काठमाडौँ, ८ साउन । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताउनुभएको छ । मंगलबार बिहान काठमाडौँस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताउनुभयो । “तपाईँहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,” उहाँले भन्नुभयो, “त्यो भाव र भावनाका साथ काम गर्नुस् ।”
देशभन्दा बाहिर जाने मानिसहरूलाई पनि बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उहाँको भनाइ थियो । “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु प¥यो,” उहाँले भन्नुभयो, “गलत ढङ्गले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।” पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । “मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ,” उहाँले भन्नुभयो, “अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।” गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह समेत गर्नुभयो ।
राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधि ल्याउनुस्,” उहाँले भन्नुभयो, “कानुन निर्माणको विषय मेरो धेरै बढी चासो, रुचि र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।” १६ वर्षअघि श्रम मन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गर्नुभयो । उहाँले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिनुभयो ।
त्यसै गरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो । सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली कोरिडोर, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औँल्याउनुभयो ।
यसै गरी कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले अन्तर निकाय बिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । अध्यागमनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उहाँले बताउनुभयो । गृह, पर्यटन लगायतका निकायबिच समन्वय र राम्रो व्यवहार हुनुपर्ने गृह सचिव अर्यालको भनाइ थियो । यस्तै अध्यागमन विभागका महानिर्देशक केशहरि निरौलाले अध्यागमनले गरिरहेको काम कारबाही, आगामी योजना र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।