हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ पुस । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकारले नै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेमा जोड दिएका छन् । उनले प्रमुख राजनीतिक दलका बिचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याउन माओवादी नेतृत्वको वर्तमान सरकारले अग्रसरता देखाएको समेत बताएका छन् । कञ्चनपुरको कृष्णपुर गुलरियामा प्रेस सेन्टर नेपालले संयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद रहे पनि त्यसलाई निष्कर्षमा पुर्याउनै पर्नेमा जोड दिए । शान्ति प्रक्रिया सुरु भएपछि निर्वाचन लगायतका थुप्रै महत्त्वपूर्ण कार्य भए पनि शान्ति प्रक्रिया निष्कर्षमा पुगेको घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।
पार्टी प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षमा गरेका महत्त्वपूर्ण कार्यहरू र आगामी योजना पनि प्रधानमन्त्रीले सार्वजनिक गरिसकेको उल्लेख गरे । कार्य प्रगति सन्तोषजनक नभएकोले मन्त्रीहरू फेरबदल गर्ने विषयमा पार्टी भित्र कुनै छलफल भएको छ कि छैन भन्ने पत्रकारहरूको जिज्ञासामा उनले पार्टी भित्र औपचारिक छलफल नभएको प्रष्ट पारेका छन् । वर्तमान सरकारले नतिजामुखी कार्य गर्नुपर्नेमा उनको जोड छ ।
पत्रकारहरूकै जिज्ञासामा सापकोटाले समाजवाद सहितका विशिष्टीकृत उपलब्धिका लागि समाजवादी मोर्चा गठन गरिएकोले त्यसलाई द्रुतगतिमा अघि बढाइने बताएका छन् । पूर्व माओवादी घटक दलहरू बिच एकताको प्रयास समेत भइरहेको उनले सङ्केत देखाएका छन् । भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउनु पर्नेमा पनि उनले जोड दिएका छन् । भ्रष्टाचारकै कारण सुशासन र विकासमा बाधा उत्पन्न भएकाले सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई निरन्तरता दिनु पर्ने उनको सुझाव छ । बुधबार नै नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको संयुक्त प्रशिक्षण भेला र प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको साधारण सभामा सापकोटाले प्रमुख अतिथि र मुख्य प्रशिक्षकका रूपमा सम्बोधन गरेका थिए ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग, आइसिटी फोरम र प्रेस सेन्टरका ईन्चार्ज समेत रहेका सापकोटाले प्रचारप्रसारमा डिजिटल प्रविधिको प्रयोगमा जोड दिएका छन् । पछिल्लो समय प्रचारप्रसारका लागि आधुनिक उपकरण सहित नयाँ आविष्कार भएकाले त्यसबारे आवश्यक तालिम तथा ज्ञानको बिस्तार गर्न उनले उत्सुकता देखाएका छन् । कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै इन्चार्ज सापकोटाले व्यावसायिक भएर वैज्ञानिक तवरले आफूलाई तयार पार्न आग्रह समेत गरेका छन् । कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा 'जुगल' ले पार्टीको प्रचार विभाग, आइसिटी फोरम र प्रेस सेन्टरले सरकार र पार्टीको कामलाई जनतासम्म लैजान सक्नुपर्नेमा जोड दिए । त्यस्तै प्रधानमन्त्रीका प्रेस प्रतिनिधि गोकर्ण प्रकाश भट्टले आइसिटी फोरमको महत्त्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा प्रेस सेन्टर नेपालमा आबद्ध सुदूरपश्चिमका ७ जना पत्रकारहरू सम्मानित भएका छन् । कञ्चनपुरका मोहन बिष्ट, कैलालीकी उन्नती चौधरी र सुरेन्द्र ताम्राकार, अछामका नरेन्द्र रावल, दार्चुलाका हरि प्रसाद जोशी, बाजुराकी सोधा नेपाली र डोटीका किरण धामीलाई सम्मान गरिएको आयोजकले जनाएको छ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।