प्रत्येक वर्ष साउन लागेसँगै हरिया–पहेँला चुरा, मेहेन्दीले युवतीहरू सजिन्छन् । महिलाहरूले यसरी चुरा लगाउनुको कारण धार्मिक आस्था हो । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्यमा सकारात्मक ऊर्जा थपिने विश्वास रहेको छ । साउन महिना हरियालीको महिना पनि हो । हरियो चुरा र साडी लगाएर नारीले शिव भगवानको विशेष पूजा अर्चना गर्छन् जसका कारण आफ्नो सन्तान र पतिको आयुसमेत बढ्ने विश्वास गरिन्छ । श्रावणमा हरियो पहिरिँदा शङ्कर भगवान् खुसी हुने धार्मिक विश्वास छ । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन्, तब भगवान् शिवले उनीहरूको मनोकामना पूर्ण गर्ने विश्वास गरिन्छ । हिन्दु धर्म आफै पनि प्रकृति प्रेमी धर्म र महादेव पनि प्रकृतिमै बस्ने भएकाले पनि साउने सोमबारमा हरिया राता सौभाग्यका प्रशाधन लगाइने चलन छ ।
केही समय यता साउनभरि हरियो, पहेँलो, रातो रङ्गका पहिरन, चुरा पोते, नेलपोलिस, मेहेन्दी आदि लगाई सोह्र शृङ्गारमा सजिएर उपासना गर्ने चलन बढेको छ । यति बेला महिलाहरू मठमन्दिर, बाटो, अफिस, घर सबैतिर हरियो रङ्गमा सजिएका देख्न सकिन्छ । साउनका लागि भनेर पहिरन किन्ने वा बनाउने तथा आफन्त एवं साथीभाइबिच सौभाग्यका सामग्रीहरू आदानप्रदान गर्ने चलन पनि बढ्दै गएको छ । साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले पार्वतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रङ्गको बढी महत्त्व छ । साउन महिनामा बढी वर्षाका कारण कीटाणुको सङ्क्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएको हुनाले माछा, मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ । तर अहिले यो बढी फेसनेवल भएको देखिन्छ । साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदै छ । तर, हरियो चुरा र मेहेन्दी लगाउनेको सङ्ख्या चाहिँ बढ्दै छ । खास गरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहेन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहेन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
पौराणिक मान्यताअनुसार साउन महिना देवताका पनि देवता महादेव अर्थात् शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले हिन्दु महिलाले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ । विभिन्न सामाजिक सञ्जालमा महिलाले हरियो, पहेँलो चुरा तथा मेहेन्दी लगाएको फोटो सार्वजनिक गरिरहेका हुन्छन् । महिलाको आस्थालाई सम्मान गर्दै विभिन्न कार्यालयले पनि आफ्ना महिला कर्मचारीलाई हरियो चुरा तथा नङपालिस दिने गरेको पाइन्छ । चुरासँगै विवाहित नारीले पोते र हातमा मेहेन्दी लगाएको पाइन्छ । यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ । यसको धार्मिक आस्था बुझेर भन्दा पनि फेसनका निम्ति लगाउने युवतीहरू पनि त्यत्तिकै छन् । साउन भगवान् शिवको पूजा आराधना गरी बिताइने महिना भएकोले साउन महिनामा अधिकांश महिलाहरू व्रत बस्ने, महिना भरी माछा मासु, लसुन प्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते, मेहेन्दी लगाउँछन् । पछिल्लो समय पुरुष पनि व्रत बस्ने गरेका छन् । अरू समयमा हरियो चुरा र कपडाको महत्त्व नभए पनि साउन महिनामा भने महिलाहरू प्रायः त्यही चिजमा झुमिन्छन् जसरी केही वर्ष यता तिज आउन एक महिना छँदै दर खाने संस्कृति सुरु भएको छ, त्यसरी नै यो हरिया चुरा लगाउने संस्कृति पनि मौलाउँदै गएको छ ।
यसको यथार्थता र महत्त्व नबुझी छिमेकीको प्रभावले साउनमा हरियो चुरा लगाई मनको रहर पूरा गर्ने परम्पराको रूपमा विकास हुन थालेको छ । हुन त जसलाई जेजस्तो मन लाग्छ, कानुनमा आँच नआउने गरी लगाउन, खान र गर्न पाउनु लोकतान्त्रिक मूल्यमान्यताको नैसर्गिक अधिकार हो । तर अधिकार र इच्छाका पछाडि कर्तव्य र कारणबोध गर्नु पनि जरुरी हुन्छ । मानव समाजको विकाससँगै धर्म, संस्कृति, रहनसहन, पहिरन र शृङ्गारको विकास हुँदै जाँदा धातुका गरगहना प्राचीन कालदेखि नै सुरु भएको पाइन्छ । हरेक साउन महिनाको सुरुवातसँगै सुरु हुने हरियो चुरा पोते र कपडाको संस्कृति मूलतः आयातित देखासिकी हो । बिक्री नभएका हरियो चुरा पोते कपडा बिकाउने कम्पनीको अप्रत्यक्ष प्रचार हो र अनावश्यक खर्च बढाउने विलासिता पनि हो । तर समयसँगै संस्कृतिको जगेर्ना गर्नु पनि राम्रो पक्ष हो । साउन र हरियोलाई जोडेर प्रचारप्रसार गर्नु, चुरा पोतेसँगै हरियो वस्त्र लगाउनु संस्कृतिको विकसित रूप पनि हो । परिमार्जित भए पनि संस्कृति त कायम रह्यो, सँगसँगै व्यापार पनि राम्रो भयो । त्यसैले भोलिका दिनमा अन्य विकृति नआउने हो भने साउनमा देखिएको रङप्रतिको मोह सराहनीय छ ।