प्रेमा आचार्य, कञ्चनपुर, २३ माघ । कञ्चनपुरको बेलौरीमा पनि हात्तीपाइले रोग विरुद्धको आमऔषधी सेवन कार्यक्रमको तयारी पूरा भएको छ । यही माघ २५ गतेदेखि शुरु गरिने आमऔषधी सेवन कार्यक्रमको पूर्वतयारी अनुरुप यसअघि वडा स्तरीय समेत गरी बेलौरीका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण गरिएको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चेत राज भट्टले जानकारी दिनुभयो । त्यस्तै, बिहिबार बेलौरी नगर क्षेत्र भित्रका विद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी सहितका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनु भयो ।
बेलौरी नगरपालिका क्षेत्र भित्रका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधी पठाइसकेको बेलौरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत मान बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २५ गते शनिबार बेलौरी भित्रका ३७ स्थानमा बुथ राखिने छ । बेलौरी नगरपालिका भित्रका ५५ हजार नागरिकलाई औषधी खुवाउन ३७ जना स्वास्थ्यकर्मी र ११७ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बताइएको छ । दुई वर्ष मुनिका बालबालिकाहरु, सिकिस्त तथा दीर्घ रोगीहरु, गर्भवती महिला र १ हप्तासम्मका सुत्केरी महिलाहरुले औषधी सेवन गर्न नहुने र अन्य सबै व्यक्तिहरुले अनिवार्य रुपमा खाना वा नास्ता गरेर मात्रै औषधी सेवन गर्नुपर्ने चन्दको भनाइ छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा यस वर्ष पनि सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली सहित अन्य प्रदेशका समेत गरी जम्मा १३ जिल्लामा यही माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन अभियान सञ्चालन गरिँदै छ । सन् २००३ मा पर्सा जिल्ला देखि हात्तीपाइले रोग विरुद्धको औषधी वितरण गर्न शुरु गरिएको थियो भने सन् २०२० सम्ममा हात्तीपाइले रोग एक प्रतिशतमा झार्ने नेपाल सरकारले लक्ष्य लिएको छ । सरकारले विगतका वर्षहरुमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत औषधी वितरण गर्ने गरेको थियो भने गतवर्ष देखि स्वास्थ्यकर्मीकै उपस्थितिमा औषधी सेवन गराउन लागेको हो ।
हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यो रोग जुनसुकै उमेर समुहका व्यक्तिमा पनि हुन सक्छ । हात्तीपाइले रोग लागेर विकसित भएपछि उपचार नहुने भएकोले यसबाट बच्ने एक मात्रै विकल्प भनेको शुरुको अवस्थाबाटै औषधी सेवन गर्नु हो । हात्तीपाइले रोग विरुद्धको औषधी ६ वर्षसम्म लगातार सेवन गरेमा यो रोग नलाग्ने हुँदा विशेष परिस्थिति बाहेकका सबै मानिसहरुले हात्तीपाइले रोगबाट बच्न औषधी सेवन गर्न चिकित्सकहरुको सुझाव छ ।