भारतको नयाँ दिल्लीको कमल मन्दिरमा हुने समाज निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धि विषयक कार्यशालामा जानका निम्ति तारनतारको सम्पर्क र समन्वय पश्चात् २०८०।१२।७ दिउँसो ३ बजे तिर पुनर्वास हुँदै आएको महाकाली यातायातको ७८९० नेपाल भारत मैत्री बसमा बसी नयाँ दिल्लीका लागि अगि बढ्यौँ, बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, रोजगार संयोजक नरेश प्रसाद भट्ट र म स्वयम् । बसमा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला तथा बेलौरी तथा बेल्डाँडीका सहभागी समेतको सहभागितामा लालझाडीका लागि अगाडी बढ्यौँ । रामनगरको बाटो हुँदै बल्मी तिरबाट समेत सहभागीहरूलाई बसमा लिई चान्देवमा खानेपानी लिई हामी आरक्षको ईन्ट्री पोष्ट हुँदै अगाडी बढ्यौँ । एसी गाडीमा वातानुकूलन मेसिन नचलेपछिको उकुसमुकुसले सबैलाई अप्ठेरो पारिरहेको थियो । सबैको माग समयानुसार ए.सी.चलेपछि बिस्तारै तात्तिएको मनमा चिसो पसार्दै अगि बढिरहँदा झलारी,महेन्द्रनगरमा समेत सहभागीहरू थपिनु भएको थियो ।समान उद्देश्यका साथ फरक क्षेत्र,ठाउँका मानिसहरू एकीकृत रूपमा आपसी गफ गर्दै जाँदा बेग्लै रमाइलो अनुभव भई रहेको थियो । तामाङ समुदायका सहभागीले आफ्नो मौलिक भाषामा कुराकानी गर्दाका विषयहरू समेत अरूलाई पट्यार लाग्दा थिए । गड्डाचौकी हुँदै सशस्त्र सीमा बलको चेकिङ पश्चात् हामी महाकाली नदीको पानी बग्ने स्थानमै बनेको बाटो हुँदै बनबासाका लागि अगाडी बढ्यो,कारण अङ्ग्रेजकालीन महाकाली(शारदा)नदी माथिको पुल निर्माण भइराखेकोले सोको बाटो केही समयका लागि बन्द गरिएको थियो । बनबासा बजारमा केही फास्ट फुड खाइ हामी दिल्ली लोटस टेम्पल(कमल मन्दिर)लाई केन्द्रमा सजाइ अगाडी बढ्यौँ । खटिमा बाइपासको बाटो हुँदै अगाडी बढी झन्कटमा खाना खाइ रात पनि दिन जत्तिकै उज्याला लाग्ने फराकिला बाटा हुँदै यात्रा गर्दै हापुड शिवा ढावामा रिफ्रेस भयौँ केही बेर करिब २ः० बजेतिर ।
सो पश्चात् २०८०।१२।८ बिहान करिब ३ः३० बजेतिर हामीलाई लोटस मन्दिर नजिकै पुगिसकेको इसारा दिई बसले रोक्यो । सबै जना अर्ध निन्द्राको अवस्थामा नै नजिकै रहेको लोटस टेम्पल परिसर प्रवेश गर्यौँ, नाइट गेट ड्युटीका लागि खटिएका सुरक्षाकर्मी समेत आफ्नो ड्युटीमा तैनाथ थिए । हामी आवास गृहको रुम नम्बर १२ मा बस्नका लागि अनुमति पायौँ । अरू सहभागी समेत पूर्व व्यवस्थापन बमोजिम निर्धारित कोठाहरूमा बस्नु भयो । एसी रुम, व्यवस्थित कोठा, काजु किसमिस, ग्रिन टी, कफी, बिस्कुटले सजिएका टेबुल,ओषधी राम्रो व्यवस्था । सामान्य रिफ्रेस पश्चात् हामी अल्पकालीन निन्द्रामा प्रवेश गर्यौ,उक्त कोठामा बे.