हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ असार । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको विज्डम एकेडेमीमा शुक्रबारबाट औपचारिक रूपमा नेपाली सेनाले दिने राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ । रुद्रध्वज गणका सेनानी (मेजर) नवीन सिंह बोहराको उपस्थितिमा शुक्रबारबाट विज्डम एकेडेमीमा एनसीसी तालिम प्रशिक्षणको औपचारिक रूपमा सुरुवात गरिएको विज्डम एकेडेमीका प्रिन्सिपल गोविन्द सिंह थाहाले जानकारी दिनुभयो । तालिममा विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सहभागिता रहेको छ ।
विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्य ज्ञानका साथै एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइने छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात् फाइरिङ पनि सिक्दछन् । ७९ दिनको तालिमपछि २१ दिनको क्याम्प तालिम हुन्छ । क्याम्पका लागि बाँकेको कोहलपुरमा लगिने बताइएको छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज, उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकाससम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमिङ, हाइकिङ र क्लाईम्बिङसम्म सिकाइन्छ । ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुने तालिमलाई ४० दिन र २१ दिनको क्याम्प तालिमलाई १६ दिनको राखिएको छ ।
सुदूरका अठार स्कुलमा सेनाको सेवा दल तालिम सुरु ।।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका अठार सामुदायिक तथा संस्थागत विद्यालय छनौट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम सुरु गरेको छ । सुदूरपश्चिम पृतना अत्तरिया तेघरीले दिएको जानकारी अनुसार सिसम् ५० राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम सुरु गरिएको हो । सेनाको सुदूरपश्चिम पृतनाले दिएको जानकारी अनुसार यहाँबाट सिफारिस भई छनौट भएका विद्यालयहरूमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सुरुवात गरेका हुन् । कञ्चनपुरका ६, कैलालीमा ३, डडेलधुरा र दार्चुलामा दुई दुई डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ ।
युवा वर्गलाई अनुशासित, वफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयहरूमा सञ्चालन गर्दै आएको छ । जुनियर डिभिजन तालिममा छनौट भएका हरेक विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरीले कञ्चनपुरका पाँच विद्यालयका तालिम सञ्चालन भइसकेको र छनौटमा रहेको थप एक विद्यालयको तालिम केही दिनमा सुरु हुने जानकारी दिनुभयो । सेनाले दिएको जानकारी अनुसार २०२२ सालदेखि मुलुकमा नेपाली सेनाले विद्यार्थीहरूलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजार भन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।