हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ पुस । कञ्चनपुरको बेलौरीस्थित खुलामञ्चमा आयोजित तीन दिवसीय 'माघ म्याला' शनिबार साँझ समापन गरिएको छ । 'राष्ट्रिय एकता म विविधता हमर शान, थारु भाषा संस्कृति बचैना हमर अभियान' भन्ने मूल नाराका साथ थारु कल्याणकारिणी सभाको आयोजनामा बिहीबारदेखि आयोजित यश वर्षको 'माघ म्याला' भव्यताका साथ सम्पन्न भएको आयोजकको दाबी छ । थारु समुदायको लोक संस्कृति संरक्षणका लागि मेला सञ्चालन गरिएको थारु कल्याणकारिणी सभा बेलौरीका अध्यक्ष खडक बहादुर चौधरीले बताउनु भएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, माघी, झुम्रा, मुग्रुह्ववा नाच तथा अन्य सांस्कृतिक प्रस्तुति, थारु समुदायको रहनसहन संस्कृति र भेषभुषा प्रदर्शन, थारु लेखन प्रस्तुति, थारु समुदायका विशेष खानाका परिकार राखिएका थिए । थारु समुदायको कला, लोक संस्कृति र भाषा साहित्यको जगेर्ना एवं प्रवर्द्धन र संरक्षणमा सहयोग पुर्याउने, थारु समुदायमा रहेका कुरीति हटाइ एकजुट भई शिक्षित समाज निर्माणमा सहयोग पुर्याउने, थारु झाँकी, कला संस्कृतिहरूको समेत प्रदर्शन लगायतको उद्देश्य पूरा भएको आयोजकको भनाइ छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले आफू २०७४ सालदेखि बेलौरी नगरपालिकाको नेतृत्व गर्न थालेपछि सबै समुदायका संस्कृतिलाई प्राथमिकतामा राख्दै आएको दाबी गर्नुभयो । उहाँले थारु समुदायको प्रमुख पर्व माघीलाई सामाजिक एकता र सद्भावका साथ मनाउन सबैलाई शुभकामना व्यक्त गर्नुभयो । सोही कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरीले आआफ्नो कला, संस्कृति, परम्परा र भेषभुषालाई संरक्षण तथा प्रचारप्रसारमा जोड दिनुभयो । बेलौरी नगरपालिका कार्यालय प्रवर्धक रहेको उक्त मेलामा मुख्य प्रयोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा.लि. रहेको थियो । अन्य दर्जनौँ सङ्घसंस्था तथा व्यापारिक प्रतिष्ठानहरूले प्रायोजकको भूमिका निर्वाह गरेका थिए ।