न.पा.रोजगार संयोजक (अधिकृत) र मेरा लागि बस्ने तय गरिएको थियो । प्रभात कालिन समयमा उठेर न्वाइध्वाइ गरी हामी मन्दिर परिसरसित प्रत्यक्ष साक्षात्कार गर्न तर्फ लाग्यौँ । व्यवस्थापकीय पक्षबाट मलाई त्यो भ्रमण र २०८० असोजमा गरिएको सिएमएस लखनउको भ्रमणबिच समानता बोध भइरहेको थियो । भिन्न भिन्न ४ पालिकाका सहभागी,नयाँ परिवेशमा आपसी कुराकानी गर्दै रमाइरहेका थियौँ । सुन्दर पुष्प बगैँचा,मिहिन ढङ्गको सरसफाइ,श्वेत रङ्गको बिना मूर्तिको मन्दिर(उपासना गृह) । चारैतिरको अवलोकन गरी राती बसेको कोठाको मुनिको तलामा रहेको भव्य डाइनिङ हलमा न्युर्टिसियस नास्ता लिई,व्यक्तिगत र सामूहिक फोटा खिचाइ हामी पहिलो दिनको कार्यक्रम हुने हलका लागी अगाडी बढ्यौँ । मौसमी अवस्थालाई ख्याल गरेर भवन बनाइएका रहेछन् सँगसँगै ठाउँको अवस्था समेत ख्याल गरी । तलौँतलाका भवनहरू थिएनन् लोटस टेम्पल परिवेशमा तर ठाउँ भने पर्याप्त थियो । स्पेस व्यवस्थापनको वैज्ञानिक तरिका हो जस्तो लागि रहेको थियो । सुन्दर परिवेशमा सुन्दर फोटाहरू लिँदै कार्यक्रम स्थलका स्वदेशी तथा विदेशी स्वयंसेवकहरू सित परिचय गर्दै हामी हलमा पुग्यौँ । कुनै त्यसो औपचारिकता बिना अगाडी बढेको कार्यक्रम लोटस टेम्पलका व्यवस्थापक जयदेवजीले सुरु गर्नु भयो ।
प्रेमिल स्वरबाट मुस्कान सहित कार्यक्रम अगाडी बढिसके पछि सोमनाथ राना सरले सहभागीको परिचय गराउँदा पुष्प मालाले स्वागत भएको थियो । कार्यक्रम अन्तर्गतका ३मुख्य दिन र फर्किने दिनको मोटामोटी सेड्युअल सहित बहाइ सम्बद्ध एसिया एडभाइजर यम प्रसाद आचार्यले केही महत्त्वपूर्ण विषय प्रस्ट्याउनु भएको थियो । विभिन्न भाषामा प्रार्थना सँगै ईश्वरीय चिन्तन समेत सुरुवातमा भएको थियो । उद्घाटन सत्रमा सामान्य परिचर्चा पश्चात् सहभागीहरूलाई नयाँ दिल्लीका विद्यालयको व्यवस्थापन पक्ष,गुणस्तर सुधारका विविध पक्ष ,दिल्लीको केजरीवाल शिक्षा अवधारणा र शिक्षकहरूको समर्पणका विषयमा जानकारी दिन २ वटा समूहमा २ वटा अलग अलग विद्यालयमा लगियो । हाम्रो समूहको भ्रमणका लागि विद्यालय खुदवाइनगरको सर्वोदय विद्यालय (रानी दुर्गावती) विद्यालय थियो । मेन दिल्लीको आसपासमै रहेको विद्यालयमा जाँदा हामी बसबाट बाटाका यताउताका दृश्य समेत हेर्दै विद्यालय नजिक पुग्यौँ । भव्य भवन र सरसफाइयुक्त कक्षा १२ सम्म पढाइ हुने विद्यालय रहेछ ।