धर्मराज कठायत, कञ्चनपुर, ३० असार । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई खाद्यान्न वितरण गरेको छ । एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित खाद्यान्न पूर्ण क्षति भएका घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो । परियोजनाले शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण गर्नुको साथै सुरक्षित आश्रय स्थलमा बसेका व्यक्तिहरूलाई खाना तथा खाजा वितरण गरेको छ ।
परियोजनाले बाढी प्रभावित भीमदत्त नगरपालिका वडा नम्बर ५ का ६ घरधुरी, वडा नम्बर १६ का ३० घरधुरी, वडा नम्बर ११ का ३६ घरधुरी, वडा नम्बर १५ का १० घरधुरी र वडा नम्बर १२ का १४२ घरधुरीलाई दाल, चामल, नुन, तेल, चिनि र मसलालगायतका खाद्य सामग्री वितरण गरेको हो । साथै दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० का ४२ घरधुरी, शान्तिटोलस्थित अम्बिका माविमा बसेका १४५ घरधुरी, ओमकार माविमा बसेका ५२ घरधुरी र वडा नम्बर ६ स्थित भानु बहुमुखी क्याम्पसमा बसेका ३१ घरधुरीलाई खाद्य सामग्री वितरण गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १३ मा रहेको बैजनाथ सामुदायीक विपद् व्यवस्थापन समितिले आकस्मिक कोषबाट नदी कटानी न्यूनिकरणका लागि तटबन्ध तथा खाजाको लागि सहयोग गरेको छ । अविरल वर्षासँगै महाकाली लगायतका नदीहरूको जलसतह बढेपछि कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । एनएनएसडब्ल्यूएले बाढी प्रभावितहरूलाई अत्यावश्यक सामग्री तथा खाद्य सामग्री सहयोग गर्दै आएको छ ।
डीडीएमसीद्वारा कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको अनुगमन ।।
जिल्ला विपद् व्यवस्थापन समिति (डीडीएमसी) ले कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरू, कार्यक्रम संयोजक राजकुमार सुनार, जिल्ला प्रहरी कार्यालय, दोधारा चाँदनी इलाका प्रहरी कार्यालयबाट प्रहरी अधिकारीलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो ।
बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ परिवारलाई राहत वितरण ।।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ । सेव द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शुक्रबार बेलडाँडी गाउँपालिकासँगको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई ५० लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो । बाढी प्रभावित परिवारहरूलाई भाडाकुँडा, त्रिपाल, डोरी, झुल, सरसफाई सामग्रीहरूको झोला, ५ वर्ष मुनिका बालबालिकाहरूका लागि कपडा, खानेपानी शुद्धिकरणका लागि फिल्टर, अपाङ्गता भएका व्यक्तिहरूका लागि २ थान व्हीलचियर र २ थान कम्बोर्ड चियर वितरण गरिएको छ । त्यसैगरी बाढीको समयमा पानी दुषित हुने भएकाले पालिकाका १४ वटा विद्यालयका सबै कक्षा कोठामा पुग्ने गरी फिल्टर वितरण गरिएको छ ।
सेव द चिल्ड्रेन फिल्ड कार्यालयका प्रमुख रत्नराज ओझाले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न ७२ घण्टा भित्रमा प्रभावित परिवारहरूलाई अत्यावश्यक सामाग्रीहरू वितरण गरिएको बताउनुभयो । उहाँले पालिकासँग छलफल गरेर खाद्यान्नलगायतका अन्य सामग्रीहरू पनि सहयोग गरिने बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संस्थाले विपद् व्यवस्थापन तथा मानवीय सहायताका लागि काम गर्दै आएको बताउनु भयो । उहाँले अहिले बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई अत्यावश्यक सामग्रीहरू वितरण गरिएको र अन्य क्षेत्रहरूका बाढी प्रभावितहरूलाई पनि राहत वितरणको कार्य भइरहेको बताउनुभयो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले बाढी प्रभावितहरूलाई छोटो समयमा नै राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो । उहाँले गाउँपालिकामा एनएनएसडब्ल्यूएले विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरूमा काम गर्दै आएको र आगामी दिनहरूमा पनि साथ सहयोगको लागि अपेक्षा गर्नुभयो । असार तेस्रो साताको अविरल वर्षाले गत सोमबार चौधर नदिमा पानीको सतह बढेसँगै बेलडाँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाटलगायतका क्षेत्र डुबानमा परेका थिए ।