हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकामा नमुना युवा संसद् अभ्यास सम्बन्धी चार दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद्सँगको समन्वयमा बेलौरी नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यही फागुन १४ देखि १७ गतेसम्म उक्त कार्यक्रम गरिएको हो । बेलौरी नगरपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी कार्यक्रममा युवाहरूको सहभागिता गराई उक्त अभ्यास गरिएको बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।
बिहीबार आयोजित समापन समारोहमा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उक्त अभ्यास युवाहरूका लागि एकदमै महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले अहिलेको समयमा युवाहरू नै नगरको विकासमा प्रतिनिधित्व गर्न अग्रसर हुनुपर्ने भन्दै त्यसका लागि नगरपालिकाले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाउनु भयो । सरकारी स्तरबाट बेलौरी नगरपालिकामा पहिलो पटक नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा युवाहरूलाई निर्वाचन, सभा सञ्चालन, कार्यक्रम निर्माण लगायतका नेतृत्व विकास सम्बन्धी प्रशिक्षण प्रदान गरिएकोले यसबाट सहभागीहरूको क्षमता अभिवृद्धि भएको सहभागी विष्णु अवस्थीको भनाइ छ । विष्णु अवस्थीकै अध्यक्षतामा १५ सदस्यीय नगर समिति समेत गठन गरिएको छ । नमुना युवा संसद् अभ्यास कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रतिनिधिहरूले प्रशिक्षण प्रदान गर्नु भएको छ ।
राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, यूथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजना २०७२ को आधारमा युवाका क्षेत्रमा नीति, कार्यक्रम, योजनाहरूको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने सरकारी संरचनाका रूपमा २०७२ फागुन १९ गतेका दिन राष्ट्रिय युवा परिषद् स्थापित भएको परिषद्का उपसचिव कर्ण कुँवरले बताउनु भयो । राष्ट्रिय युवा परिषद्को कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर÷गाउँ सभाको अभ्यास गराइन्छ । नगर÷गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना संसद्मा सहभागी गराइने र त्यहाँबाट पनि छनौट भएका प्रतिनिधिहरूलाई तेस्रो चरणमा सङ्घीय तहमा सहभागी गराउने गरिएको छ । नमुना संसद् अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरूले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तर्वस्तु, शासकीय प्रणाली, सङ्घीयता, युवाका मुद्दा, जलवायु परिवर्तन आदि विषयमा बहस तथा छलफल गर्ने गरिएको छ ।