हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले कञ्चनपुरको महेन्द्रनगरमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा सरोकारवालाहरूको दायित्व र भूमिका विषयक कार्यशाला गोष्ठी गरेको छ । मंगलबार आयोजित कार्यशाला गोष्ठीका अधिकांश वक्ताहरूले पछिल्लो समयमा आर्थिक विपन्नतासँगै सामाजिक र सांस्कृतिक विकृति समेत बढेको बताउनु भएको छ । आम नागरिकहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुभूति गर्न नपाएको विषयमा आवाज उठेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका प्रदेश संयोजक खडक राज जोशीले जानकारी दिनुभयो । राज्यका सेवा सुविधामा नागरिकको सहज पहुँच स्थापित गर्न पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा सबै एकजुट हुनु पर्नेमा वक्ताहरूले जोड दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य राजेन्द्र सिंह रावलले अहिले पनि सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा नुन समेत खान नपाएर जनताहरू पीडामा रहेको दृष्टान्त सुनाउनु भयो । यस्ता विषयवस्तुले संसद्मा चर्चा पाएको उहाँको भनाइ छ । बाजुराको स्वामिकार्तिक गाउँपालिका २ मुक्तीकोटमा कुपोषणबाट ८ जना बालबालिकाको मृत्यु भएको तथ्याङ्क सुनाउँदै ती बासिन्दाहरूलाई राज्यको सेवा सुविधामा पु¥याउनका लागि स्थानीयहरूको आवश्यकता र समस्याहरूको सम्बोधन गर्न राज्यले योजना बनाई बजेट निर्धारण गरी शीघ्र परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले आफूहरू नीति नियम कानुन बनाउन गएको अवस्थामा नीति नियम कानुनहरू निर्माण गर्न सक्ने सहज वातावरण नमिलेको गुनासो गर्नुभयो । प्रदेशमा पनि राजनीतिक अस्थिरताका कारणले गर्दा आम जनताहरूलाई समस्या पर्न गएको उहाँको बुझाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख हरि ज्ञवालीले सुदूरपश्चिमवासीले मौलिक अधिकारसँग जोडिएका विषयको उपभोग गर्न सहजै नपाएको अवस्था रहेको बताउनु भयो । अर्थ, समाज, शिक्षा, रोजगार, स्वास्थ्य, खाद्यान्न जस्ता कुराहरूमा सुदूरपश्चिमवासीको प्रभावकारी पहुँच स्थापित गर्न आवश्यक रहेको उहाँको भनाइ छ । अति विपन्न, गरिब र पछाडि पारिएका समुदायको उत्थानका लागि सबै एक जुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले राज्यले दिएका अधिकारहरूको उपभोग सबै नागरिकहरूले गर्न पाउनु पर्ने र नागरिकहरूले पनि आआफ्नो कर्तव्य बिर्सन नहुने कुरामा जोड दिनुभयो । संविधानमा उल्लेख भएका अधिकारहरू राज्यकै संयन्त्रले कार्यान्वयन गर्न नसकेको बताउँदै उहाँले आआफ्नो क्षेत्राधिकार भित्रका कार्य गर्न बाधा हुनु ठिक नभएको बताउनु भयो ।
कार्यक्रममा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पछिल्लो समयमा सरकारले केही गरेन भनेर आरोप लगाउने र जबरजस्त गलत भाष्य स्थापित गर्न खोज्ने परिपाटीको आलोचना गर्नुभयो । राज्यले आफ्ना संयन्त्र र सेवा सुविधाहरूमा विगतभन्दा वर्तमानमा धेरै सुधार गरिसकेको उल्लेख गर्दै जहिल्यै पनि सरकारलाई मात्र दोष देखाएर आफू स्थापित हुने प्रवृत्ति ठिक नभएको सुनाउनु भयो । कार्यक्रमका सहभागीहरूले राज्यका सेवा सुविधा सबै नागरिकहरूको पहुँचमा समान ढङ्गबाट पुगाउन आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । कार्यक्रमको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कञ्चनपुर संयोजक लिल्ली कुँवरले गर्नुभएको थियो ।