हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका विद्यार्थी कञ्चनपुरका विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति दाहालले सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट सिक्दै, कमाउँदै कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेका विद्यार्थीहरू मध्ये प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी दश जनाले ज्यान गुमाउनु परेको र एक जना विद्यार्थी सम्पर्क विहीन भएको घटना प्रति दुःख व्यक्त गर्नुभयो । विद्रोहीको कब्जामा रहेका विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र तीव्र रूपमा रूपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्ने उहाँले जोड दिनुभयो । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्नुपर्ने बताउनु भयो । उहाँले सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा जोड दिनुभयो । एक दशक लामो समयदेखि सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । सुदूरपश्चिममै कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको र ऐन निर्माण लगायतका कामहरू द्रुत गतिमा अगाडि बढिरहेको बताउनु भयो ।
सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति समेत रहनु भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सिकाइलाई बाध्यात्मक रूपमा नभई रमाइलो ढङ्गबाट लिनुपर्ने भन्दै विद्यार्थीहरूलाई आफ्नो धरातल नबिर्सन अनुरोध गर्नुभयो । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलालीको टिकापुर बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको ३८० बिघा जमिन मध्ये ३०० बिघा जमिन अतिक्रमणमा परेकोले त्यसलाई विश्वविद्यालयकै भोगाधिकारमा फर्काउन आवश्यक कदम चालिदिन प्रधानमन्त्री लगायत सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भयो ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार आयोजित चौथो दीक्षान्त समारोह कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिंह रावतको प्रमुख आतिथ्यता रहेको थियो । कुल एक हजार ३ सय ३७ जना विद्यार्थी मध्ये ३ सय ७६ जना प्रत्यक्ष रूपमा दीक्षित भएको परीक्षा नियन्त्रक अनुराधा रोकायाले जानकारी दिनुभयो । यस पटक अनलाइन मार्फत पनि फाराम सङ्कलन गरिएकोले बाहिर रहेका विद्यार्थीहरूले पनि फाराम भरेको उहाँको भनाइ छ । केन्द्रीय क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पसबाट इन्जिनियरिङ सङ्कायमा स्नातक तह उत्तीर्ण नवीन प्रसाद भट्टलाई भाइस चान्सलर पदक प्रदान गरिएको छ । यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, वीरेन्द्र चौधरी, हरि प्रसाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नवीन प्रसाद जोशी, टार्जन भण्डारीलाई गोल्ड मेडल प्रदान गरिएको छ । यसपालि पहिलो पटक एमफिलतर्फ पनि चार जना विद्यार्थीहरूलाई दीक्षित गरिएको छ ।