किशोर तामाङ, कञ्चनपुर, १३ चैत । कञ्चनपुरको पुनर्वासमा “ज्येष्ठ नागरिक स्मृति एवम् सम्मान कप” वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ३ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सो फुटबल प्रतियोगिता कालिका युवा क्लब र राम युवा क्लबले संयुक्त रूपमा सञ्चालन गर्न लागेका हुन् । ”खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ राम युवा क्लबको खेलमैदानमा यही चैत २४ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने बताइएको छ । पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युवा क्लब र राम युवा क्लब) को आयोजनामा “ज्येष्ठ नागरिक स्मृति एवम् सम्मान कप” वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुन लागेको राम युवा क्लबका अध्यक्ष भीम बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले यस खेलको आयोजनासँगै आगामी दिनमा कालिका युवा क्लब र राम युवा क्लब एकै भएर अगाडी बढ्ने आशा राखेको बताउनुभयो ।
फुटबल खेलको विकासका लागि खेलप्रति आकर्षण बढाउन र स्थानीय तहमा युवाहरूको सक्रियता जनाउन “ज्येष्ठ नागरिक स्मृति एवम् सम्मान कप” वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता–२०८० सञ्चालन गर्न लागेको वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष बम बहादुर तामाङले बताउनु भयो । उहाँले खेलकुदको विकासका निम्ति सही ठाउँ सही समय अवलम्बन गर्नु पर्ने र खेलकुदमा रुचि भएकाहरूलाई सानैदेखि प्रशिक्षण दिए अवश्य पनि लगानी खेर नजाने बताउनुभयो । त्यसै गरी मन्तव्यको क्रममा कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष दाउत तामाङले ग्रामीण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजक लाई धन्यवाद दिनुहुँदै कञ्चनपुरको दक्षिणी भेग फुटबल खेलाडीको हब रहेको बताउनुभयो । उहाँले कञ्चनपुरमा राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा दक्षिणी क्षेत्रको ठुलो भूमिका रहेको जिकिर गर्नुभयो । साथै उहाँले पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न प्रतियोगिताहरू हुँदै आएको बताउनुभयो । मन्तव्यको क्रममा उपाध्यक्ष तामाङले स्थानीय स्तरबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सदैव कञ्चनपुर जिल्ला फुटबल सङ्घ सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता ज्येष्ठ नागरिकको सम्झना तथा सम्मानमा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साथै फुटबलमा नै समर्पण गरी आफ्नो जीवन बिताइरहेका खेलाडीहरूका लागि २०८० चैत्र २३ गते ३९ वर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वस्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको क्लबका सचिव लालमान तामाङले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । उहाँले खेलकुदलाई सभ्य भव्य र मर्यादित भएर सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई साथ सहयोगका लागि पत्रकार सम्मेलन मार्फत अपिल गर्नुभएको छ । आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा वडा स्तरीय खुल्ला र भेट्रान गरी दुई खेल एकै समयमा हुने बताउँदै भेट्रान तर्फ २०८० चैत्र २३ गते ३९ वर्ष पूरा भएको हुनुपर्ने आयोजकले जनाएको छ । दुवै विधातर्फ रु. पाँच हजार इन्ट्री शुल्क तोकिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । दुवै विधाको खेलमा चैत्र २२ गतेसम्म टिम दर्ता गर्ने समय तोकिएको छ भने चैत्र २३ गते खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिकहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
प्रतियोगिताको विजेता हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका म्यान अफ द म्याचले प्रत्येक खेलमा एक हजार रुपैयाँ प्राप्त गर्ने छ भने व्यक्तिगत विधामा समेत आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । यसै गरी यता भेट्रान खेलतर्फ प्रतियोगिताको विजेता हुने टिमले नगद २१ हजार १ सय ११ रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका म्यान अफ द म्याचले प्रत्येक खेलमा पाँच सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू विश्व फुटबल महासङ्घ फिफाद्वारा पारित नियम अनुसार खेलाइने आयोजकले जनाएको छ । कालिका युवा क्लबका अध्यक्ष राम बहादुर तामाङ र राम युवा क्लबका अध्यक्ष भीम बहादुर तामाङको संयुक्त सभापतित्व रहेको उक्त पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि पुनर्वास ३ का कार्यवाहक वडा अध्यक्ष बम बहादुर तामाङ रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष दाउत तामाङ र सदस्य सुक बहादुर तामाङ रहनुभएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सचिव लालमन तामाङले गर्नुभएको थियो ।