(कविता)
✍️ कामना ✍️
स्वतन्त्रता फुलिरहोस्, हरेक रुख–पातमा ।
सुसंस्कृति उदाइरहोस्, खुलेर नव-प्रभातमा ।।
कुकर्म नष्ट भ्रष्ट होस्, सुभावना बढोस् यता ।
अन्धकार उज्यालियोस्, जमोस् यहाँ मनुष्यता ।।
खुलुन् सबैका चेतना, समृद्धि होस् विवेकको।
चैतन्य दिव्य दीप झैँ, उज्यालो होस् हरेकको ।।
सम्पूर्ण कर्मशील हून्, बनुन् निपुण कर्ममा ।
शारदाकै समान हून्, असीम नम्र धर्ममा ।।
यो जन्मभूमिको सदा, रहून् प्रेम फिक्रीमा ।
नफसून् ती स्वार्थका, कतै सुवर्ण सिक्रीमा ।।
छरी प्रकाश चौतर्फी, स्निग्ध होस् स्वदेशमा ।
विकासको ओइरो उर्लियोस्, प्रचुर मेरो देशमा ।।
सुवास फैलिरहोस् सबै, कुनाकुना यो धर्तीको ।
अनन्तसम्म झाङ्गिरहोस्, विशाल रूख पिर्तीको ।।
प्रकाशवान् उज्ज्वलता, सधैँ प्रगाढ भइरहोस् ।
यही छ कामना मेरो, मनुष्य देवदूत होस् ।।