तर्कराज भट्ट, डडेलधुरा, ०४ बैशाख । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा चालु आर्थिक वर्षको नौ महिनामा विभिन्न प्रकृतिका ८५ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिना देखी चैत्र मसान्त सम्म दर्ता भएका मुद्दा मध्ये ४८ वटा फर्छ्यौट भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार कार्कीले जानकारी दिए । जस अन्तर्गत कार्यालयमा कर्तव्य ज्यान सम्बन्धीका तिन वटा, ज्यान मार्ने उद्योगको एउटा, भवितव्य ज्यानका १० वटा, फुटकर ज्यान सम्बन्धीका तिन वटा, विष सेवन गरी आत्महत्या गरेका दुई, झुन्डिएर आत्महत्या गरेका १४ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै बैङ्किङ कसुरको एउटा, सार्वजनिक शान्ति कसुरको एउटा, सवारी ज्यानको तिन, सवारीबाट भवितव्य दुई, बहुविवाहका तिन, जबरजस्ती करणी उद्योगको एक, जबरजस्ती करणी सम्बन्धी आठ, लागु औषधका १०, साधारण चोरीका तिन, आपराधिक उपद्रोको एक, बालविवाह सम्बन्धी एक, ज्यान सम्बन्धी तिन, जुवा सम्बन्धी पाँच, बाल यौन दुरुपयोगको एक, सार्वजनिक हित स्वास्थ्य सुविधा सुरक्षा तथा नैतिकता विरुद्धका छ वटा, सहकारी ठगी एक र ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरका दुई वटा मुद्दा दर्ता भएको डिएसपी कार्कीले जानकारी दिए ।
उनले यी मध्ये ४८ वटा मुद्दा फर्छ्यौट भैसकेको र ३७ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको बताए । भवितव्य ज्यान, फुटकर ज्यान, विष सेवन गरी आत्महत्या, झुन्डिएर आत्महत्या, ज्यान सम्बन्धी र सवारी बाट भवितव्य ज्यान अन्तरगत परेको सबै मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । त्यस्तै लागु औषध सम्बन्धी १० वटा मुद्दा परेकोमा नौ मुद्दा फर्छ्यौट भैसकेका छन् भने एउटा फर्छ्यौट हुन बाँकी छ । साधारण चोरीका तिन मुद्दा परेकोमा दुई वटा फर्छ्यौट भएका र एउटा बाँकी रहेको छ । ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा दुई वटा मुद्दा दर्ता भएकोमा एउटा फर्छ्यौट भएको र एउटा बाँकी रहेको छ ।