माधव पौडेल, कञ्चनपुर, २१ पुस । कञ्चनपुरको बेलौरीमा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार बेलौरीको खुला मञ्चमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन गरिने छ । बेलौरी नगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत २५ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो । शनिबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइली देवी चौधरीले विद्यार्थीका लागि खेलकुद पनि सिकाइको एक पक्ष रहेकोले खेलकुद क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेशबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले दक्षिणी क्षेत्रमा खेलकुदका लागि राम्रो कभर्डहलको आवश्यकता रहेकाले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो । उद्घाटन समारोहको सहजीकरण बेलौरी नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक अमित प्रसाद भट्टले गर्नुभएको थियो ।
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाले खेलकुदका लागि आवश्यक बजेट छुट्टाएको बताउनु भयो । चरणबद्ध रूपमा सबै खेल खेलाउने गरी व्यवस्थापन गर्ने बताउँदै नगर प्रमुख चौधरीले विद्यालयहरूले आफ्ना विद्यार्थीलाई कसरी बढी भन्दा बढी खेलमा सहभागी गराउन सकिन्छ; त्यसमा जोड दिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरूमा छात्र छात्रा भलिबल, कवडी, दौड (ट्र्याक) १००, २००, ४००, ८००, १५००, ३००० मिटर, छात्र छात्रा रिले दौड प्रतियोगिता हुने जनाइएको छ । त्यसै गरी छात्रतर्फ हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सट फुट १२ पाउन्ड तथा छात्रातर्फ हाई जम्प, लङ जम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सट फुट ८ पाउन्ड रहने छ । मार्सल आर्ट तर्फ कराँते ४२ केजी, ४७ केजी, ५२ केजी, ५७ केजी तथा ६२ केजी रहने आयोजकले जनाएको छ ।