स्टार युवा क्लबको आयोजनामा यही भदौ ०७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको समापन खेलमा बिहीबार झिलमिला युवा समाज 'बि' र बेलडाँडी फुटबल एकेडेमी 'ए' बिच भएको प्रतिस्पर्धामा बेलडाँडी फुटबल एकेडेमी ‘ए’ लाई १-० गोलको अन्तरले हराउँदै झिलमिला युवा समाज 'बि' लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।
च्याम्पियन टिम झिलमिला युवा समाज 'बि' ले रु. ८१ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उक्त खेलमा उपविजेता बनेको बेलडाँडी फुटबल एकेडेमी ‘ए’ ले रु. ४५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताका विभिन्न उत्कृष्ट विधाका खेलाडीहरूले पनि आकर्षक ट्रफी हात पारेका छन् । विजेता टिमलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका प्रवक्ता गज बहादुर विष्टले प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद विकासमा टेवा पुगेको बताउनु भयो ।
ग्रामीण भेगको खेलकुद विकासका लागि हरेक वर्ष सुदूरपश्चिमेलीहरुको महान् एवम् मौलिक, धार्मिक तथा सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा बेलडाँडी गाउँपालिका वडा नम्बर १ लल्लरेडाँडा क्षेत्रमा फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको आयोजक अल स्टार क्लबका पूर्व अध्यक्ष चेतबहादुर शाहले गर्नु भएको थियो । यही भदौ ७ गतेदेखि सञ्चालन भएको यस वर्षको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको र प्रतियोगिता सभ्य एवम् भव्य ढङ्गबाट सम्पन्न भएको अलस्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले बताउनुभयो ।
समापन कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, स्थानीय नागरिक सहितको सहभागिता रहेको थियो । सात दिनसम्म सञ्चालन भएको फुटबल प्रतियोगिता हजारौँ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्नका लागि प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबै व्यक्ति, संस्था, पालिका, वडा सहितका सरोकारवालाहरूमा आभार व्यक्त गरेको छ ।