प्लस टु गरेको एउटा युवालाई तपाईँ के गर्न चाहनुहुन्छ, भनेर सोध्ने हो भने विदेश जान चाहन्छु भन्ने सहज उत्तर आउँछ । रोजगारी तथा शिक्षाका लागि विदेश जाने युवाको लस्कर हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्टमा देखिन्छ। एक दिनमा कम्तीमा पनि ३ हजार युवा रोजगारीका लागि विदेश जाने गर्छन् भने एक दिनमा चार युवाको लास नेपाल भित्रिने गर्छ । यो भयानक स्थितिमा समेत सरकार गम्भीर छैन। अदक्ष कामदारका रूपमा विदेश जानुपर्दा नेपाली युवा ‘थ्री डी’को रूपमा काम गर्न बाध्य छन्। ड्यान्जर, डर्टी र डिफिकल्ट काम गर्नुबाहेक अर्को विकल्प छैन हाम्रा युवाका लागि । युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न भनेर धेरै बाटा फलाकिए तर व्यवहारमा कुनै पनि सरकारले युवालाई महत्त्व दिएनन् । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ। युवा त देशका खम्बा हुन् यदि खम्बा ढल्यो भने देश नै ढल्छ। सामान्यतया: युवा हरूमा जोस, जाँगर, उत्साह र असीमित शक्ति हुन्छ भने उनीहरू शारीरिक र मानसिक दुवै रूपले उत्तिकै सबल हुन्छन् । वास्तवमा कुनै पनि देशमा अन्याय, अत्याचार गर्ने शासकहरूलाई हटाएर जनताहरूलाई स्वतन्त्रता प्रदान गरी मुक्ति दिलाउने काम युवा वर्गका शक्तिले नै गर्दछ ।
युवाले प्राप्त गरेको ज्ञान र सीपलाई राष्ट्रले सदुपयोग नगरेका कारणले नै दैनिक हजारौँको सङ्ख्यामा युवा शक्ति विदेश पलायन भइरहेका छन् । यसलाई रोक्ने हामी सबैको साझा कर्तव्य हो। राजनीतिक अस्थिरता, गरिबी, चेतनाको अभाव, स्वदेशमै लगानीको तथा अवसरको कमी र सीपमूलक शिक्षाको अभाव आदिको कारण हाम्रो मुलुकको जनशक्ति कौडीको मूल्यमा विदेशमा पसिना बेच्न बाध्य भएका छन् । दुःख र पीडाका कहाली लाग्दा दिन भोग्न विवश भएका छन् । यदि नेपाल सरकारले नवयुवाहरूलाई अवसर दिने हो भने हाम्रो देशमा विश्वका महान् व्यक्तिहरू जन्मिएका छन्, सेक्सपियर जस्ताले त हाम्रो देशमा हलो जोतिरहेका छन्, अल्बर्ट आइन्स्टाइन जस्ता युवा बिदेसिन बाध्य भएका छन् । अब्राहम लिङ्कन जस्ता व्यक्ति गोठालो गरेर समय बिताइरहेका छन् । हाम्रो देशमा विश्वको सबै चिज पाउने स्वर्ग छ, मात्र चिन्न सक्नुपर्छ । अहिलेको समय हेर्दा लाग्छ अल्बर्ट आइन्स्टाइन नेपालमा जन्मेका हुन्थे भने पनि उनी अल्बर्ट हुने थिएनन् । म पनि एक स्वदेशप्रेमी नागरिक भएकै कारण एउटा कुरा दावाको साथ भन्न सक्छु कि नेपालका बौद्धिक शक्तिहरू अवसर पाए अल्बर्ट र न्युटन बन्न सक्छन् तर अवसरको कमिले गर्दा तिनै बौद्धिक शक्तिहरू आज विदेशीको घरमा सेक्युरिटी गार्ड बन्न बाध्य भएका छन् । आज हाम्रो देशरूपी भवन भत्किन आँटेको छ तर हाम्रो देशका युवाहरू त्यस भवनको मर्मत गर्नुभन्दा पनि विदेशीका घरलाई अझ सुन्दर र राम्रो बनाउन पुगेका छन् ।
