धर्मराज कठायत, कञ्चनपुर, ०७ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको पहिलो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष एवं शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा शुक्रबार बैठक बसेको हो । बैठकमा मञ्चका उपाध्यक्ष परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहरा, सचिव लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, कोषाध्यक्ष चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापामगर, मञ्चका सदस्य पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी, विभिन्न सङ्घसंस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
बैठकले चुरे तथा तराईमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरिएको छ । बैठकले मञ्चको कार्य सञ्चालन मार्गदर्शन संशोधन सहित स्वीकृत पनि गरेको छ । दोदा जलाधार क्षेत्रका मुद्धा हरु, अवसर तथा चुनौतीहरूको अध्ययन गर्ने, जलाधार व्यवस्थापनका योजनाहरू, भू उपयोग नीतिहरू र जलवायु अनुकूलन रणनीतिहरू विकास गर्ने, उत्थानशीलता अभिवृद्धि गर्न दिगो र नवप्रवर्तनीय अवधारणाहरू र प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन लगायतका कार्य मञ्चको काम कर्तव्य तथा अधिकारभित्र समेटिएका छन् । मञ्चले सामाजिक,आर्थिक तथ्याङ्क,भू स्थानिक तथ्याङ्क र वातावरणीय तथ्याङ्कहरूका साथै सहकार्यगत अन्य क्रियाकलापहरू र पहलहरूको सफल कार्यान्वयनको लागि आवश्यक सान्दर्भिक तथ्याङ्क, सूचना र स्रोतहरूमा पहुँच प्रदान गर्ने जनाइएको छ ।
बैठकमा बोल्दै सुदूरपश्चिम प्रदेशका पूर्व सांसद महेशदत्त जोशीले विपद्सँगै क्षति न्यूनीकरण गर्न सबैको साथ सहयोग हुनुपर्ने बताए । उनले राम्रो नीति निर्माण गरेर प्रदेश र सङ्घीय सांसदहरूलाई सहभागी गराउनुपर्ने बताए । दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चलाई नमुनाको रूपमा अघि बढाउन उनले शुभकामना समेत दिए । मञ्चका सदस्य पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले मञ्चले प्रभावकारी रूपमा काम गर्नका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए । निड्स नेपालका संस्थापक भवराज रेग्मीले सबैले आवश्यक समन्वय गरेर अघि बढ्नुपर्ने बताए । स्थानीय तहहरूले विपद्लाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए । विकासमा साझेदारी गरेर अघि बढ्न आफूहरू तत्पर रहेको उनको भनाई रहेको थियो ।
बैठकको समापनका क्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले जलवायु परिवर्तन, विपद्का समस्याहरूलाई सबै मिलेर हल गर्नुपर्ने बताए । दोदा जलाधार क्षेत्र अन्तर्गतका दश वटै स्थानीय तहमा भएका समस्याहरू पहिचान गरी त्यसको समाधानका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकार, विभिन्न गैरसरकारी संघसंस्थाहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई रहेको थियो । दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चलाई सबैको मञ्च बनाउने गरी आफूहरू अघि बढिरहेको उनले बताए । दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलतासँग सम्बन्धी काम एकीकृत ढङ्गबाट गरिने छ भने दोदा जलाधार क्षेत्रमा प्राकृतिक स्रोत र सामाजिक तथा आर्थिक तथ्याङ्कको नक्सांकन, जलवायु र विपद् उत्थानशीलतामा रणनीतिक काम समेत गरिने बताइएको छ ।
दोदा जलाधार क्षेत्रमा सञ्चालन गरिने विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी क्रियाकलापमा गैरसरकारी संस्था मर्सीकोप्रस, निड्स नेपाल लगायतका संस्थाले स्थानीय तहहरूसँग सहकार्य गरेर अघि बढिरहेका छन् । कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका, कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिका, डोटीको जोरायल गाउँपालिका तथा डडेलधुराको आलीताल गाउँपालिका र परशुराम नगरपालिका दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चमा आबद्ध छन् । मञ्चका उपाध्यक्ष परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहराले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले गरेका थिए । मञ्चको अर्को बैठक जेठको अन्तिम साता कैलालीको चुरेमा बस्ने छ ।