अप्रिलबाट भारतमा पनि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले वर्षान्तको परीक्षा समाप्त भई बिदा रहेकाले विद्यार्थीहरूसित साक्षात्कार गर्ने अवसर जुरेन । शिक्षक कर्मचारी मज्जाले मिलेर खाजा खाइराखेका देख्दा समन्वय,सहकार्य प्रचुर मात्रामा रहेको बोध भयो । हस्त निर्मित सामग्री (आर्टक्राफ्ट) लाई बढी जोड दिइएको पाइयो ।हरेक नोटिस, विषयवस्तु प्रायः आकर्षक तवरले हातले निर्माण भई सजाइएका थिए । शिक्षकहरूमा पेसा प्रतिको उच्च समर्पण देखिन्थ्यो सँगसँगै प्रायः बहिर्मुखी स्वभाव । रेगुलेटरी निकायबाट प्रायः अनुगमन भइरहने,प्रायः विद्यार्थी उपरको लगानी सम्बन्धीतकै खातामा जाने,दिवा खाजा व्यवस्थापन अन्तर्गत खाजाको परिकार बनिबनाउ आउने,सरसफाइका लागि कर्मचारी नियुक्त जस्ता थुप्रै विषयको बारेमा बोध गर्ने अवसर मिल्यो त्यहाँका शिक्षिकाबाट । कम्प्युटर प्रयोगात्मक र क्राफ्ट स्किललाई उत्तिकै महत्त्व दिइएको विद्यालयको नामाकरण स्वतन्त्रता सेनानी रानी दुर्गावतीको नामबाट भएको रहेछ । नजिकका अरू तल्लो तहका विद्यार्थीलाई अनिवार्य भर्ना लिनु पर्ने (पेरेन्ट स्कुल) र अरू विद्यार्थीको सामान्य छनौट परीक्षाबाट भर्ना लिने प्रचलन रहेको विद्यालयमा ऊर्जावान् विद्यार्थीहरूको उपस्थिति रहेको अनुभव निर्मित सामग्रीले दिइरहेको हुन्थ्यो ।
दिल्ली केजरीवाल मोडेल अन्तर्गत हेप्पीनेस प्रोग्राम,क्यारियर काउन्सीलिंग प्रोग्राम, भौतिक संरचना सुधार कार्यक्रमबाट विद्यालय सम्बद्ध हार्डवेयर र सफ्टवेयर दुवै पाटोको विकासमा ध्यान दिएको पाइयो । सर्वोदय विद्यालय पनि नजिकका विभिन्न विद्यालय मर्ज भएर बनेको नयाँ विद्यालय रहेछ ,आधुनिक पूर्वाधार सहितको । रमाइलो परिवेशबिच विद्यालयका प्रधानाध्यापक डा.शशि भूषण कुमार सित समेत केही विद्यालयको उक्त अवस्था सम्म पुग्दाको अवस्थाबारे छलफल गरी कमल मन्दिरको तिर प्रवेश गर्यौ । गन्तव्यमा पुगी खाना खाइ केही बेर आराम गरी हामी करिब ३ बजे तिर मिटिङ हलमा जानु पूर्व बहाउल्लाहको जीवनी र तत्कालीन समयमा प्रयोग हुने सामग्रीबारे स्वयंसेवी गाइडहरूबाट जानकारी लिई मिटिङ हलमा प्रवेश गर्यौँ । बिहान भएको विद्यालय भ्रमणको सिकाइबारे दुवै समूहबाट प्रतिनिधि रूपमा सहभागीहरूले मन्तव्य राख्नु भयो । राजनीतिबाट टाढा शिक्षक,कर्मचारी र केही न केही नयाँ गरौँ भन्ने सरोकार निकायको हुटहुटीले विद्यालयले प्रगति गरेको बारे सबैले साझा धारणा बनाएका थिए । सो