माधव पौडेल, कञ्चनपुर, १० बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगर शिक्षा समितिलाई पूर्णता दिन सकेको छैन । बेलौरी नगरपालिका अन्तर्गत रहेको नगर शिक्षा समितिले २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनपछि नगरपालिकामा नगर शिक्षा समितिले पूर्णता पाउन नसकेको हो । नगर प्रमुख पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि नगर शिक्षा समितिले पुनर्गठन हुन सकेको छैन ।
यस विषयमा बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीले शिक्षा शाखाको बैठकमा पटक पटक नगर शिक्षा समिति गठनका प्रस्ताव गरेको बताउनु भयो । बेलौरी नगरपालिका शिक्षा शाखामा करिब एक वर्षयता विद्यालय निरीक्षक नरहेको बताउनु हुँदै प्रधानाध्यापक भण्डारीले यति लामो समयसम्म विद्यालय निरीक्षक पदपूर्ति गर्न नसक्नु विडम्बना रहेको बताउनुभयो । प्रधानाध्यापक भण्डारीले नगर शिक्षा समिति गठन प्रक्रियामा ढिलाइ भएको समेत बताउनुभयो । प्रधानाध्यापक भण्डारीका अनुसार जिल्लाका करिब सबै स्थानीय तहले दरबन्दी मिलान गरे पनि बेलौरी नगरपालिकाले अहिलेसम्म दरबन्दी मिलानका लागि कुनै ठोस पहल नगरेको बताउँदै पालिकाले विषयगत दरबन्दी मिलान गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
यस विषयमा बेलौरी नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख, प्राविधिक सहायक अमित प्रसाद भट्टले नगर शिक्षा समिति गठन प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्नुभयो । आफूहरू प्रक्रियामा रहेको उहाँको दाबी छ । केही समयमै नगर शिक्षा समितिले पूर्णता पाउने उहाँको भनाइ छ ।
को को रहने प्रावधान छ नगर शिक्षा समितिमा ?
नगर शिक्षा समितिमा सम्बन्धित पालिकाका नगर प्रमुख अध्यक्ष, कार्यपालिकाका महिला तथा दलित समेत तीन जना सदस्य, प्रमुख प्रशासकीय अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू मध्येबाट समितिले तोकेको एक जना प्रतिनिधि, संस्थागत विद्यालयहरूको प्रतिनिधिमूलक संस्था मध्येबाट अध्यक्षले तोकेको एक जना प्रतिनिधि, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू मध्येबाट शिक्षा समितिले तोकेको एक जना प्रतिनिधि, गुठी वा परम्परागत धार्मिक विद्यालयका तर्फबाट अध्यक्षले तोकेको एक जना सदस्य, स्थानीय शिक्षाप्रेमी वा समाजसेवी वा बुद्धिजीवीहरूमध्येबाट समितिले तोकेको एक जना सदस्य, शिक्षा अधिकृत पदेन सदस्य सचिव रहने र शिक्षा समितिका अध्यक्षले थप २ जना सदस्य मनोनीत गर्न सक्ने प्रावधान छ । मनोनीत सदस्यहरूको पदावधि २ वर्ष रहने तोकिएको छ । तर कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिमा अध्यक्ष र पदेन सदस्य मात्र छन् ।