हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ फागुन । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन २१ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सञ्चालनको तयारी भइरहेको छ । ‘कृषि, उत्पादन र स्वरोजगार : आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको हो ।
सोमबार उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणका लागि मेला सञ्चालन गर्न लागेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले बताउनु भएको छ । अध्यक्ष जोशीकै संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न १६ उपसमिति समेत गठन गरिएका छन् ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरू प्रदर्शन गरिने बताइएको छ । त्यस्तै, मनोरञ्जनका राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति रहने र मञ्चमा बाल उद्यान समेत राखिने कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ ।