हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ फागुन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ । ‘कृषि, उत्पादन र स्वरोजगार; आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गरेको छ । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणका लागि मेला सञ्चालन गरिएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले दैजी छेला औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाह निर्माणको कार्यलाई अगाडी बढाउन सरकारलाई अनुरोध गर्नु भएको छ ।
सोही समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धन फेरबदल प्रति टिप्पणी गर्नु भएको छ । नेता लेखकले सत्ता समीकरणको नयाँ गठबन्धन प्रति टिप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्याशित ढङ्गले, अविश्वसनीय ढङ्गले गठबन्धन भत्काएको र नयाँ गठबन्धन बनाएको आरोप लगाउनु भएको छ । नेता लेखकले काङ्ग्रेससँगको गठबन्धनका बेला कञ्चनपुरमा निर्माणाधीन सुख्खा बन्दरगाह, महाकाली कोरिडोर र महाकाली नदीमाथिको पुल निर्माणको कार्यलाई प्रधानमन्त्री दाहालले सहयोग गरेको उल्लेख गर्दै नयाँ गठबन्धनबाट पनि सोही सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आफ्नै मातृभाषामा मन्तव्य राख्दै कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिनभयो । पूर्व मन्त्री एवं नेकपा एमालेका नेता नारदमुनि रानाले सबै समुदाय जातजातिको परम्परा र संस्कृतिलाई प्रवर्द्धन गर्न उक्त महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले संविधान अनुसार बनेका सङ्घीय संरचनाहरू कामयाबी नभएको टिप्पणी गर्दै जनताको जीवन व्यवहारसँग जोडिने गरी कार्य गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कञ्चनपुरको शुक्लाफाँटालाई पर्यटनको मुख्य हबका रूपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू प्रकाश रावल, वीर बहादुर थापा, मधु भारती, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल लगायत महोत्सव उद्घाटन समारोहका प्रायः सबै वक्ताहरूले दोधाराचाँदनी सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र र महाकाली कोरिडोरको शीघ्र निर्माणका लागि आवाज उठान गर्नु भएको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरू प्रदर्शन गरिने बताइएको छ । त्यस्तै, मनोरञ्जनका राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति रहने र मञ्चमा बाल उद्यान समेत राखिने कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।