हरिश्चन्द्र बाग, कञ्चनपुर । डेढ दशक अघि भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम भुक्तानी नपाएको पीडा सहेका कञ्चनपुरका उखु किसानहरूले काट्नलाई तयार भएको उखु बारीमै आगो लगाउनु परेको थियो । तर त्यसपछि कञ्चनपुरको बेलौरी र पुनर्वासमा दुइटा ठुला चिनी उद्योग सञ्चालनमा आएसँगै एक दशकयता कञ्चनपुर र कैलालीका उखु किसानहरूले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् । किसानहरूलाई अहिले उखु उत्पादन गर्न भ्याइनभ्याइ छ । उखु खेती गर्ने हजारौँ किसान अहिले बजारको समस्याबाट मुक्त मात्रै छैनन्, उनीहरूको जीवनस्तरमा समेत निक्कै सुधार आएको छ ।
पछिल्लो दशक कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखु खेतीको व्यापक विस्तार भएको छ । उसो त यस क्षेत्रमा तीन दशक अगाडिदेखि नै उखु खेती हुने गरेको थियो । त्यति बेला कैलालीको लम्कीचुहामा चिनी उद्योग सञ्चालनमा आए पनि केही वर्षमै त्यो उद्योग बन्द भयो । त्यही समयमा यहाँ गुड कोल्हुहरू सञ्चालनमा आए । डेढ दशक अगाडिसम्म गुड कोल्हुहरूलाई प्रतिक्विन्टल रु. ६५ मा उखु बेच्ने किसानहरू सीमावर्ती भारतको पलियामा चिनी उद्योग सञ्चालनमा आएपछि त्यहाँ उखु लैजान थाले । भारतीय चिनी उद्योगले प्रतिक्विन्टल ने.रु. १५० सम्ममा उखु खरिद गरे पनि नेपाली उखु किसान धेरैले उखु बेचेको भुक्तानी भने पाएनन् । २०६४।०६५ तिर त किसानहरूले उचित मूल्य नपाएको भन्दै उखुबारीमा आगो नै लगाए ।
तर त्यसपछि २०६६।६७ मा बेलौरीको शिवनगरमा महाकाली चिनी उद्योग सञ्चालनमा आएपछि उखु उत्पादक किसानहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि भयो । जसबाट किसानहरूको जीवनस्तरमा नै सकारात्मक परिवर्तन आएको उखु उत्पादक किसान हकहित संरक्षण समिति, कञ्चनपुरका अध्यक्ष हरि चन्द ठकुरी बताउँछन् । ‘गत वर्ष मात्रै महाकाली चिनी मिलले कुल ५० करोड नेपाल सरकारलाई राजस्व बुझाएको छ भनेपछि यहाँका किसानले कति कमाएका होलान् ? अहिले पनि एक बिघा उखु भएका किसान दाजुभाइले दुई लाखसम्म बचाउन सक्छन् । कामदार लगाएर पनि त्यति बचाउँछन् भने जसका घरमा काम गर्ने चार–पाँच जना छन्, ६ महिनासम्म त यो उखु बालीले विदेश धाउनु पर्दैन । तर बाध्यता कस्तो छ भने सरकारले यसलाई हेर्दिएन ।’
बेलौरीमा महाकाली चिनी उद्योग सञ्चालनमा आएको केही वर्षपछि पुनर्वासमा भागेश्वर चिनी उद्योग सञ्चालनमा आयो । दुई दुई वटा चिनी उद्योग स्थापना हुँदा कञ्चनपुरमा मात्रै नभई कैलालीमा पनि पुनः उखु उत्पादन क्षेत्र बढ्यो । किसानलाई झनै सहज भयो । यी दुवै चिनी उद्योगहरूले ५० लाख क्विन्टल उखु पेल्ने क्षमता राख्दछन् । जसबाट करिब ६ लाख क्विन्टल चिनी उत्पादन हुने अपेक्षा गरिएको छ । तर उक्त चिनी भने सुदूरपश्चिम भन्दा बाहिरी क्षेत्रमै बढी खपत गर्नुपर्ने बाध्यता रहेको महाकाली चिनी उद्योग बेलौरीका प्रशासन प्रमुख कालु सिंह ठगुन्नाको भनाइ छ ।
मङ्सिरदेखि चैतसम्मको समयावधि उखु क्रसिङको सिजन हो । यस अवधिमा चाहिने उखु उत्पादन क्षेत्र विस्तारमा केन्द्रित रहेको भागेश्वर चिनी उद्योग पुनर्वासका प्रबन्ध निर्देशक टेक बोगटीले बताएका छन् । पछिल्लो केही वर्षयता उखुको मूल्यमा सुधार हुँदा उखु खेती गर्ने किसानको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । तर समयमै मलखाद र सिँचाइको अभाव, कच्ची सडक, उखु पाके पनि समयमै पर्चा नपाउनु, खेतबाट उद्योगसम्म पु¥याउँदा झण्डै हप्ता दिनसम्म बाटोमा लाइन लाग्नु पर्ने बाध्यता तथा सरकारले दिने भनेको अनुदानमा भइरहेको ढिलाइ उखु किसानहरूका अहिलेका मुख्य समस्या हुन् ।
किसानहरूले चिनी उद्योगबाट पर्चा पाएपछि मात्रै उखु काट्दा केही सास्ती कम हुने देखिन्छ । आफ्ना किसानहरूलाई प्राविधिक ज्ञान र बिउ विजन तथा कीटनाशक औषधी लगायतमा सहयोग गरिरहेका चिनी उद्योगहरूले वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि जोड दिनुपर्ने आवश्यकता छ । यसका अतिरिक्त उखु किसानका ससाना समस्या समाधानका लागि स्थानीय तहहरू र प्रदेश सरकार पनि जबाफदेही हुनुपर्छ । सङ्घीय सरकारले किसानलाई दिने भनेको अनुदान समयमै भुक्तानी दिन र बजेट ल्याउँदा नै न्यूनतम समर्थन मूल्य निर्धारण गरी सो मूल्य किसानले पाए नपाएको बारेमा निगरानी राख्न सके किसानहरूमा थप उत्साह बढ्ने देखिन्छ ।