कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले असार तेस्रो साताको अविरल वर्षापछिको बाढी र डुबानले पु¥याएको क्षतिको विवरण लिएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासँग छलफल गर्दै क्षतिको विवरण लिएका हुन् । रावलले प्रमुख जिल्ला अधिकारी सापकोटासहित सरकारी कार्यालयका प्रमुखसँग बाढी र डुबानको समस्याको दीर्घकालीन समाधान तथा विपद्मा राहत, उद्धारको विषयमा छलफल गरेका थिए । उक्त छलफलमा सडक, जनताको तटबन्ध, सिँचाई, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लगायतका सरकारी कार्यालयका प्रमुखको सहभागिता थियो ।
बाढी र डुबानले भौतिक संरचना र बालीनालीमा बढी क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटाले सरकारी कार्यालयका प्रमुखलाई एक साताभित्र क्षतिको पूर्ण विवरण पेस गर्न निर्देशन दिएका छन् ।उक्त छलफलमा प्रस्तुत गरिएको क्षतिको विवरण अनुसार बाढी र डुबानले २२ बिघा क्षेत्रमा तयार पारिएको पोखरीका माछा नष्ट भएका छन् । जिल्लाभर २१३ बाख्रा मरे । बाढी र डुबानले धेरै घर, गोठमा क्षति पु¥याएको छ । दोधाराचाँदनी, भीमदत्त, बेलडाँडी, वेदकोट, पुनर्वास, बेलौरी र लालझाडी बाढी र डुबानले बढी प्रभावित बनेका थिए । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका रावल नेतृत्वको जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दाको पीडा सुनिरहेको छ ।
बिहीबार दोधाराचाँदनीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका थिए । शुक्रबार बिहान रावल नेतृत्वको टोली बाढीले पु¥याएको क्षति निरीक्षणका लागि भीमदत्त नगरपालिका–९ को मटेना क्षेत्रमा पुगेको थियो । अविरल वर्षाले निर्माणाधीन महाकाली सिँचाई तेस्रो चरणको नहरमा पानी भरिएर बस्तीमा पसेको थियो । राम टोल चम्मन चोकका स्थानीय भुवन सिंह धामीको २ कट्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको थियो । चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव लिङ्क रोडमा क्षति गरेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ का पूर्व अध्यक्ष राम नाथले बताए ।
तुम्डानीका स्थानीय राजमती देवी विष्टको घर कटानले जोखिममा छ। त्यहीँको कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ । यस्तै, भीमदत्त नगरपालिका–९ स्थित थापा चौराहा जोड्ने सडकको कल्भर्ट बाढीले बगाएको छ । जसले भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक सञ्जाल टुटेको छ । निङ्गलाशैनी टोलका स्थानीय सुरज नाथ, मोहन नाथ, तारा नाथ, भीम नाथ, अर्जुन नाथ र राजेन्द्र नाथको घर खेत जोखिममा परेको छ । महाकाली सिँचाइ तेस्रो चरणको नहरमा पानी ओभरफ्लो भएर बस्ती पसेको थियो । स्थानीय देवबहादुर चन्दको घर तीनतिरबाट कटान गरेकाले उच्च जोखिममा छ । चन्दको घरमा भाडामा बस्ने शम्भु ओडले स्थानीय मालिकार्जुन आधारभूत विद्यालयमा आश्रय लिएका छन् ।
निरीक्षणका लागि पुगेको पूर्व मुख्यमन्त्री रावलसहितको टोलीसँग यहाँका स्थानीयले तटबन्ध निर्माण गरेर जोखिममा रहेका घर जोगाइदिन माग गरेका छन् । यस्तै, भत्किएको सडक मर्मत गरेर आवागमन सुचारुका गर्न उनीहरूले माग गरे । बाढीग्रस्त क्षेत्रको निरीक्षणपछि उक्त टोलीले जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको हो । रावलले सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई तत्काल सडक मर्मत र तटबन्ध निर्माण गर्न निर्देशन दिएका थिए ।