हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ पुस । कञ्चनपुरको महेन्द्रनगरमा आउँदो माघ १४ देखि २० गतेसम्म हुने तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजना र जिल्ला भलिबल संघ कञ्चनपुरको संयोजनमा महेन्द्रनगरको खुल्ला मञ्चमा प्रतियोगिता गरिने छ । मंगलबार दिउँसो महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धी जानकारी गराइएको छ । प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागीय टिम गरी जम्मा १० वटा टिमको सहभागिता रहने छ । जसमा १५० जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहने छन् भने अन्य ५० जना निर्णायक तथा स्वयंसेवकको टिम रहने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहले बताउनु भयो । सबै टिमको यातायात, वासस्थान लगायतको सुविधा प्रदेश खेलकुद परिषद्ले नै गर्ने गरी रु ८० लाख बजेट विनियोजन गरिएको छ । प्रतियोगिताका लागि आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आवश्यक तयारी गरिरहेको उहाँले बताउनु भएको छ ।
प्रतियोगको विजेता, उपविजेता र तेस्रो हुने टिमलाई क्रमशः रु चार लाख, दुई लाख र एक लाख नगद सहित ट्रफी, मेडलका साथमा प्रमाणपत्र प्रदान गरिने छ भने सान्त्वना पुरस्कार बापत चौथो हुने टिमलाई रु पचास हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सेमिफाइनलदेखिका चार वटा खेलमा रु पाँच हजारका दरले म्यान अफ दि म्याचको पुरस्कारको पनि व्यवस्था मिलाइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु बिस हजार तथा विभिन्न उत्कृष्ट ६ वटा विधामा जनही रु दश दश हजारका दरले नगद पुरस्कार प्रदान गरिने जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीले जानकारी दिनुभयो ।
नेपालको राष्ट्रिय खेल भलिबल मार्फत देशका सबै जिल्ला र भूगोलको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरू तथा अफिसियलहरु मार्फत यस क्षेत्रको भौगोलिक, धार्मिक, सांस्कृतिक लगायतका अन्य कुराहरूको विषयमा जानकारी गराउने, प्रतियोगितालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न कुनै प्रकारको कसर बाँकी नराख्ने, दर्शकहरूको उल्लेखनीय सहभागिता, विशिष्ट व्यक्तिहरूको उपस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुद्वारा खेलको सञ्चालन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको बिचमा उच्च तहको खेल प्रदर्शन, आकर्षक नगद पुरस्कार, यस क्षेत्रको मौलिकतालाई झल्काउने झाँकीका साथै सांस्कृतिक टिमको प्रस्तुति, आगन्तुक खेलाडीहरूलाई सम्बन्धित प्रदेशको सदरमुकामदेखि खेल स्थलसम्मको बस भाडाका साथै खानपिन र बसोबासको उचित व्यवस्थापन गर्दै उद्घाटन र समापन समारोह भव्य र सभ्य रूपमा सम्पन्न गरी सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणलाई सकारात्मकताका साथ देशैभरि चिनाउन प्रतियोगिताले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।