धर्मराज कठायत, कञ्चनपुर, २६ माघ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले ‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रमको समीक्षात्मक बैठक गरेको छ । दोधाराचाँदनी नगरपालिका कञ्चनपुरको सभा हलमा शुक्रबार कार्यक्रम गरिएको हो । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजना र नागरिक आवाज धापाखेल ललितपुरको आर्थिक सहयोगमा सन् २०२३ जनवरी देखि ‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा कार्यक्रम संयोजक डम्बरी विष्ट कुँवरले संस्थाका गतिविधिबारे प्रस्तुतीकरण गर्नु भएको हो ।
२०२३ जनवरी महिनादेखि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरिएको 'सामुदायिक सुरक्षा जालो’ कार्यक्रम अन्तर्गत द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र र नागरिक आवाजको सहकार्यमा थुप्रै सामाजिक क्षेत्रमा देखिएका समस्या समाधान, रोकथाम तथा न्यूनीकरणका लागि गरिएका कामको कार्य प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । एक वर्षभरमा विपद् व्यवस्थापन सम्बन्धी तालिम, आत्महत्या रोकथाम, मनोसामाजिक परामर्श सम्बन्धी अभिमुखीकरण, स्वास्थ्य सुरक्षा हेरचाह सम्बन्धी कार्यक्रम, तनावबाट मुक्तिका लागि जनचेतना, जीविकोपार्जनका लागि एकल महिला र गरिबलाई सहयोग, जाजरकोट र बझाङका भूकम्प पीडितलाई खाद्यान्न सहयोग लगायतका कार्य गरिएको अध्यक्ष सिता बोहराले बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले संस्थाले गरेका सामाजिक कार्यप्रति उच्च प्रशंसा गर्नुभयो । संस्थासँग सहयोग र सहकार्य आदानप्रदान गर्न नगरपालिका प्रतिबद्धता रहेको भन्दै एकल महिला तथा हिंसा पीडित विपन्न परिवारलाई आयआर्जन तथा समूह बनाएर अगाडि बढे आयआर्जनमूलक क्षेत्रमा उन्नति र प्रगति देखिने उहाँले बताउनु भयो । दोधाराचाँदनी नगरपालिकाका उपप्रमुख गङ्गा देवी जोशीले 'सामुदायिक सुरक्षा जालो’ कार्यक्रमले गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यको आसा सँगै नगरपालिकाले समेत सहकार्य गर्ने बताउनु भयो ।
छोटो अवधिको कार्यक्रम भएको भए पनि उद्यमशीलता सम्बन्धी तालिम चलाउन पाए विपन्न परिवारलाई सहयोग पुग्ने दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टको सुझाव रहेको छ । दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले ९० प्रतिशत भन्दा बढी मानसिक रोगी र आर्थिक कमजोर अवस्था भएकालाई आर्थिक उन्नति गर्न र उहाँहरूको मनोबल बढाई उद्यमशीलतामा सहभागी गरे राम्रो हुने सुझाव दिनुभयो । कार्यक्रममा दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बू, उपप्रमुख गङ्गादेवी जोशी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, वडा अध्यक्षहरू सहित इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल (बीओपी) दोधारा चाँदनीका प्रमुख र पत्रकार लगायतको सहभागिता रहेको थियो ।