कञ्चनपुर, १७ असार । बस्तीको दक्षिण र उत्तर हुँदै बढिरहेको नदीको किनारको सीमा बस्ती ‘कुतियाकवर’का ६७ वर्षीया वृद्धा अम्बिका सुनारको अनुहारमा सोमबार बिहान अलग्गै खुसी देखिन्थ्यो । महाकाली र जोगबुढा नदीको दोसाँधमा पर्ने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा वृद्धा अम्बिकाले बाढीका बेला धेरै वर्ष जोखिम मोलेर वारी ओमकार प्राविमा आश्रय लिएको विगत सम्झनुभयो । यस वर्ष दुवै नदीमा बर्षातको सङ्लो पानी बगिरहेको भए पनि अम्बिकालाई विगतको जस्तो परान जोगाउन मुस्किल पर्ने अवस्था भने अब रहेन । “दुई÷तीन वर्षका बाढीमा त हामीले परान वारी स्कुल गएर जोगायौँ तर धनमाल केही पनि रहेको थिएन ।” सुनारले भन्नुभयो–“ अहिले त नेपाली सेनाले बस्तीमै बाढीबाट बच्न सेफ हाउस बनाइदिएपछि गाउँको त्रासदी हटेर गयो ।”
करिब तीन महिना लगाएर नेपाली सेनाले कुतियाकवरमा दुई तले सेफ हाउस बनाएर सोमबार बिहान दोधाराचाँदनी नगरपालिकालाई हस्तान्तरण गरेपछि कुतियाकवरका सुनार जस्तै त्यहाँका ४२ परिवार बाढीको बेला पर्न सक्ने सङ्कट टरेको भन्दै खुसी छन् । नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ निर्माण गरेको सेफ हाउस हस्तान्तरण गरेको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले सेफ हाउसको उद्घाटन गर्नुका साथै साँचो दोधाराचाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणपछि बोल्दै पृतनापति उपरथी श्रेष्ठले सेफ हाउसको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगर पालिकालाई आग्रह समेत गर्नुभयो । “बाढीका बेला ज्यान जोगाउन सेफ हाउसको ज्यादै महत्त्व हुन्छ ।” उहाँले भन्नुभयो–“ कालान्तरमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ ।” उहाँले बस्ती र ठाउँ प्राथमिकतामा परेर सेनाले सेफ हाउस निर्माण गरेको बताउनुभयो ।
भवन उद्घाटन भइरहँदा २०३९ सालदेखि बाढीले जोखिम रहेको कुतियाकवरमा सेफ हाउसले निकै टेवा पुग्ने स्थानीय खड्के बुढाले बताउनुभयो । “२०३९ सालदेखि बाढी छल्दै सीमामा पहरेदारी गरेर आयौँ ।” उहाँले भन्नुभयो– “बस्ती डुबान पर्दा कयौँ पटक ज्यान जोगायौँ ।” उहाँले निरन्तर रूपमा बस्ती कटानको चपेटामा परिरहेको भए पनि दीर्घकालीन रूपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनु पर्नेमा जोड दिनुभयो । “बाढीले बिसौँ बिघा जमिन बगायो ।” बुढाले भन्नुभयो–“वर्षातका बेला सधैँ ज्यान जोगाउन अन्यत्र जानुपर्ने अवस्था हट्दै गएको छ ।” वर्षातका बेला जोगबुढामा झोलुङ्गे पुल नहुँदा विद्यार्थीहरूले अध्ययनका लागि विद्यालय ओहोरदोहोर गर्न समेत मुस्किल पर्ने गरेको बताउनुभयो । “बाढीका बेला तीन वर्षअघि सात दिनसम्म पनि स्थानीयले घर छाडेर आफन्तकोमा गए ।” उहाँले भन्नुभयो–“ सेनाको सेफ हाउसले मान्छे त बाच्ने ग्यारेन्टी भयो तर पशु र धनमाल जोगाउने चिन्ता कायम छ ।”
४२ परिवारको बसोबास रहेको कुतियाकवर भारतसित सिमाना जोडिएको २०२२ सालमा बसेको बस्ती हो । कुतियाकवरका स्थानीय टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क रूपमा उपलब्ध गराएका थिए । ५०÷६० जना अटाउने क्षमता भएको सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधाराचाँदनी नगरपालिका र केही निर्माण व्यवसायीबाट सहयोग समेत उपलब्ध भएको थियो । यहाँ दातृ निकाय र नगरपालिकाको आर्थिक सहयोगमा यसअघि सेफ हाउस निर्माण थालिए पनि त्यो अझै पुरा हुन सकेको छैन । कार्यक्रममा बोल्दै दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा आएको बाढीमा कुतियाकवरबासीले रुखमा चढेर बाढीका बेला ज्यान जोगाएको बताउनुभयो । “भौगोलिक विकटताका बिच सेनाले डुङ्गामा सामान ल्याएर पनि तीन महिनामै सेफ हाउस बनाएर स्थानीयलाई दियो ।” खुसी व्यक्त गर्दै नगर प्रमुख लिम्बूले भन्नुभयो–“यसअघि दातृ निकायले सुरु गरेको सेफ हाउस निर्माण अझै अधुरो नै छ ।” कुतियाकवरबासीले बाढी, विपद्बाट लामो समय सास्ती खेप्नु परेको बताउँदै अहिले पुल, सडक पूर्वाधारसित जोडिदा केही सहज भने भएको बताउनुभयो ।
श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजंग ठकुरीले रु २५ लाखको लागतमा दुई तले सेफ हाउस निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो । “सेनाको रु १५ लाख, नगरपालिकाबाट रु ५ लाख र बाँकी निर्माण व्यवसायी लगायत स्थानीय सहयोगबाट भवन बनेको हो ।” उहाँले भन्नुभयो–“ बाढी लगायत विपद्का बेला उपयोगी हुने विश्वास लिएका छौँ ।” कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । सेफ हाउस निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय टङ्कलाल जोशी, निर्माणमा सहयोग पु¥याउने दोधाराचाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेत, १० नम्बरका वडाध्यक्ष चन्द्रबहादुर सिंह, निर्माण व्यवसायीद्वय ब्रिज चन्द र महेश जोशीलाई सेनाले कदर पत्रसहित सम्मान गरेको छ ।