हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, १४ बैशाख । शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म गरेका कार्यसम्पादनको समीक्षा तथा बेलौरी नगरपालिका र शान्ति पुनर्स्थापना गृहको सहकार्यमा सञ्चालन गरिएको सेफ हाउसको अनुगमन गरिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले बेलडाँडीका ६५ जना र बेलौरीका १७९ जना गरी जम्मा २४४ जनालाई सूचना तथा परामर्श सेवा प्रदान गरेको छ । त्यसै गरी यस अवधिमा बेलडाँडीका ५ जना र बेलौरीका १५ जना गरी जम्मा २० जना प्रभावित महिला तथा बालबालिकाको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ । यसै अवधिमा बेलौरीका ३ जनालाई घर फिर्ता गरिएको छ भने भारतमा जोखिममा परेकी १ जना किशोरीको उद्धार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भारतमा रहेका उहाँका परिवारजनको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले जानकारी दिनुभएको छ ।
शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर अन्तर्गतको सम्पर्क कार्यालय बेलौरीले, बेलौरी नगरपालिकासँगको सहकार्यमा सेफ हाउस सञ्चालनमा ल्याएपछि कञ्चनपुर जिल्लाको दक्षिणी भू–भागमा रहेका अन्य पालिकाहरूमा आफ्नो सेवा प्रवाह गर्दै आइरहेको शान्ति पुनर्स्थापना गृहका प्रदेश संयोजक सञ्जित सिंहले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०।०८१ को तथ्याङ्क अनुसार १ जना भारतीय बालिकालाई पनि सीमा नाकामा उद्धार गरी सेफ हाउसमा राखी सेवा प्रदान गरिएको थियो भने १ जना अलपत्र परेकी महिलाको उद्धार गरी सेफ हाउस मार्फत सेवा प्रदान गरी प्रहरी प्रशासनको रोहबरमा परिवारको जिम्मा लगाइएको थियो । समग्रमा यस अवधिमा २० जना महिला तथा बालबालिकाहरूलाई सेफ हाउस मार्फत सम्पूर्ण सेवा प्रदान गरेको प्रदेश संयोजक सिंहले बताउनु भयो । सोही कार्यक्रमका बिच एक जना प्रभावित किशोरीलाई शान्ति पुनर्स्थापना गृहद्वारा सञ्चालित जिविकोपार्जनको लागि सीप तथा आयमुलक तालिम अन्तर्गत साइकल र सिलाइ मेसिन लगायतका सामग्री प्रदान गरिएको छ ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, बेलौरी नगरपालिका महिला तथा बालबालिका विकाश शाखा प्रमुख विमला बजगाईँ र गणेश कुमारी थारु, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले दक्षिणी क्षेत्रमा रहेका ४ वटा स्थानीय तहहरू मिलेर व्यवस्थित सुरक्षित आवास गृह स्थापना गर्न पहल गर्नुपर्ने बताउँदै बेलौरी नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजित गर्ने बताउनु भयो । उहाँले नगरपालिका कार्यालय र शान्ति पुनर्स्थापना गृह बिच समय समयमा छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उपयुक्त जमिन खोजी कार्यालय स्थापना गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । त्यस्तै, लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले लालझाडी गाउँपालिकाले शान्ति पुनर्स्थापना गृहसँग समन्वय गरी अगाडि बढिरहेको बताउँदै लालझाडी गाउँपालिकामा पनि सम्पर्क कार्यालय स्थापना गर्न जोड दिनुभयो ।
शान्ति पुनर्स्थापना गृह एक विशुद्ध सामाजिक संस्था हो । शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले विगत ४ वर्ष अगाडीबाट कञ्चनपुर जिल्लाको दक्षिणी भू–भाग बेलौरी नगरपालिकामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ । यस आर्थिक वर्ष २०८०।०८१ मा शान्ति पुनर्स्थापना गृहले बेलौरी नगरपालिकासँग सहकार्य गरी बेलौरी नगरपालिका र अरू दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिकाका महिला तथा बालबालिकाहरूका लागि अल्पकालीन सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन गर्दै आइरहेको छ । यस क्षेत्रमा हुने महिला हिंसा, बालविवाह, लागु औषध दुर्व्यसनी, मानव बेचबिखन तथा ओसारपसार र अन्य हिंसामा परेका प्रभावितहरूलाई सुरक्षित आवास गृहमा परामर्श सेवा, कानुनी सेवा, खान, बस्न, चिकित्सा उपचार, क्षमता विकास, पुनर्स्थापना र पुनर्मिलनका साथै महिला समूह, बाल क्लब, युवा क्लब, किशोर किशोरी समूह, विद्यालय वडाहरूमा गई विभिन्न हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताएको छ । त्यसै गरी हिंसा प्रभावित महिला तथा बालबालिकाहरूको छनौट गरी उनीहरूलाई आयआर्जनमूलक सेवा सुविधा पनि प्रदान गर्दै आएको शान्ति पुनर्स्थापना गृहले जनाएको छ ।