हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ असार । कञ्चनपुरको बेलौरी बजार क्षेत्रमा ड्रेन र ढल निकासका लागि संरचना बनाउँदा कालोपत्रे सडक तोडफोड गरिएपछि पुनर्निर्माण नहुँदा बजारवासी र उपभोक्ताहरूले निक्कै सास्ती खेप्नुपरेको छ । निर्माण कम्पनीहरूले समयमै काम नगर्दा र बिचमै अलपत्र छोड्दा बेलौरी बजार कुरूप मात्रै भएको छैन यहाँको जनजीवन नै नराम्ररी प्रभावित भएको छ । बजार क्षेत्रमा व्यापार व्यवसाय शून्यमा झरेको छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिक स्तरबाट थुप्रै पटक यस विषयमा जनप्रतिनिधि र सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको भए पनि सम्बन्धित निकाय निरीह जस्तै बनिरहे । गत विगतको त के कुरा, सोमबार बिहान आधा घण्टा मात्रै वर्षा हुँदा बेलौरी बजारको भीमदत्त चोक नजिक डुबान भएको थियो भने अरू सडकखण्ड हिलाम्मे हुँदा आवतजावतमा निक्कै सास्ती भएको थियो । डुबानमा परेको क्षेत्रको तस्बिर सामाजिक सञ्जालमा राखेर नागरिक स्तरबाट जनप्रतिनिधिहरूको चर्को आलोचना समेत भएको थियो ।
बेलौरी बजार क्षेत्रमा पक्की सडक निर्माणका लागि केही समय अघि ठेक्का लगाउने कार्य भएको थियो । तर यो समाचार तयार पार्दासम्म सम्झौता भने भइसकेको छैन । यद्यपि मंगलबारदेखि निर्माण कम्पनीले काम भने सुरु गरेको छ । सङ्घीय आयोजना कार्यालय कार्यान्वयन इकाई धनगढीबाट ७ करोड ५३ लाख लागतमा निर्माण हुने सडकको सम्झौता हुनु अगावै ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गरेको हो । नेपाल निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष समेत रहनु भएका रोयल कन्स्ट्रक्सनका प्रमुख निर्माण व्यवसायी प्रकाश बहादुर सेटीले सम्झौता प्रक्रियामा रहेको भए पनि उक्त क्षेत्रमा नागरिकलाई निक्कै सास्ती भएको देखेपछि मंगलबारदेखि नै काम सुरु गरिएको बताउनु भयो ।
संयोग नै मान्नुपर्छ, सोमबार बिहान पानी पर्दा निर्माण कम्पनीको टोली बेलौरी पुगेको थियो । त्यही बेला बजार क्षेत्रको दुर्दशा देखेपछि निर्माण सामाग्रीको जोहो गरेर मंगलबारदेखि काम सुरु गरेको निर्माण व्यवसायी प्रकाश बहादुर सेटीले जानकारी दिनुभयो । जनभावना बुझ्ने यस्ता निर्माण व्यवसायी कमै मात्र भेटिन्छन् । निर्माण कम्पनी रोयल कन्स्ट्रक्सनले यसअघि अन्यत्र गरेका कामहरू हेर्दा पनि राम्रै काम गरेको पाइन्छ । समयावधि अगावै काम सकेर धेरै ठाउँमा सम्मानित भएको रोयल कन्स्ट्रक्सनले राम्रै छवि बनाएको इतिहास छ । सोही कम्पनीले सम्झौता हुनु पूर्व नै बेलौरी बजार क्षेत्रमा सडक निर्माणको काम सुरु गर्नुलाई पनि सकारात्मक मान्न सकिन्छ ।
बेलौरी बजारको भीमदत्त चोकदेखि संविधान चोकसम्म ५ सय ४४ मिटर लम्बाई १० मिटर चौडाइ सडकखण्डमा आरसिसी हुने र तौला राना चोकदेखि उत्तरतर्फ दुवैतिर नाली र फुटपाथ सहित ६ सय मिटर लम्बाइको अस्फाल्ट पिच निर्माण गर्ने गरी सम्झौता प्रक्रियामा छ । २२ महिना अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता गरिने भए पनि आफूले ८-९ महिना भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण व्यवसायी सेटीको भनाइ छ । पहिलो चरणमा आरसिसी रोडलाई छिटो सक्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण व्यवसायीलाई साइट देखाइएको भए पनि उक्त कार्यको सम्झौताका लागि निर्माण कम्पनीका प्रतिनिधिलाई बुधबार बोलाइएको सङ्घीय आयोजना कार्यालय कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सौरभ कलौनीले जानकारी दिनुभयो । लामो समयसम्म बेवारिसे अवस्थामा रहेको बजार क्षेत्रको सडक पुनर्निर्माणको काम सुरु हुँदा बजारवासी र उपभोक्ताहरू भने आशावादी देखिन्छन् । निर्माण व्यवसायीले काम सुरु गर्दा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका जनप्रतिनिधिहरू पनि निर्माण स्थलमा पुग्नु भएको थियो ।