हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ बैशाख । कञ्चनपुरको बेलौरी स्थित भारतीय सीमा क्षेत्रदेखि भन्सार कार्यालय हुँदै उत्तरतर्फको मूल सडक क्षेत्र विस्तारका लागि नागरिक अगुवाहरूले सङ्घर्ष समिति नै गठन गर्नु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ को वडा कार्यालय परिसरमा बुधबार बसेको एक भेलाले नागरिक अगुवा केशवराज जोशीको संयोजकत्वमा ११ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो । उक्त समितिमा प्रकाश राज पन्त, शुकदेव राना र भगवती बिष्ट सहसंयोजक रहनु भएको छ । सोही सङ्घर्ष समितिले बुधबार नै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीलाई चार बुँदे ज्ञापन पत्र पनि बुझाएको छ ।
बेलौरी – कलुवापुर सहायक राजमार्ग अन्तर्गत भारतीय सिमानादेखि मैनाहासम्म ७ किलोमिटर सडकखण्डमा २०७५ फागुन देखि २०७६ बैशाखसम्म बेलौरी नगरपालिकाको अगुवाइमा सीमाङ्कन गरी पोल समेत गाडिएको थियो । त्यसपछि २०७७ मा बेलौरी बजारदेखि दक्षिण इलाका प्रहरी कार्यालय–प्रेमनगर–भुराकोट–बेलौरी भन्सार हुँदै भारतको सिमानासम्म ३ किलोमिटर ९१० मिटर लामो झण्डै ६२ करोड रुपैयाँ लागत अनुमान गरिएको ड्रेन, फुटपाथ, साइकल लेन सहितको डबललेन रोड डिभाइडर सहित सडक संरचना भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । तर त्यसयता उक्त सडकखण्डमा कुनै कार्य प्रगति नदेखिएपछि नागरिक स्तरबाट सङ्घर्ष गर्नु परेको नवगठित सङ्घर्ष समितिका संयोजक केशवराज जोशीले सुनाउनु भयो ।
यस अघि गत माघ २३ गतेका दिन नागरिक अगुवाहरूले बेलौरीका १९५ जनाको हस्ताक्षर सहितको ज्ञापन पत्र नगर प्रमुख पोतीलाल चौधरीलाई बुझाएको भए पनि यस बिचमा कुनै सुनुवाइ नभएपछि झण्डै साढे चार सय जनाको हस्ताक्षर सहितको ज्ञापन पत्र बुधबार पुनः नगर प्रमुख चौधरीलाई बुझाइएको सङ्घर्ष समितिका सदस्य मेवाराम चौधरीले जानकारी दिनुभयो । उक्त ज्ञापन पत्रमा तत्काल सडक क्षेत्र खाली गराई माटो पटान गराइदिन अनुरोध गरिएको उहाँले बताउनु भयो ।
उक्त सडकखण्डको निर्माण नयाँ र नमुना सहर (न्यु मोडेल सिटी) मा सूचीकृत बेलौरी बजार एवं यस क्षेत्रकै विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएकोले यथाशीघ्र उक्त कार्य गरिदिन माग गरिएको सङ्घर्ष समितिका संयोजक केशवराज जोशी बताउनु हुन्छ । यही महत्वलाई ध्यानमा राखी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओली लगायतका शीर्ष नेताहरूले पनि बेलौरी भन्सारको स्तरोन्नति सम्बन्धमा जनतासामु बाचा गर्दै आएको कुरा स्मरण गराउँदै संयोजक जोशीले गत २०८० पौष १ गतेदेखि बेलौरी भन्सार पुनः सुचारु भइसकेको अवस्थामा उक्त सडकखण्डको निर्माण अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
नक्साङ्कन सीमाङ्कन समेत भइसकेको उक्त सडकखण्डको क्षेत्रमा भुलवस् कुनै व्यक्ति वा संस्थाले संरचना बनाएको भए वा खेती लगाएको वा मालसामान थुपारेको भए तत्काल खाली गर्न लगाई नगरपालिकाको तर्फबाट माटो पटान गरेर स्तरोन्नतिका लागि नयाँ आर्थिक वर्ष २०८१।०८२ को बजेटमा योजना पर्ने गरी नेपाल सरकारमा अविलम्ब माग गर्न अनुरोध गरिएको सङ्घर्ष समितिका सहसंयोजक प्रकाश राज पन्तले बताउनु भएको छ । अहिले बजार क्षेत्रमा निर्माणाधीन संरचनाको काम ढिलाइ हुँदा व्यापारी र आम उपभोक्ताहरूलाई निक्कै मर्का परेकोले उक्त कार्यलाई समेत छिटो गर्न गराउन उहाँले नगरपालिकाको ध्यानाकर्षण गर्नुभएको छ ।
नागरिक स्तरबाट गठित सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले उक्त सडकखण्ड प्रदेश सरकारको गौरवको योजनामा रहेकोले नगरपालिकाको तर्फबाट केही गर्न नसकिएको प्रतिक्रिया दिनुभयो । विगतमा पनि उक्त सडकखण्डको कामलाई छिटो सक्न प्रदेश सरकारसँग अनुरोध गरिएको बताउँदै उहाँले बरु फेरि पनि प्रदेश सरकार समक्ष उक्त माग लिएर जान तयार रहेको उल्लेख गर्नुभएको छ । उक्त सडकखण्ड मात्रै नभई नगरपालिका क्षेत्र भित्रका सबै योजनाहरूमा आफूले सम्बन्धित निकायमा ताकेता गरिरहेको नगर प्रमुख चौधरीको भनाइ छ ।