हरिश्चन्द्र बाग / धर्मराज कठायत, कञ्चनपुर, ३१ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मा बसोबास गर्ने आप्रवासी परिवारका महिलाहरूलाई लक्षित गरी आप्रवासी परिवारको लागि आर्थिक उत्थानशीलता कार्यक्रम सञ्चालनमा रहेको छ । कोइकाको आर्थिक सहयोग र अक्सफामको साझेदारीमा निड्स नेपालले कार्यान्वयन गरिरहेको उक्त परियोजना द्वारा महिलाहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्ने, आर्थिक गतिविधिमा महिलाको पहुँच बढाउने र महिलाहरूको आत्मविश्वास बढाउने लक्ष्यका साथ विविध गतिविधि सञ्चालन गरिन्छन् ।
विपद्बाट पुनर्स्थापना हुनका लागि सरोकारवाला निकायबाट के कस्ता महिलामैत्री सेवा सुविधाहरू उपलब्ध छन् त्यसको बारेमा जानकारी दिन, सेवा सुविधा लिने प्रक्रियाको बारेमा जानकारी दिन र संयुक्त रूपमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा अभ्यास गराउने उद्देश्यले सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिएको आप्रवासी परिवारको लागि आर्थिक उत्थानशीलता कार्यक्रमका परियोजना संयोजक अनिला चौधरीले बताउनु भयो । परियोजनाले सञ्चालन गरेका कार्यक्रमहरूबाट आफूहरूलाई घर व्यवहार र व्यवसाय सञ्चालनमा सहज हुनुका साथै आर्थिक तथा सामाजिक अवस्थामा (स्तर) सुधार भएको आप्रवासी परिवारका लाभग्राही महिलाहरूको भनाइ रहेको छ ।
गत असार तेस्रो साता परेको भारी वर्षाले कञ्चनपुरका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भयो । त्यस क्रममा महिला तथा बालबालिकाहरू बढी प्रभावित भएको पाइन्छ । भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित मसेट्टी, टुँडिखेल, खल्ला, सिद्धनाथ, ब्रह्मदेव तथा बादी बस्तीमा बसोबास गर्ने अधिकांश पुरुषहरू वैदेशिक रोजगारीमा रहेका बेला विपद्ले आप्रवासी परिवारका महिलाहरूलाई बढी अप्ठ्यारो पारेको बेला सहजताका लागि आप्रवासी परिवारको लागि आर्थिक उत्थानशीलता कार्यक्रममार्फत सरोकारवालाहरूसँग आज अन्तरक्रिया गरिएको छ ।
त्यस क्रममा, विपद्को समयमा प्रभावित महिलाहरूलाई लक्षित गरी भीमदत्त नगरपालिकाले समेत विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै पुनर्स्थापनाका कार्यहरू गरिरहेको भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले बताउनु भयो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले विपद्का कारण कञ्चनपुरका अधिकांश भूभागका कृषकहरूले ठुलो क्षति व्यहोर्नु परेको बताउँदै विपद्पछिको पुनर्स्थापनाका लागि सरोकारवाला निकाय र संघसंस्थाहरूसँग समन्वय भइरहेको जानकारी दिनुभयो । त्यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत चन्द्रकान्त पन्तले पशुपक्षीको बिमा गरेका किसानहरूले विपद्बाट व्यहोर्नु परेको क्षतिको सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी बिमा दाबी गरेमा त्यसको भुक्तानी सहजै पाउने जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूलाई सरोकारवाला पक्षले आवश्यक प्रक्रियाका बारेमा जानकारी गराउनु भएको छ ।