कहिल्यै रित्तो हुन्न
उसको इस्टकोटको खल्ती
गोजीमा केही खाली कागज र एक थान कलम बोकेर
बाहिर निस्किन्छ
भरिएर टन्न भएका हुन्छन्;
खल्तीहरू
आर्थिक क्रियाकलापका खबरहरूले
किनभने ऊ पत्रकार हो ।
अरू शोषणमा परेका खबर लेख्छ
अरूले तलब नपाएर घरको चुल्हो नबलेको भनेर बोलिदिन्छ ।
तर आफूले महिनौँको तलब नपाएको बारे लेख्न सक्दैन ।
उसले आफूलाई थाती राखेर भए पनि
अरूका बारेमा बोलिदिनुपर्छ ।
किनभने ऊ पत्रकार हो ।
पत्नीले मधुर आवाजमा बोलाउँदा पनि
एक पटक सोच्न बाध्य हुन्छ
दिनहुँ आइरहने धम्की र हप्कीले
गहिरो छाप बनाएको छ हृदयमा
किनभने ऊ पत्रकार हो ।
परिवारमा खुसी छाउँदा
मन खोलेर
खुसी पनि हुन सक्दैन
न दुःखमा सहयात्री नै हुनसक्छ
दिनदिनैका दु:खद् घटनाले मन विदीर्ण भएको हुन्छ
किनभने ऊ पत्रकार हो ।
घरमा
कयौँ समय भइसकेको छ
आमासँग भलाकुसारी नभएको
चिसो चुल्होमा
तातोको आशामा
बिरालोले चुल्हो पहर्याइरहेको जस्तै भएको छ
तात्तातो भात खाने रहर ।
किनभने ऊ पत्रकार हो ।
हो, ऊ पत्रकार हो !
यति हुँदाहुँदै पनि
उसले आफ्नो धर्म छाडेको छैन
आफ्नो इमान बेचेको छैन
अहर्निश आफ्नो कर्ममा लागिरहेको छ ।