कञ्चनपुर, २८ चैत । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कञ्चनपुरको प्रिन्सिपल भेला झलारीमा भएको छ । एनप्याब्सन जिल्ला अध्यक्ष सत्येशबहादुर चन्दको अध्यक्षतामा शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थित शुक्लाफाँटा उद्योग वाणिज्य संघको हलमा बुधबार भएको कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महरा रहेका थिए । प्रिन्सिपल भेलामा बोल्दै प्रमुख अतिथि महराले निजी विद्यालयहरूले शिक्षामा सबैको पहुँच बढाउन सहयोग गरेको बताए । ‘सबैको पहुँचमा शिक्षा पुगाउन निजी विद्यालयहरूको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने, ‘निजी विद्यालयहरूले समाजका लागि अझ प्रभावकारी ढङ्गले कदम चाल्न जरुरी छ ।’ सामुदायिक तथा निजी विद्यालयहरूलाई साथमा लिएर नगरभित्र शैक्षिक गतिविधि सञ्चालन भइरहेको उनको भनाइ थियो । उनले निजी विद्यालयहरूबाट सामुदायिक विद्यालयहरूले सिक्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले देशको शिक्षा प्रणालीमा निजी विद्यालयहरूको योगदान रहेको बताए । उनले कृष्णपुर नगरपालिकामा शिक्षा नीति निर्माण भएको समेत उनले बताए । हरेक गतिविधिहरूमा निजी विद्यालयहरूको सहभागिता रहँदै आएको उनले बताए । सामुदायिकसँगै निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत सेनिटरी प्याड वितरण गरेको उनको भनाइ छ । शिक्षालाई गुणस्तरीयका साथै सर्वसुलभ बनाइनुपर्नेमा उनले जोड दिए । निजी विद्यालयहरूमा अस्वस्थ प्रतिस्पर्धा हुनु राम्रो नभएको बताउँदै उनले भने, ‘केही निजी विद्यालय बाध्यात्मक परिस्थितले सञ्चालनमा छन् । निजी विद्यालयका सङ्गठनहरूले समायोजन (मर्ज) को नीति अवलम्बन गर्न आवश्यक छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सरकारले नै निजी विद्यालयहरूलाई बन्द गर्ने प्रयास गरिरहेको आरोप लगाए । ‘सरकारले निजी विद्यालयहरूलाई बारम्बार बन्द गर्ने प्रयास गरिरहेको छ । निजी विद्यालय बन्द गर्ने सरकारको मनसाय रहेको छ,’ उनले भने । निजी विद्यालयलाई समेटेर आफूहरूले शैक्षिक गतिविधिहरू सञ्चालन गरिरहेको उनको भनाइ थियो । उनले निजी विद्यालयहरूले आफ्नो सङ्गठन बलियो बनाउनुपर्ने समेत बताए । सङ्गठन बलियो भए विद्यालयमा सुधार आउने उनले बताए । नगरपालिका निजी विद्यालयसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको नगर प्रमुख लिम्बुले बताए ।
एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष श्याम सिंह मौनीले स्थानीय तहहरूले सामुदायिक विद्यालय सरह निजी विद्यालयलाई व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । एनप्याब्सन कञ्चनपुरका संस्थापक अध्यक्ष प्रकाश पाण्डेयले जोस, जाँगरका साथ निजी विद्यालयहरूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । एनप्याब्सन जिल्ला कार्यसमितिले प्रिन्सिपल भेला कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै कृष्णपुर र दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुखद्वय ओझा र लिम्बुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । एन–प्याब्सन जिल्ला उपाध्यक्ष नरेन्द्र महताले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव कुवेर खड्काले गरेका थिए । कार्यक्रममा पूर्व केन्द्रीय सचिव प्रजापति नेगी, एनप्याब्सन सुदूरपश्चिम प्रदेश सचिव वीर बहादुर चन्द, एनप्याब्सनका पदाधिकारी, एनप्याब्सनमा आबद्ध जिल्लाभरिका निजी विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।