हरिश्चन्द्र बाग, काठमाडौँ, १० फागुन । २३ दिनसम्म पूर्व र पश्चिमबाट पैदल हिँडेर काठमाडौँ पुगेका मिटरब्याज पीडितहरू चौबिसौँ दिन काठमाडौँमा पानी परेका कारण कहीँ जान पाएनन् । रातिको १०:४० बजिसकेको थियो । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा मर्मस्पर्शी स्ट्याटस लेख्नुभयो "चन्द्रागिरिको चिसो सिरेटोले त्रिभुवन पार्क आतङ्कित छ । २४ औँ दिनको सबैभन्दा कष्टकर रात आज हुँदै छ । वर्षाका कारण ओढ्ने ओछ्यान सबै भिजे । तर पनि हिम्मत हारिएको छैन । साहुका टोकसोले सिरानी भिज्दाको दुःख, यो ठण्डी भन्दा निकै चिसो छ । मिटरब्याज विरुद्ध न्याय मार्च भोलि सिंहदरबार पुग्दै छ !"
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिले बिहीबार साँझ एक प्रेस विज्ञप्ति पनि जारी गरेको छ । समितिका अध्यक्ष अवधेश कुशवाहद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भारी वर्षात्का कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दै शुक्रबारको कार्यतालिका सार्वजनिक गरिएको छ ।
- यस्तो छ, प्रेस विज्ञप्तिको विवरण ।।
"मिटरब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणका कार्यक्रम अन्तर्गत आज हुने भनिएको “सिंहदरबार मार्च” भारी वर्षात्का कारण स्थगित भएको छ । साथै, पूर्वनिर्धारित दुवै कार्यक्रमहरु भोलि एकै दिन फरक फरक समयमा सञ्चालन गरिने छ । ११ फाल्गुन २०८०, बिहान ८ बजेदेखि “सिंहदरबार मार्च” सुरु हुनेछ भने दिउँसो १ बजेदेखि “ऐक्यबद्धता सभा” आयोजना हुने छ । साथै, हाम्रो पैदल यात्राको कारण सिर्जना हुन सक्ने सवारी आवागमनको असहजता बारे सम्पूर्ण जजनसमुदाय समक्ष क्षमा प्रार्थी छौँ । सम्भव भएसम्म उल्लेखित रुट परिवर्तन गर्नु हुन अनुरोध गर्दछौँ । तथापि निरन्तर ३ वर्षदेखि चलिरहेको न्यायिक सङ्घर्षप्रति यहाँहरूको सकारात्मक र सहानुभूतिपूर्ण प्रतिक्रिया रहेकोमा विश्वस्त छौँ । आगामी कार्यक्रमहरूको परिमार्जित ब्यहोरा देहाय बमोजिम रहेको छ :
१. सिंहदरबार मार्च : थानकोटबाट सुरु भई कलङ्की, कालीमाटीबाट त्रिपुरेश्वर, सहिद गेट हुँदै सिंहदरबार
२. ऐक्यबद्धता सभा : भद्रकाली
ऐक्यबद्धता सभाबारे थप :
मिटर ब्याज पीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूका न्यायका लागि संस्थागत र व्यक्तिगत प्रतिनिधित्व सहित मिटरब्याज विरुद्ध न्याय मार्चलाई ऐक्यबद्धता जाहेर गर्ने सन्देश प्रवाह गर्न उपयुक्त सामग्री (ब्यानर) सहित २०८०।११।११ गते उपस्थितिको लागि सम्पूर्ण श्रमजीवी मित्र, विद्वद्वर्ग, नागरिक अगुवा, राजनीतिज्ञ, विद्यार्थी र आम न्याय प्रेमी समुदायलाई हार्दिक अनुरोध गर्दछौँ । साङ्गठनिक सहभागीको तर्फबाट १ जना वक्तालाई समय उपलब्ध गराइने छ । सहजताका लागी ९७६५३६००६०, ९८११३९२७३२, ९८५१२३३८७३ र ९८५११०००७६ मा सम्पर्क गर्न सक्नुहुनेछ । (ब्यानरको नमुना उपलब्ध गराइने छ ।)
किसान मजदुर—जिन्दाबाद !"