पश्चात् चिया नास्ताको रिफ्रेससँगै एक टोली भारतको राष्ट्रिय आध्यात्मिक सभाको स्थापनाको १०० वर्ष पुगेको अवसरमा मन्दिर परिसर भित्रै आयोजित समारोहमा सहभागी हुन गयो भने अर्को ठुलो टोली बहाइ मन्दिरको इतिहास,समाजमा शिक्षा र परामर्शको महत्त्व,समुन्नत समाज निर्माणमा अगुवाको भूमिकाका विषयमा श्रव्य दृश्य जानकारी लिन मिनी अडिटोरियम तर्फ लाग्यो । करिब ७ः३० बजेतिर सो प्रस्तुतिको समापन कोठाको अल्पकालीन विश्राम पछि भोजन ग्रहण गरी चौरको खुला आकाशमुनि केही आपसी कुराकानी गर्दै रात्रि निन्द्रामा विलीन भयौँ ।
१२।९ को प्रभातमा नित्य कर्म पश्चात् सुन्दर परिवेशमा सजिएको कमल मन्दिरको परिवेशमा प्रवेश गर्यौँ । अण्डर ग्राउण्ड कोठाहरू,सो माथि निर्मित तलाउ,सो माथि कमलाकृतिको मूर्ति बढो आकर्षक थियो । वर्षौँको तयारी र समय पश्चात् निर्मित मन्दिर अद्भुत रहेछ । अत्यन्त शान्ति प्राप्त हुने । पूजापाठ केही नहुने र मूर्ति पूजा समेत नहुने उक्त मन्दिरमा मान्छेहरू उपासना ध्यान एकचित्त भई गर्दा रहेछन् । अलौकिक खुसीको अनुभूति हुँदो रहेछ यहाँ । शोभा वृद्धिका श्वेत फुलहरू सजाइदा रहेछन् । विभिन्न धर्म ग्रन्थका लोकहित समेट्ने मन्त्रहरूको उच्चारण सोही भाषामा हुने रहेछ यहाँ । सो पश्चात् हामी नास्ता ग्रहण गरी अघिल्लो दिनको समीक्षा र समाज निर्माणमा शासक वर्गको भूमिका पुस्तकको सामूहिक परिचर्चा गरी सिएमएस लखनउका प्रिन्सिपल डा.गीता गान्धी किंगडमका केही महत्त्वपूर्ण उद्गार सुनी भारतको राष्ट्रिय आध्यात्मिक सभाको मुख्यालय प्रवेशका लागि २ वटा बसमा रमाना भयौँ ।
भव्य हलमा भव्य स्वागतका बिच केही विषयवस्तुको अति संक्षिप्त जानकारी लिई विशेष तवरको रिसेप्सनमा सहभागी भयौँ । सो ग्रहण गरी बिहारमा बन्न लागेको उपासना गृह सम्बद्ध भिडियो र केही प्रेरक भिडियो हेरी हामी भारतका प्रथम व्यक्तिको कार्यालय,आवास हेर्नका खातिर राष्ट्रपति भवन प्रवेश गर्यौँ । अनलाइन प्रणालीबाट रजिस्ट्रेसन गराइ त्यस्ता विशिष्ट व्यक्तिको परिसरमा जान सकिँदो रहेछ भन्ने भान भयो त्यहाँबाट । आवश्यक सुरक्षा जाँच गराइ हामीले राष्ट्रपति भवनका विभिन्न हलहरू, निवास स्थान, वर्षौँ पुरानो बुद्धको मूर्ति लगायतका कुरा हेर्यौँ । वृहत् जमिनमा विशालकाय रूपमा फैलिएको छ राष्ट्रपति भवन । प्राचीनता झल्काउने विभिन्न सामग्रीहरू आधुनिक तवरले सजाइएका छन् । हामीलाई ती सबै विषयको जानकारीका निम्ति निःशुल्क गाइडको व्यवस्था राष्ट्रपति कार्यालयबाटै गरिएको थियो ,यो सुविधा सबै भिजिटरलाई प्राप्त हुँदो रहेछ ।हामीले त्यहाँ एकल र सामूहिक फोटाहरू दीर्घस्मृतीका लागी लियौँ र संसद् भवनका लागि रमाना भयौँ । संसद् भवन जत्तिकै उचाइमा बाउण्डरी थियो । ३ ठाउँको अत्यन्त कडा सुरक्षाका बाबजुद हामी लोक सभाको बैठक बस्ने हलमा पुग्यौ । भारत जस्तो विशाल देशका सबै क्षेत्रका जनप्रतिनिधि आएर विधि विधान तयार गर्ने ठाउँ भएर नि होला अत्यन्त कडा निगरानी । लोक सभा बैठक हलका हरियो कुर्सी जो टेलिभिजनका पर्दामा देखिन्थे,प्रत्यक्ष देख्ने अवसर मिल्यो । अडिटोरियम जस्तै बिचको गहिरो भागमा बैठक कक्ष त्यसको चारै तर्फ माथि विभिन्न क्षेत्रका मान्छेले बस्ने कक्ष आकर्षक तवरको थियो ।
त्यस पछि हामी त्यसै भित्र अर्को ठाउँमा रहको राज्य सभाको बैठक कक्ष हेर्न गयौँ । बढो आकर्षक,अलिक राता रङ्गका कुर्सीहरू बस्नका निम्ति । भारतमा उपराष्ट्रपति स्वतः राज्य सभा अध्यक्ष हुने व्यवस्था रहेछ । कमल र मयुराकृतिको ढाँचामा यी बैठक कक्ष बनेका रहेछन् । भारतले लोकतन्त्रलाई यति बढी अभ्यास गरेको छ कि देशका मुख्य मुख्य केन्द्रमा समेत आम मानिसको सहज उपस्थिति हुन सक्छ र त्यहाँका गतिविधिबारे आम मानिसले सहजै बुझ्न र जान्न पाउँछन् । लोकतन्त्रमा हरेक गतिविधि जनसमक्ष छर्लङ्ग हुनु पर्ने मान्यताको प्रष्ट कार्यान्वयन गरिएको छ यहाँ । वास्तु शास्त्र र वैदिक परम्परालाई समेत उच्च स्थान दिइएको छ यहाँ । श्रीमद्भागवत गीताका जीवन प्रेरक श्लोकहरू ठाउँ ठाउँमा लेखिएका छन् । पृथ्वीले सूर्यका परिक्रमा कसरी गर्छ भन्ने विषयमा समेत सहजै बुझ्ने गरी प्रष्टयाइएको छ यहाँ । हरेक प्रदेशको संस्कृति झल्कने कलात्मक विषयहरू समेटिएका छन् संसद् भवन भित्र । भारतमा संविधान जारी भएको दिनको शौर्य मण्डलको पुरै अवस्था चित्रित हुने गरी छतमा आकृति कोरिएका छन् ताम्र पत्रमा । संविधानलाई डिजिटल रूपमा राखिएको छ जसलाई आम मानिसले चाहेको भाषामा पढ्न पाउँछन् । भारतको देशव्यापी कानुन निर्माण हुने सर्वोच्च संस्थाको स्थलगत अवलोकन पश्चात् २ वटा बसमा रहेको टोली इन्डिया गेट तर्फ प्रस्थान गर्यो । भारतको एकीकरण समयका विभिन्न प्रसङ्गसित जोडिएको सो गेट र तत् तत् स्थलहरूको भ्रमण गरी व्यक्तिगत र सामूहिक फोटो लिई कालकाजी मेट्रो स्टेसन नजिकको लोटस टेम्पल परिसर पुग्यौँ । डायनिंग रुममा खाना खाइ लोटस टेम्पलको दृश्यावलोकन गरी कुराकानी गर्दै रात्रिकालीन निन्द्रामा विलाप भयौँ ।
