माधव पौडेल, कञ्चनपुर, १५ माघ । कञ्चनपुरको बेलौरीमा माघ १२ गतेदेखि सञ्चालित आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा नेको इन्स्योरेन्स बेलौरी प्रथम, निङ्गलाशैनी भगवती बेलौरी द्वितीय र न्यु खप्तड ट्रेडर्स गोलकपुरले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । नगर स्तरीय (डबल) पुरुष प्रतियोगिता तर्फ प्रथम भएको नेको इन्स्योरेन्स बेलौरीले रु. २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय भएको निङ्गशैनी भगवती बेलौरीले रु. ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय भएको न्यु खप्तड ट्रेडर्स गोलकपुरले सान्त्वना स्वरूप रु. पाँच हजार एक सय पुरस्कार प्राप्त गरेको उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनु भयो । प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो । यसअघि माघ ५ गतेदेखि ७ गतेसम्म सञ्चालित विद्यालय स्तरीय प्रतियोगितामा प्रथम भएको उग्रतारा बाल विद्यालय बि टिमले २ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय भएको एभरेस्ट बोर्डिङ स्कुल बेलौरीले रु. २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्वरूप उग्रतारा बाल विद्यालयको ए टिमले रु.१ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिता समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले सहिद सप्ताहको अवसर पारी आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रमका सभापति उग्रतारा बाल विद्यालयका संस्थापक गङ्गा प्रसाद रिजाल, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी सहित सशस्त्र प्रहरी प्रस्तावित गुल्मका प्रमुख भरत कुँवर, नेपाल विद्युत् प्राधिकरण बेलौरी शाखा प्रमुख टङ्कराज गिरि, राष्ट्रिय वाणिज्य बैङ्क बेलौरी शाखामा प्रमुख टिकाराम बुढा, महालक्ष्मी विकास बैङ्कका शाखा प्रमुख हेम बोहरा, बेलौरी उद्योग वाणिज्य सङ्घका महासचिव गोविन्द प्रसाद सापकोटा, सुदूरपश्चिम इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडाल, शान्ति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सिपी पोखरेल, विज्डम एकेडेमीका प्रबन्ध निर्देशक दिनेश कुँवर लगायत पत्रकार, खेलाडी, खेलप्रेमी, शिक्षक, अभिभावक एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मिडिया पार्टनर, मुख्य प्रयोजक, प्रयोजक तथा सहयोगी संघसंस्थालाई सम्मान पत्र प्रदान गरिएको छ । प्रतियोगिता समापन कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएका थिए ।कार्यक्रमको सञ्चालन उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले गर्नुभएको थियो ।