माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाले कृषकहरूलाई सोमबार एक कार्यक्रमका बिच कृषि औजार हस्तान्तरण गरेको छ । कृषि विकास शाखाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बसन्ते मकै प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरिएको बेलौरी नगरपालिका कृषि विकाश शाखाका प्रमुख सुमनराज जोशीले जानकारी दिनुभयो । सङ्घीय सरकारले कृषि विकास शाखा बेलौरीलाई सशर्त अनुदान तर्फ उपलब्ध गराएको बजेट रु. ९ लाख ७५ हजार र लाभग्राही किसानहरूको पनि रु. ९ लाख ७५ हजार गरी जम्मा रु. १९ लाख ५० हजार बजेटमा उक्त कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत मकैको बिउ ५ क्विन्टल, डेलिभरी पाइप ३ क्विन्टल, स्प्रे ट्याङ्की ४ थान, सिँचाइ मोटर ५ थान, मिनिटिलर ८ थान, कल्टिवेटर १ थान, रोटावेटर १ थान, दाना बनाउने कम्वाइन मिल १ थान, कर्न सेलर १ थान र ड्रम सिडर २ थान हस्तान्तरण गरिएको छ । यसका अतिरिक्त कृषक भ्रमण, तालिम र अनुगमन लगायतका कार्यक्रम समेत गरिएको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका उपाध्यक्ष कलावती चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले लामो समयसम्मको सङ्घर्ष र आन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानकै मर्म बमोजिम आम सर्वसाधारणको अधिकार सुनिश्चित भएको धारणा राख्नु भयो । उहाँले किसानहरूका लागि बेलौरी नगरपालिकाले वर्षेनी यस्ता कृषि यन्त्र उपकरण अनुदानमा दिँदै आएको बताउँदै त्यसको सदुपयोग गर्न जोड दिनुभयो । अनुदान पाउने बेलासम्म काम गर्ने र त्यसपछि काम छोड्ने प्रवृत्ति बढिरहेकोले त्यसलाई रोक्न आवश्यक रहेको उहाँले औँल्याउनु भयो ।
त्यस्तै, बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले किसानहरूले गरेको मेहनतको प्रशंसा गर्नुभएको छ । किसानहरूले सम्झौता गर्दा २० बिघामा मकै खेती गर्ने सम्झौता गरे पनि फिल्ड अनुगमनका क्रममा दोब्बर भन्दा बढी क्षेत्रफलमा मकै खेती गरेको पाइएको जानकारी दिनुभयो । उहाँले मकै खेतीलाई निरन्तरता दिन समेत किसानहरूलाई अनुरोध गर्नुभयो । त्यसै गरी, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले मकै बालीका लागि आवश्यक कृषि औजार उपकरण तथा विउविजन र तालिमको व्यवस्था नगरपालिकाबाट गरिएकोले त्यसको शतप्रतिशत सदुपयोग हुनेमा विश्वस्त रहेको सुनाउनु भयो । ५० प्रतिशत अनुदानमा कृषि औजार पाउनु भएका किसानहरूले खुसी व्यक्त गर्नुभएको छ ।