किशोर तामाङ, कञ्चनपुर, ०७ फागुन । कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि दाबी गरिएको स्व. प्रकाश दाहाल स्मृति छैटौँ अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक अरनिको युवा क्लबले नै हात पारेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका २ अरनिकोबस्तीमा भएको प्रतियोगिताको अन्तिम खेलमा आयोजक अरनिको युवा क्लबले त्रिभुवन युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै छैटौँ अरनिको सैनिक कपको उपाधि चुम्दै विजेता बनेको हो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा मध्यान्तर अघि अरनिको युवा क्लबका लागि डिफेन्डर दिपेन सिंहले १ गोल सहितको खाता खोलेका थिए । लगत्तै मध्यान्तर पश्चात् त्रिभुवन युवा क्लबका खेलाडी प्रमोद तामाङले पनि त्रिभुवनका लागि १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । मध्यान्तरपछि त्रिभुवन युवा क्लबले गोल फर्काए पश्चात् खेल निकै नै रोमाञ्चक बनेको थियो । बराबर एक एक गोलको प्रतिस्पर्धात्मक र उत्कृष्ट खेल प्रदर्शनका बिच निर्धारित समयभित्र दुबै टिमबाट गोल गर्न नसक्दा फाइनल खेल ट्राईब्रेकरमा प्रवेश गरेको थियो ।
अरनिको युवा क्लबका खेलाडी दिपेन सिंहले मध्यान्तर अघि प्रहार गरेको पहिलो गोल र मध्यान्तरपछि त्रिभुवनका लागि प्रमोद तामाङले प्रहार गरेको जवाफी गोल नै ट्राईब्रेकरबाट फाइनल खेललाई टुङ्गो दिने निर्णायक भूमिका बन्न पुग्यो उक्त ट्राईब्रेकरमा एक गोल चुक्न पुगी त्रिभुवन युवा क्लब ५–४ गोल अन्तरले उपविजेतामै सीमित हुनुप¥यो । विजेताले उपाधिसँगै नगद २ लाख ६० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता त्रिभुवन युवा क्लबलाई नगद १ लाख ३० हजार रुपैयाँ सहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सचिव दीपेश तामाङले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि अरनिको युवा क्लबका खेलाडी बिकेस तामाङ घोषित भए । उनलाई नगद रु १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मानित गरिएको छ । सर्वोत्कृष्ट खेलाडीको उपाधि आई.बी.आर.डी स्थित लक्ष्मण फेन्सीले प्रायोजन गरिएको थियो । यसैगरीे उत्कृष्ट मिड फिल्डरको उपाधि आयोजक अरनिको युवा क्लबका खेलाडी माधव भण्डारी, उत्कृष्ट स्ट्राइकर आयोजक टिमका कुवेर सिंह, उदयमान खेलाडीको रूपमा अरनिको युवा क्लब पहेँलोका १५ वर्षीय सौरभ मगर, उत्कृष्ट डिफेन्डर आयोजक टिमका दिपेन सिंह, सर्वोत्कृष्ट गोलकर्ताको उपाधि सुदूरपश्चिम ११ का खेलाडी फागु चौधरीले प्राप्त गरेका थिए । त्यसै गरी फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक आयोजक क्लबका अमानत सैफ घोषित भएका थिए । विधागत उपाधि पाउने सबै खेलाडीलाई नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
