हिक्मत कुमार शाही, कुवेत,०८ असार । "सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली" भन्ने मूल नाराका साथ प्रवासमा सञ्चालित सुदूरपश्चिमेली नेपाली समाज कुवेतले दुई जना अतिथिलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको छ । नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको अवसरमा कुवेत आउनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली (स्नेही) र नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र बहादुर भाटलाई शुक्रबार कुवेतस्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभा हल फर्वानियामा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक, सल्लाहकार र पदाधिकारीहरूको सहभागितामा मायाको चिनो प्रदान गर्दै खादा सहित सम्मान गरेको हो ।
लामो समयदेखि समाज परिवर्तनको लागि आवाज बुलन्द गर्दै सुदूरपश्चिमेली नेपालीहरूको मुटुको ढुकढुकी बनेर सुदूरपश्चिमको भाषा, संस्कृति संरक्षण र सुदूरपश्चिमको चौतर्फी विकासको लागि राजनीतिक रूपमा सक्रिय भएर सरकार एवं पार्टीमा खबरदारी गरेको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली (स्नेही) लाई समाजले मायाको चिनो प्रदान गर्दै खादा सहित सम्मान गरिएको सुदूरपश्चिमेली नेपाली समाज कुवेतका उपाध्यक्ष महेश कुमारले बताउनु भएको छ ।
यस्तै लामो समयदेखि प्रवासी भूमिमा रहेर पनि विभिन्न सङ्घसंस्थामा आबद्ध भई सुदूरपश्चिमको भाषा, कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाजलाई सबै सामु चिनाउँदै प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग हातेमालो गर्दै सामाजिक कार्य र मानव सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र बहादुर भाटलाई पनि समाजले मायाको चिनो प्रदान गर्दै खादा सहित सम्मान गरिएको समाजका उपाध्यक्ष कुमारले बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङको पनि सम्मान कार्यक्रममा सहभागिता रहेको रहेको थियो ।
नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको अवसरमा कुवेत पुग्दै गर्दा सुदूरपश्चिमेली नेपाली समाज कुवेतले अमूल्य मायाको चिनो सहित गरेको सम्मान प्रति रसाइली र भाटले सु.प. समाज कुवेतलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । रोजगारीको सिलसिलामा प्रवासमा दुःख र पीडालाई भुलेर भए पनि सबै जना एकजुट भएर समग्र सुदूरपश्चिमको भाषा, कला, संस्कृतिलाई विदेशमा चिनाउँदै, समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार तथा दैविक प्रकोप लगायत विभिन्न समस्यामा सहयोगको भावनाले हातेमालो गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको खबर सुन्दा आफूहरू अति नै खुसी भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख रसाइली र नेपाली काँग्रेस महासमिति सदस्य भाटले बताउनुभयो । आगामी दिनमा पनि यसै गरी विभिन्न सामाजिक काममा सक्रिय भएर लाग्न अनुरोध गर्दै आफूहरूबाट हुने सहयोग गर्न पनि तयार रहेको उहाँहरूको भनाइ छ ।
नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनलाई सफल पार्नका लागि सुदूरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक, सल्लाहकार र पदाधिकारीहरू कार्यक्रममै गएर आर्थिक सहयोग गरिएको बताइएको छ । मायाको चिनो प्रदान तथा अतिथि सम्मान कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक, सल्लाहकार र पदाधिकारीहरूको सहभागिता रहेको थियो । सुदूरपश्चिमेली नेपाली समाज कुवेतले विगत लामो समय देखि सुदूरपश्चिमको भाषा, कला संस्कृतिलाई विदेशमा चिनाउँदै कुवेत तथा अन्य देशमा समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धारमा पहल, समन्वय तथा दैविक प्रकोप, विपद् लगायत विभिन्न समस्यामा सहयोगको भावनाले हातेमालो गर्दै आएको छ ।