हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो सातौँ वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष कमला रेग्मी जोशीको अध्यक्षतामा आयोजित साधारण सभामा उहाँले सहकारी संस्थाको वार्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम र साधारण सभाका प्रस्तावहरू पेस गर्नु भएको थियो । त्यस्तै, सहकारीका प्रबन्धक विमला कुमारी बडवालले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य देवकी जोशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाबाट १५ बुँदे प्रस्तावहरू सर्वसम्मत पारित गरिएको अध्यक्ष कमला रेग्मी जोशीले जानकारी दिनुभयो ।
साधारण सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले सहकारीमा आबद्ध सबैको सहकार्यमा सहकारीले कारोबार गर्दा कुनै समस्या नआउने हुँदा सबै सदस्यहरूको भूमिका महत्त्वपूर्ण रहने सन्देश दिनुभयो । पछिल्लो समय विभिन्न सहकारी संस्थाहरू विवादमा आइरहेको हुँदा त्यस्तो हुन नदिन सबै सदस्यहरू सचेत हुनुपर्ने बताउनु भयो । बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नारद सिंह उर्यालले सहकारी संस्थाको सक्रियता अनुसार वडाले समेत सहयोग र सहकार्य गर्ने बताउनु भयो । त्यस्तै बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्काले बेलडाँडीका महिलाहरूको सशक्तीकरणमा उक्त सहकारी संस्थाको योगदान बिर्सन नसकिने बताउनु भयो । उक्त सहकारी संस्थाले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक गुणस्तर मात्र नभई महिला सशक्तीकरणका सन्दर्भमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँले प्रशंसा गर्नुभयो ।
दैजी साना किसान कृषि सहकारीका अध्यक्ष, प्रदेश कृषि सहकारी संघ सुदूरपश्चिमका अध्यक्ष एवं नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य धर्मसिंह कुँवरले आर्थिक विकास, समुन्नत समाज र समानताका लागि उद्यमशीलता तर्फ केन्द्रित हुन र आर्थिक गतिविधिमा सक्रियता बढाउन सहकारीका सदस्यहरूलाई अनुरोध गर्नुभयो । यस कार्यमा बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सक्रिय रहेकोमा उहाँले प्रशंसा समेत गर्नुभयो । साना किसान विकास बैङ्क लिमिटेड अत्तरियाका प्रतिनिधिहरूले सहकारी र बैङ्कको कारोबार सम्बन्धी जानकारी दिनुभयो । सहकारीका ज्येष्ठ सदस्यहरू, उत्कृष्ट कृषक, अधिक बचतकर्ता र बाल बचतकर्ताहरूलाई सम्मानित गरिएको छ ।
२०७४ सालमा स्थापना भएको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा हाल १ हजार ४ सय १६ जना शेयर सदस्य रहेको प्रबन्धक विमला कुमारी बडवालले जानकारी दिनुभयो । बेलडाँडी क्षेत्रको विकासका लागि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक गुणस्तर मात्र नभई महिला सशक्तीकरणका सन्दर्भमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले विविध सामाजिक गतिविधिहरूमा समेत सक्रियता बढाएको छ । गत विगतका वर्षहरूदेखि नै सहकारीमा आबद्ध परिवारका सदस्यहरू मध्येबाट कोटा अनुसार छनौट गरी कृषि विषय अध्ययन भिसामा इजरायल पठाउने कार्य गर्दै आएको छ । त्यस्तै, किसानहरूलाई मलखाद बिक्री वितरण, साना सिँचाई, एम्बुलेन्स सेवाका लागि तत्काल सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्दै आएको सहकारी संस्थाका अध्यक्ष कमला रेग्मी जोशीले बताउनु भयो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि समेत उक्त सहकारीले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेको थियो ।
उक्त सहकारी संस्थाले दुई लाख रुपैयाँसम्म बिना धितो र दश लाख रुपैयाँसम्म धितो राखेर ८ देखि १६ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । रु. ५० लाखदेखि रु. दुई करोडसम्म इलाका बैङ्कबाट स्वीकृति लिनुपर्ने र स्वीकृत भएमा कर्जा दिन मिल्दछ । त्यसमा पनि अपाङ्गता भएका व्यक्ति र महिलालाई विशेष सहुलियतमा कर्जा प्रवाह गर्दै आएको बताइएको छ । सहकारीले युवा स्वरोजगारमुखी कार्यक्रम, पशुधन तालिम, कृषि उत्पादनमुखी कार्यक्रम, किसानलाई आकर्षित कर्जा, सामूहिक स्वरोजगार कार्यक्रम, समूहको वृद्धि विकास, आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका दलित, आदिवासी, जनजाति, मुक्त कमैया, सीमान्तकृत, अपाङ्गता, कुष्ठरोगबाट प्रभावित नागरिकहरूलाई सहकारीमा आबद्ध गराउने, कृषिको बजारीकरण लगायतका आकर्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त सुत्केरी महिलाका लागि घ्यू खाने खर्च, कुनै सदस्यको मृत्यु भएमा सम्बन्धितको परिवारजनलाई किरिया खर्च समेत दिने गरेको छ । सदस्य राहत कोष अन्तर्गत रु. ५० हजार रकम दिने व्यवस्था गरिएको छ । खास गरी युवाहरूलाई विदेश जानबाट रोकी स्वदेशमै उद्यमशील बनाउन युवा लक्षित उद्यमी कर्जा अन्तर्गत दुग्धजन्य र मासुजन्य व्यवसायमा ९ प्रतिशत, तरकारी व्यवसायमा १० प्रतिशत, उद्यमी कर्जा व्यवसायका आधारमा ५० हजारदेखि १० लाखसम्म ८ देखि १० प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने गरिएको छ । कोरियाबाट फर्केका किसानलाई ४५ लाख रकमसम्म कर्जा प्रवाह गरिएको लिमिटेडले जनाएको छ ।