१२।१० बिहानै नित्यकर्म पश्चात् लोटस मन्दिरमा शान्ति ध्यान गरी सो मुनि रहेका लाइब्रेरी,प्रशासकीय भवन,हल लगायतको भ्रमण गरी खाजा खाइ नियमित सेसनका लागि कार्यक्रम स्थल(हल)मा प्रवेश गर्यौँ । अगिल्लो दिनको परिचर्चा पश्चात् परामर्शको महत्त्व चर्चा सँगै समुन्नत समाज निर्माणमा शासक वर्गको भूमिका विषयमा अन्तरक्रियात्मक परिचर्चा सँगै चिया ब्रेकपश्चात् टोली एउटै बसमा दिल्लीको आकर्षणका रूपमा रहेको अक्षर धाम मन्दिरका लागि प्रवेश गर्यौँ । सन् २००० को दशकमा निर्मित अक्षर धाम मन्दिर श्वेत रङ्गमा बिना सिमेन्ट,छडबाट बनेको सुन्दर मन्दिर रहेछ । मन्दिर क्षेत्रकै गाइडबाट विस्तृत सोबारे जानकारी लिई हामी अर्को गन्तव्यका लागि केही फोटा लिई अगाडी बढ्यौँ । लालकिल्ला परिसरलाई बाहिरैबाट हेरी चाँदनी चौक समेत हेरी लोधी गार्डेन तर्फ गयौँ । लोधी गार्डेन भित्र प्राचीन मुगल शासकको दरबार समेत रहेछ । मान्छेहरू खेल्न,रमाउन हरियाली बगैँचा,पिकनिक स्पट समेत । केही निश्चित चराचुरुङ्गी समेत हेर्न मिल्दो रहेछ त्यहाँ, फाउन्टेनको मज्जा लिन समेत । सो पश्चात् हामी आउने दिनमा प्रसिद्ध पर्यटकीय स्थल ताज महल,धार्मिक स्थल वृन्दावन जाने तथा नजानेमा बहस गर्दै निवास स्थल लोटस टेम्पल पुग्यौँ ।
अडिटोरियम हलमा साङ्गीतिक कार्यक्रम भइरहेको थियो त्यसको समेत अवलोकन गरी हाम्रो टोलीका ऋषि राज रानाको प्रस्तुति समेत हेरी भोजनका लागि प्रवेश गर्यौँ । भोजन पश्चात् रात्रिकालीन सुन्दर खुला आकाश मुनीको बिदाइ समारोह अत्यन्त प्रेरक थियो । प्याराफिट जस्तै स्थानमा लहरै बसेका सहभागी,साधु तामाङ सरको प्रेमिल उद्बोधन आकर्षक थियो र सो क्षेत्र छाडेर कार्यक्षेत्रमा फर्किनु पर्नाले न्यास्रो समेत भई राखेको थियो । सहभागीबाट बेलौरी नगर उपप्रमुख जोगराम चौधरी लगायतले कार्यक्रमबारे मन्तव्य राखे पश्चात् यम प्रसाद आचार्य र जयदेव सरको अभिव्यक्ति समेत भावयुक्त थियो । समुन्नत समाज निर्माणमा हाम्रो पनि केही न केही योगदान हुनु पर्छ र संस्कार समेत शिक्षामा जोडेर अगाडी बढ्नु पर्छ र सिकेका ,देखेका कुरालाई केही न केही रूपमा भए पनि व्यवहारमा उतार्ने प्रयास गर्नु पर्दछ भन्ने आशयको मन्तव्य पश्चात् सहभागीलाई लोटस टेम्पल अङ्कित मायाको चिनो र टिसर्ट वितरण र सामूहिक फोटो क्लिकसँगै कार्यक्रमको समापन भएको थियो । होलीको समय समेत चलिरहेकाले त्यहाँ तालिम लिन आएका नवयुवक समेत मिली होली गीत गाई,नाची रमाइलो गरी निन्द्राका लागि प्रस्थान गर्यौँ ।