अरनिको खेलकुद विकास समिति, अरनिको युवा क्लबको आयोजनामा प्रकाश दाहाल प्रतिष्ठान मुख्य प्रयोजक भई प्रथम र द्वितीय पुरस्कार सौजन्य रहेको र विज्ञान एच.आर म्यानेजमेन्ट प्रा.लि. सह प्रयोजक रहेको उक्त प्रतियोगिताको समापन समारोहमा पूर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यता तथा श्री नम्बर २५ बाहिनीका बाहिनीपति सहायक रथी मनोज थापा र बिज्ञान एच आर म्यानेजमेन्ट प्रा.लि.का प्रतिनिधि रामसिंह तामाङ विशिष्ट अतिथिमा आसीन थिए । पूर्व खानेपानी मन्त्री बिना मगरले विजेता र उपविजेता टिमका खेलाडीहरूलाई बधाई दिँदै पुनर्वास नगरपालिका भित्र फुटबल प्रतियोगिताको चहलपहल हेर्दा जिल्लामै फुटबल खेलका लागि उर्वर भूमि भएको उल्लेख गरिन् । प्रमुख अतिथिको आसनमा रहेकी पूर्व खानेपानी मन्त्री मगरले कञ्चनपुर क्षेत्र नं. १ को समग्र विकासमा आफू कटिबद्ध रहेको बताएकी छन् । कार्यक्रममा अरनिको युवा क्लबका वरिष्ठ खेलाडीद्वय बल बहादुर तामाङ र फिलिप तामाङ, तामाङ समुदायका ईश्वर शास्त्रमा विद्यावारिधि गरेका बेक बहादुर शुलेमान तामाङ र पूर्व खेलाडी किशोर तामाङलाई सम्मानित गरिएको थियो । यसै गरी जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङले राष्ट्रिय खेलकुद परिषद् लगायतका सम्बन्धित निकायले सहरी क्षेत्रमा मात्र ध्यान दिई ग्रामीण भेगका खेलाडीलाई बेवास्ता गर्दा अहिले नेपाली फुटबल खेलमा सोचे जस्तो फड्को मार्न नसकेको औँल्याए । राज्यबाट खेलकुदको लागि बर्सेनि करोडौँ बजेट विनियोजन गरिन्छ । तर उक्त बजेट ग्रामीण क्षेत्रका खेलाडीहरूको लागि ’आकाशको फल, आँखा तरी मर’ भनेझैँ भएको उनले सुनाए । तसर्थ यस तर्फ सबैको ध्यान जान जरुरी रहेको उनले बताए । त्यसै गरी अतिथिको आसनबाट बाल्दै वडा नंं. ६ का वडाध्यक्ष मित्रसिंह लामाले जिल्लाकै ठुलो धनराशिको खेल खेलाउन सफल अरनिको युवा क्लबको आफ्नै छुट्टै पहिचान रहेको बताए । उनले भने “पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न प्रतियोगिता हुने गरेका छन् । चाडबाडको समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरेको छ ।“
त्यस्तै क्लबका अध्यक्ष जित बहादुर तामाङले स्थानीय स्तरबाटै राष्ट्रिय स्तरका खेलाडीहरूको उत्पादन गराउन सकिन्छ भन्ने उद्देश्यका साथ खेल आयोजना गरिएको बताए । अध्यक्ष तामाङले छैटौँ अरनिको सैनिक कपको उद्घाटनदेखि समापनसम्म प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । क्लबका सल्लाहकार रेभ. राजकुमार तामाङले खेल एकदमै विवादरहित बनाउन थुप्रै चुनौतीहरूको बाबजुद पनि आयोजकको अथक प्रयासमा सम्पन्न गर्न सफल भएकोमा आयोजक कमिटी प्रति धन्यवाद ज्ञापन गरेका थिए । उनले गाउँवासीहरूको सहयोग र सहकार्यका बिच खेलाडीहरूको सहयोगमा अरनिको सैनिक कप २०८० सभ्य र भव्य रूपमा सम्पन्न गर्न सकेको जिकिर गरे । फुटबल प्रतियोगिताको समापन समारोहका अन्य वक्ताहरूले खेलकुद क्षेत्र युवाहरूका लागि अनिवार्य भएको भन्दै यसमा नगरपालिका, प्रदेश र सङ्घीय तीनै तहका सरकारले प्राथमिकताका साथ बजेट छुट्टाएर खेलकुदका गतिविधि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । समय समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरेपछि फुटबल प्रेमी दर्शकहरू निकै नै खुसी भएको देखिन्छ । अरनिको युवा क्लबको आयोजनामा भएको स्व. प्रकाश दाहाल स्मृति छैटौँ अरनिको सैनिक कप, खुल्ला पुरुष फुटबल प्रतियोगितामा विभागीय टिम सहित १८ टिमको सहभागिता रहेको प्रतियोगिता अरनिको युवा क्लबको आफ्नै घरेलु खेलमैदानमा सम्पन्न भएको छ । समापन समारोहमा अरनिको युवा क्लबका सचिव दीपेश तामाङले स्वागत मन्तव्य राखेका थिए । उक्त समापन समारोहलाई किशोर तामाङले सञ्चालन गरेका थिए ।