मदन गिरी, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटी क्लबले आयोजना गरेको क्याम्पस स्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । भ्वाईस अफ युनिभर्सिटी क्लबका सचिव अमृत विकका अनुसार केन्द्रीय क्याम्पसमा सोमबार भएको प्रतियोगितामा सहभागी १४ क्याम्पसका १५ टिमको सहभागी रहेको थियो ।
उक्त प्रतियोगितामा टाढाका कैलाली बहुमुखी क्याम्पस धनगढी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेल्डाँडी र नजिकका महेन्द्रनगर भित्रका क्याम्पसको सहभागिता रहेको थियो । सो टिमहरु मध्ये जनज्योती बहुमुखी क्याम्पस टिम ‘ए’ प्रथम स्थान हात पार्न सफल भएको छ । जनज्योती बहुमुखी क्याम्पस टिम ‘ए’ का लागि खेमराज जोशी, दयाकृष्ण जोशी, विमल धामी र इन्दिरा भट्ट टिममा सहभागी भएका थिए ।
त्यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । व्यवस्थापन संकायबाट धर्मराज जोशी, टेकराज जोशी, गणेश राज पन्त र अशोक अवस्थी टिममा सहभागी थिए । जनज्योती बहुमुखी क्याम्पसकै अर्को टिम हाजिरीजवाफ प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको सचिव विकको भनाई छ । जनज्योति ‘बी’ का लागि योगेश्वर प्रशाद भट्ट, महेश आचार्य, जनक महरा र सिन्ध महराको समुह प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
प्रतियोगितामा प्रथम भएको जनज्योति ‘ए’ ले १० हजार नगद सहित ट्रफ्री र प्रमाण पत्र प्राप्त गरेको छ । भने द्वितीय हुने व्यवस्थापन संकायलाई पाँच हजार नगद सहित प्रमाण पत्र र ट्रफी वितरण गरिएको छ । साथै प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल जनज्योती टिम ‘बी’ लाई तीन हजार नगद सहित प्रमाणपत्र र ट्रफ्री प्रदान गरिएको सचिव विकले बताएका छन् ।
क्लबका अध्यक्ष प्रयागराज उपाध्यायको अध्यक्षतामा भएको प्रतियोगितामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन पद्मकान्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रतियोगितामा महाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरी, समाजसेवी लिलाध्वज बस्नेत, मदन चन्द, धनगढीका पत्रकार एवं प्राध्यापक टि.एन्. जोशी लगायत विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।