२०८०।१२।११ कार्यक्रम समापन पश्चात्को अनौपचारिक दिनमा हामी बिहानको नित्यकर्म पश्चात् लोटस टेम्पलमा शान्ति ध्यान पछि खाजा लिई महात्मा गान्धीको समाधि स्थल राजघाटको लागि वैयक्तिक काम गएका सहभागी बाहेक सामूहिक रूपमा निस्कियौँ । हे राम लेखिएको श्वेत पुष्प अर्पित गरिएको ठाउँको अवलोकन गरी सामूहिक र एकल फोटो लिई बाहिरी परिसरमा चस्मा ,घडी लगायतका सामग्री खरिद गरी लाल किल्ला तर्फ प्रस्थान गर्यौँ । लोटस टेम्पलबाटै गएका स्वयंसेवकहरूले हामीलाई विभिन्न समूहमा अवलोकनको सहजताका लागि बाँड्नु भयो र आयोजकबाटै तोकिएको शुल्क व्यवस्थापनमा विभिन्न क्षेत्र हेर्दै फोटो क्लिक गर्दै लोटस टेम्पलका लागि प्रस्थान गर्यौ । दिउँसोको भोजन ग्रहण पश्चात् हामी केही बेर रेष्ट गरी ८ सदस्यीय टोली मेट्रो चढ्न र केही शपिंग गर्न भनी सरोजीनी नगरका लागि टिकट लिई मेट्रो चढ्यौँ । ए.सी चलेको,मान्छेहरू खचाखच भरिएका,सरसफाइयुक्त रमाइलो वातावरण थियो मेट्रोमा । अत्यन्त ज्यादा मान्छेहरूको आवतजावत हुँदो रहेछ मेट्रोमा,सेवाको सहजता र भाडा दर पनि तुलनात्मक रूपले कम भएर होला । दुई वटा जक्सनमा अर्को मेट्रो बदली गरी हामी सरोजिनी नगर स्टेसनमा ओर्लियौँ ।
पैदल हिनेर विशालकाय बजार पुग्यौँ,कपडा ,झोला ,पर्स सम्बद्ध प्रायः सबै सामग्री पाउँदो रहेछ त्यहाँ। आवश्यकताअनुसार सामग्री किनी मिठो चिया समेत खाइ हामी पुनः मेट्रोमा चढी कालकाजी स्टेसनमा जक्सन परिवर्तन गरी पुग्यौँ । किनमेल गर्दाको थकान समेत मेट्ने उद्देश्यले पुनः चियाको रिफ्रेस पश्चात् हामी लोटस टेम्पल परिसर प्रवेश गर्यौँ । खाना खाइ केही बेर विश्राम गरी हामी राति ९ बजेको हाराहारीमा आउँदा बखतकै नेपाल भारत मैत्री ७८९० नम्बरको बसमा चढी गन्तव्यका लागि प्रस्थान गर्यौँ । बसमा भ्रमण अवधिका फोटाहरू शेयर भइरहेका थिए,एकबाट अर्काकोमा । बिहान झ्यासमिसेमै बनबासा नजिक बसले हामी सबैलाई पुर्याइसकेको थियो,चिया खाइ घरका लागी चाहिने केही सामान किनी हामी शारदा इन्टर कलेज नजिकको टोल टेक्सको नियमानुसार तोकिएको समय रोकिई अगाडी बढ्यौँ । भारत र नेपाल सिममा आवश्यक चेक जाँच गराइ २०८०।१।१२ बिहान ७ः३० बजेतिर महेन्द्रनगर हुँदै गाडी लालझाडी गा.पा.को चान्देव समेतलाई केन्द्रमा राखेर पुनर्वासका लागि अगाडी बढ्यो ।
सबै जना सकुशल आआफ्नो गन्तव्यमा पुग्यौँ । ४ दिनको भ्रमण,अन्तरक्रिया,संवादको कार्यक्रम अत्यन्त प्रभावकारी रह्यो । यस प्रकारको कार्यक्रमको निरन्तरताको अपेक्षा गर्दै आयोजक वर्गमा हार्दिक धन्यवाद ।