हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ जेठ । विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । यस वर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको छ । सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । दिवसकै अवसरमा कञ्चनपुर जिल्लामा पनि विभिन्न कार्यक्रम गरिएका छन् ।
बढ्दै गएको जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र तिनका समाधानमा केन्द्रित भएर कञ्चनपुर जिल्लामा पनि विश्व वातावरण दिवसका अवसरमा विविध कार्यक्रम गरिएका छन् । डिभिजन बन कार्यालय कञ्चनपुरको आयोजनामा समाज कल्याण अञ्चल बाल अनाथालयमा वृक्षारोपण गरिएको छ । त्यस क्रममा बोल्ने अधिकांश वक्ताहरूले जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिको सङ्कट सामना गर्नु पर्ने स्थिति सिर्जना हुनु आफैँमा दुःखद विषय रहेको उल्लेख गर्नु भएको छ । सोही क्रममा डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले कम्तीमा पनि खाली जग्गामा वृक्षारोपण गरी जलवायु परिवर्तनका असरलाई न्यूनीकरणमा सहयोग पुर्याउन सबैलाई अनुरोध गर्नुभयो ।
संसारका जुन कुनामा वातावरणलाई असर परे पनि त्यसले कालान्तरमा पृथ्वीको सबै भूभागमा असर पार्ने भएकोले वातावरण संरक्षणका लागि सबैले प्रयास गर्नुपर्ने देखिन्छ । वातावरण संरक्षण र प्रवर्द्धनका लागि सबै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, सङ्घसंस्था र आम जनसमुदायले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा समाज कल्याण अञ्चल बाल अनाथालयका सदस्य भगवती थापाले जोड दिनुभयो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले एनएनएसडब्ल्युए, डिसिए र उत्थानशील युवा सञ्जालसँगको सहकार्यमा भीमदत्त बाटिकामा वृक्षारोपण गरेको छ । स्थानीय जनप्रतिनिधि, वातावरणका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । वडाध्यक्षद्वय रवीन्द्र प्रसाद देवकोटा र प्रकाश थापा लगायत कार्यक्रमका अधिकांश वक्ताहरूले वातावरण संरक्षणमा जोड दिनुभएको छ । त्यस क्रममा एनएनएसडब्ल्युएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विगतका वर्षहरूदेखि नै वातावरण संरक्षणका क्षेत्रमा एनएनएसडब्ल्युएले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै इच्छाशक्ति देखाएर कार्य गरेमा वातावरण संरक्षण सम्बन्धी धेरै कार्य गर्न सकिनेमा जोड दिनुभयो ।
लालझाडीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम ।।
माधव पौडेल, कञ्चनपुर, २३ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको आयोजना निड्स नेपाल अन्तर्गत मर्सिकोर (एमरेड), कारितास नेपाल (एनएलआरपी-आइ) जुनेली महिला कृषि सहकारी संस्था, ली-वर्डको (सक्षम) को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा "हाम्रो भूमि हाम्रो भविष्य" भन्ने मूल नारा सहित वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार लालझाडी गाउँपालिका कार्यालयबाट ब्यानर, प्लेकार्ड सहित विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम गर्दै वृक्षारोपण एवं विद्यालयमा सरसफाइ कार्यक्रम गरिएको थियो । वृक्षारोपण कार्यक्रममा आँप, लिची, कागती, रक्तचन्दन, मसला, अशोक लगायत विभिन्न प्रजातिका फुलका बिरुवाहरू लगाइएको निड्स नेपाल अन्तर्गत मर्सिकोर (एम-रेड) का प्राविधिक अधिकृत कौशल भण्डारीले जानकारी दिनुभयो । कञ्जस्थित सामुदायिक विपद् व्यवस्थापन समितिले दोदा नदी छेउमा वृक्षारोपण गर्नका लागि घेरवार गरेको स्थानमा विभिन्न निकायहरूको सहकार्यमा मसलाका बोटबिरुवाहरू लगाउँदै शङ्करपुर स्वास्थ्य चौकीमा फलफूलका बिरुवा रोपिएको प्राविधिक अधिकृत भण्डारीले बताउनुभयो । वातावरण दिवसकै अवसरमा भानु माध्यमिक विद्यालयलाई २ थान डस्टबिन लगायतको सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, कृषि विकास शाखाका प्रमुख दशरथ साउँद, वातावरण शाखा प्रमुख नरेश भट्ट, रोजगार संयोजक केशव पन्त, पशुपक्षी शाखा प्रमुख बिसन बिष्ट, सहकारी शाखाका प्रमुख प्रभु जोशी, विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, सामुदायिक विद्यालयका बाल क्लबका विद्यार्थी, स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, सहकार्य निकायका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो । लालझाडी गाउँपालिका र निड्स नेपाल (एम-रेड ) कार्यक्रमले दोदा बगर क्षेत्रलाई संरक्षणको हिसाबले नमुना क्षेत्र बनाउने क्रममा लालझाडी गाउँपालिकामा निड्स नेपाल (एमरेड) कार्यक्रमले विगतका वर्षदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाललाई लालझाडीको कञ्ज र चन्दापुरका क्षेत्रमा प्रकृतिमा आधारित बाढीको जोखिम न्यूनीकरणका लागि २ वटा नमुना साइट बनाउने योजना बनाएको निड्स नेपाल (एम-रेड) कार्यक्रमका संयोजक नवीन भट्टले बताउनुभयो । नदी तटीय क्षेत्रमा कटानी-पटानी घटाउनुका साथै तटीय जमिनबाट आम्दानी बढाउने अपेक्षा लिइएको समेत संयोजक भट्टले बताउनुभयो ।