हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ फागुन । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं विपक्षी (नेकपा एमाले) दलका नेता राजेन्द्र सिंह रावलले पुरातात्त्विक सम्पदा संरक्षण बारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र सम्प्रेषण गर्नुभएको छ । दार्चुलाको उकु स्थित हरिहर मन्दिरको स्थलगत अनुगमन गर्दा शताब्दियौँ पुराना पुरातात्त्विक महत्वका अवशेषहरू यत्रतत्र छरिएको अवस्थामा देखेपछि बिहीबार उहाँले प्रधानमन्त्री दाहाललाई पत्र सम्प्रेषण गर्नु भएको हो ।
यस्तो उल्लेख गरिएको छ उक्त पत्रमा ।
मिति : २०८०/११/०३
प.सं. : ०८०/०८१
च नं. : १६
................
सम्माननीय प्रधानमन्त्री ज्यू,
काठमाडौँ
विषय : पुरातात्त्विक सम्पदा संरक्षण बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ उकु, श्रीमहलस्थित हरिहर मन्दिरका भग्नावशेषहरू यत्र–तत्र, सर्वत्र छरिएर अलपत्र अवस्थामा रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।
शक सम्वत् १२५७–१३१५ बीच तत्कालीन डोटी राज्यका रैका शासकहरू (कत्युरी राजवंशका वंशज) द्वारा निर्मित हरि र हरको संयुक्त आराधना हुने यो पुरातात्त्विक धरोहरमा भेटिएको मध्यकालीन शिलालेखमा नाग मल्लकी आमा सोमल्लदेवी र रानीहरू लोमल्लदेवी तथा रल्लदेवीको नाम उल्लेखित भएको पाइन्छ । यस स्थलमा जीर्ण अवस्थामा छरिएर रहेका पुरातात्त्विक अवशेषहरू मध्ये मूर्तिकलाको तुलनात्मक अध्ययन गर्दा यी अवशेषहरू जागेश्वर र बैजनाथ उत्तराखण्डको वास्तुकला सँग तुलनीय रहेका छन् । त्यहाँस्थित मन्दिरका भत्केका अवशेषहरूमा हात्ती, बाघ, चराहरू साडे र छेपारोका आकृतिहरू कुदिएका छन् ।
धनबज्र रत्न अमात्यले नृत्य मुद्रामा शिव, हरिहर, सिंहवाहिनी, दुर्गाका साथै काली, लक्ष्मी, भगवती र महाकालीको वर्णन गर्नुभएको छ । उनका अनुसार यी मन्दिरका अवशेषहरू पुण्य मल्ल, नाग पाल र सोमल्ल देवीको उकुस्थित शिवालयमा रहेको शाके १२५७ को पुण्य पाल (मल्ल) को शिलालेख भन्दा पनि पूर्ववर्ती हुन भन्ने उहाँको ठहर छ । तेह्रौँ र चौधौँ शताब्दी पूर्वको उकुको यो स्थल शैव, शक्ति र वैष्णवहरूको अत्यन्त महत्त्वपूर्ण धरोहर मानिन्छ । हरिहरका यी मूर्तिहरू बाल्मिकीनगर र सिम्रौनगढको मूर्तिकला समतुल्य रहेका छन् र यिनीहरू हर्षवर्धन कालको मूर्तिकलासँग मेल खान्छन् । त्यसै गरी दुई देव हरि र हरलाई एउटै आकृतिमा कोर्ने कठिन कामलाई तत्कालीन कलाकारले बुद्धिमत्तापूर्वक मूर्तिकलाका रूपको साँचोमा ढालेका छन् । उक्त मूर्तिहरू समग्रतामा खजुराहो र पश्चिम भारतीय वास्तुकलासँग समेत मेल खाने गर्दछन् ।
मूर्तिकला र वास्तुकलाको यो अनुपम सौगातले सुदूरपश्चिम प्रदेशको वैभवलाई शेष विश्व सामु प्रस्तुत गर्न सक्दथ्यो । तर विडम्बना राजधानी काठमाडौँ र त्यस वरपर रहेका पहुँचवाला समुदायहरूको १०० वर्ष पुगेका सम्पदाहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय सूचिमा दर्ता भएका छन् र ती सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र विकासका लागि युनेस्को, नेपाल सरकार, पुरातत्त्व विभाग र प्रदेश सरकारहरूको ध्यान गएको भेटिन्छ र बजेट विनियोजन सहित पुनर्निर्माण भएको पाइन्छ भने सुदूरपश्चिम प्रदेशका ७०० वर्ष भन्दा पूर्वको उकु जस्तो पुरातात्त्विक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक महत्वको स्थल आजसम्म पनि पुनर्निर्माणको पर्खाइमा बसेको छ ।
अतः जीवित र जीवन्त सङ्ग्रहालयका रूपमा रहेको यो स्थललगायतका सुदूरपश्चिमका अन्य पुरातात्त्विक स्थलहरू समेतको पहिचान, संरक्षण, सम्वद्र्धन, विकास र प्रवर्द्धनको नीति निर्माण सहित बजेट व्यवस्था गरी तत्कालीन प्रविधि अनुरूप पुनर्निर्माण कार्यका लागि आगामी वर्षको बजेट मार्फत कार्यारम्भ गरियोस् भनी जोडदार माग गर्दछु ।
पुनश्च: यस उकु पुरातात्त्विक स्थलमा जीर्ण अवस्थामा रहेका सम्पदाको अवशेषहरूको मिति २०८० साल माघ २८ गते स्थलगत अवलोकन गरी खिचिएका तस्बिरहरू समेत यसै पत्र साथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ ।
निवेदक
मा. राजेन्द्र सिंह रावल
विपक्षी दलका नेता