कञ्चनपुर, १५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले २५ वर्षे रणनीतिक गुरुयोजना बनाउन लागेको छ । भीमदत्त समृद्धिको आधार पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने अघि सारी नगरपालिकलो सरोकारवालासंग छलफल सुरु गरिएको छ ।
योजना बनाउन दुई चरणमा रणनीतिक गुरु योजनाका लागि छलफल गरिएको छ । पहिलो चरणमा १ देखि ९ र दोस्रो चरणमा १० देखि १९ वडासम्मका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, बुद्धिजीवि, किसान, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी महिला नागरिक समाजका अगुवासंग छलफल गरिनेछ ।
यसअघि गत साउनमा वडाहरुमा कार्यक्रम गरिएको थियो । भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले समय सापेक्ष जन चाहना अनुसार विकासका लागि गुरु योजना अघि सारिएको बताउनु भयो ।दुई चरणमा हुने छलफल कार्यक्रममा समूहगत छलफलबाट आएका निष्कर्षका आधारमा नगर विकासका मोडेललाई एकीकृत रुप दिइने उहाँको भनाइ छ ।
योजनामा नयाँ शहरको मोडेल, भू–उपयोग, बजेट वितरण, विकास, स्रोत साधन वितरण, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, समाजिक विकास, भौतिक पूर्वाधार, पर्यटन, सांस्कृतिक, ऐतिहासिक क्षेत्र, कृषि, ढल निकास, बजार व्यवस्थापन, पर्यावरण फोहोर व्यवस्थापन लगायतका विषय समावेश गरिने बताइएको छ ।