माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर,०४ जेठ । कञ्चनपुरको बेलौरीमा बसन्ते मकै खेती फस्टाउँदै छ । अहिले बेलौरीका ग्रामीण क्षेत्रमा किसानहरूले मकै खेती गरेको प्रशस्तै देख्न सकिन्छ । यसैबिच शुक्रबार बेलौरीका केही क्षेत्रको मकै खेतीको स्थलगत अनुगमन गरिएको छ । बेलौरी नगरपालिका कृषि विकास शाखा र बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाद्वारा शुक्रबार किसानहरू र सरोकारवालाहरूलाई किसानहरूले लगाएको बसन्ते मकै, मुङ र ढैचा खेतीको स्थलगत अनुगमन गराइएको हो । अनुगमनमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, कार्यपालिका सदस्य आरती चौधरी, कृषि विकास शाखा प्रमुख सुमनराज जोशी, कृषि विकास शाखामा कार्यरत कर्मचारी सुशीला बोहरा, रोजगार संयोजक नरेश प्रसाद भट्ट लगायत बेलौरी कृषि सहकारी संस्थाका पदाधिकारी, सदस्य, कृषकहरू र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
मकै खेती अन्तर्गत पाइनियर तथा रामपुर हाइब्रिड १०, १२ र १६ जातका मकै खेतीको अनुगमन गरिएको कृषक खडक चौधरीले बताउनुभयो । नयाँ जातका मकैलाई प्रवर्द्धन गर्न अनुगमन प्रभावकारी भएको कृषकहरूले भनाइ छ । मकै खेती प्रवर्द्धनका लागि बेलौरी नगरपालिकाले समेत बजेट विनियोजन गरी कार्यान्वयन गरिरहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । कृषि विकास शाखाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बसन्ते मकै प्रवर्द्धनका लागि बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत किसानहरूलाई ५० प्रतिशत अनुदानमा मकैको बीउ, मलखाद लगायत किटनाशक विषादी उपलब्ध गराएको सहकारी संस्थाका अध्यक्ष सन्तोष चौधरीले जानकारी दिनुभयो ।
बसन्ते मकै प्रवर्द्धनका लागि यसअघि सङ्घीय सरकारले कृषि विकास शाखा बेलौरीलाई सशर्त अनुदान तर्फ उपलब्ध गराएको बजेट रु. ९ लाख ७५ हजार र लाभग्राही किसानहरूको पनि रु. ९ लाख ७५ हजार गरी जम्मा रु. १९ लाख ५० हजार बजेटमा बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत मकैको बिउ ५ क्विन्टल, डेलिभरी पाइप ३ क्विन्टल, स्प्रे ट्याङ्की ४ थान, सिँचाइ मोटर ५ थान, मिनिटिलर ८ थान, कल्टिवेटर १ थान, रोटावेटर १ थान, दाना बनाउने कम्बाइन मिल १ थान, कर्न सेलर १ थान र ड्रम सिडर २ थान हस्तान्तरण गरिएको कृषि विकास शाखा प्रमुख सुमनराज जोशीले जानकारी दिनुभयो । कृषि विकास शाखा बेलौरी र बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाको साझेदारीमा चालू आर्थिक वर्ष २०८०।०८१ को बसन्ते मकै प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानहरूलाई मकै भण्डारण, धानको बिउ छनौट, खनजोत, झारनाशक गोडमेल, सिँचाइ र उपचार विषयक तालिम समेत प्रदान गरिएको छ ।