वैदेशिक रोजगारले देशलाई केही हदसम्म नोक्सान भएता पनि जनताको आर्थिक स्थितिमा सुधार आएको छ । तर वैदेशिक रोजगारीमा गई देशको विकास गर्छु भन्नु सूर्यको बिम्बलाई हत्केलाले छेकी विश्वलाई अन्धकार बनाउँछु भनेजस्तै हो । त्यसैले राज्यले पनि त्यसका लागि व्यवस्था मिलाई दियो भने कम्मर कसेर तयार भएका नवयुवाले देशको मुहार फेर्न सक्छन् । हाम्रो देशका नवयुवाहरू सङ्गठित भएर क्रान्तिको आगो दन्काए भने समाजमा वर्षौँदेखि जरा गाडेर बसेको अन्याय, अत्याचार र दासताका साङ्लाहरू चुँडिन्छन् । अब युवाहरूले बौद्धिक क्रान्ति सुरु गर्नुपर्छ, सँगसँगै आर्थिक क्रान्ति, कृषि क्रान्ति र विद्यार्थी क्रान्ति सुरु गर्नुपर्छ । बिदेसिएका युवाहरूलाई स्वदेशमा नै अवसर दिलाउन सकियो भने हाम्रो राष्ट्र पनि जापान, अमेरिका, युरोपजस्तै सबल र सक्षम बन्न सक्छ । जसरी दोस्रो विश्वयुद्धपछि ध्वस्त भएको जापान जसलाई नेपालले केही बोरा गहुँ दिएर सहयोग गरेको थियो । आज त्यही जापान विश्वको कुनै पनि राष्ट्रलाई सहयोग गर्न पछि नहट्ने भएको छ । त्यसको कारण युवा सशक्तीकरण नै हो । राष्ट्रले युवा वर्गको शक्तिलाई बेवास्ता गर्नु हुँदैन, यदि यसो गरियो भने त्यो शक्ति राष्ट्र निर्माणको विपरीत दिशातर्फ भड्किन पनि सक्छ, जसको परिणाम अति भयावह पनि हुन पुग्छ ।
हुन त वैदेशिक रोजगार नभइदिएको भए आज कति परिवारहरू राम्रो लुगा लगाउने र पेटभरि दुई छाक खान सक्दैनन् थिए होला । यदि कतार, दुबई, साउदी जस्ता खाडी मुलुकहरू नखुलिदिएको भए नेपाली जनताहरू केबल एक दुई सय रुपैयाँको लागि काटाकाट गर्न पनि पछि हट्ने थिएनन् कि । युवामा पसिनाले मोती फलाउन सक्ने, ज्योति जगाउन सक्ने सामर्थ्य भएता पनि यतिखेर देशको केही अस्थिर राजनीतिका कारण युवा वर्गको शक्ति खेर गइरहेको छ । आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि विभिन्न राजनीतिक दलहरूले युवा शक्तिलाई टुक्रा-टुक्रामा विभाजन गरिदिएका छन् । युवा वर्गमा युद्धले ध्वस्त विश्वलाई सपार्ने, बाढीले उजाड गाउँलाई पुनर्निर्माण गर्ने, भूकम्पले खण्ड-खण्ड बनाएको गाउँ तथा सहरलाई नवनिर्माण गर्ने अथाह शक्ति रहेको हुन्छ । त्यसैले युवालाई राष्ट्रले वैदेशिक रोजगारीमा पठाउनुभन्दा स्वदेशमा नै अवसर दिलाउनु आवश्यक छ ।
देशको युवा जनशक्ति देशमा रहे मात्र देशको उन्नति र प्रगतिले फड्को मार्छ तर यहाँ यसको ठिक उल्टो युवालाई लडाकु बनाएर आपसमा भिडन्त गराउने काम यो देशका शोषकहरूले गरिरहेका छन् अचम्म त यो छ कि नेपालका सबै नेताका छोराछोरी विदेशमा छात्रवृत्तिमा डक्टर, इन्जिनियर, वकिल पढाएर उनीहरूको भविष्य सुरक्षित गरिएको छ। यता, आफ्ना कार्यकर्ताका छोराछोरी भने चुल्ठे, मुन्द्रे र डन संस्कृतिमा रमाएका छन् । गाउँका अधिकांश युवा घर, खेत गरेर विदेश भासिने गाउँको बारी, खेत बाँझो राखेर विदेशी मालिकको खेती गरेका छन् । विदेशमा श्रमको सम्मान छ, स्वदेशमा श्रमको सम्मान हुने संस्कृति विकास गर्न सकिएको छैन । पढेको व्यक्तिले हलो, कुटो कोदालो छुन हुँदैन भन्ने गलत मानसिकता छ । विदेशमा सुन फल्छ भन्ने भ्रम छ । हामीले स्वदेशमै रोजगारी सृजना गरेर युवाको ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्र निर्माणमा लगाउन नसकेसम्म समृद्ध राष्ट्र बन्दैन । यसबारे हामी सबैले गम्भीर भएर सोचौँ- युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् ।