आज क्रिसमस डे अर्थात् इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशुको जन्मदिन हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । आज भने इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभु येशुको जन्मदिनलाई इसाई धर्मावलम्बीहरूले पर्वका रूपमा धूमधामका साथ मनाउँदै छन् । हिन्दुहरूको महान् पर्व दसैँ, तिहार जस्तै इसाई धर्मावलम्बीहरूले पनि महान् पर्व क्रिसमस डेलाई लिने गर्दछन् । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ । त्यसमध्ये आज इसाई धर्मका अनुयायीहरूले हर्षोल्लासका साथ क्रिसमस मनाउँदै छन् । नेपाल लगायत विश्वका विभिन्न देशहरूमा आज एकै साथ यो पर्व मनाइँदै छ । स्कुल कलेजदेखि रेष्टुराँ, तारे होटेलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले "हेप्पी क्रिसमस डे" भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । यो चाड नेपालको होइन तर, आजभोलि यहाँ पनि निकै महत्वका साथ मनाइन्छ ।
क्रिसमस नजिकिँदै गर्दा पसलहरूमा देखिने सान्टा क्लजको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामाग्रीहरू आदिले पनि यो कुराको पुष्टि गर्दछन् । आफ्ना आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठो मसिनो खाने, क्रिसमस ट्री राखेर घरलाई सजाउने, उपहार आदानप्रदान गर्ने आदिजस्ता क्रियाकलाप मार्फत मनाइने क्रिसमसलाई इसाई धर्मावलम्बीहरूले जिजस क्राइस्टको जन्मोत्सवका रूपमा मनाउँदै आएका छन् । धर्म निरपेक्षतासँगै सबै धर्मावलम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडबाड मान्न थालेका छन् । क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबार मार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठुला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउन थालिएको छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन देखि सार्वजनिक बिदा दिन थालेको छ । क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न मद्दत पुर्याउँछ । पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत टेवा पुर्याउने गरेको पाइन्छ । बुझेर वा नबुझेर हो, हाल ठुला सहरमा "क्रिसमस इभ" भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । विश्वव्यापीकरणसँगै विविध संस्कृति विश्वभर फैलने क्रम तीव्र छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको धार्मिक किंवदन्ती छ । सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैँ क्रस चिन्हमा झुण्डिएको उहाँका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास समेत गरिन्छ । २५ डिसेम्बरदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले अँध्यारोमाथि उज्यालोको विजयका रूपमा पनि यस दिनलाई लिने गरिएको छ । यस पर्वमा येशू ख्रिस्टको जन्मदिनको अवसरमा देशभरका विभिन्न मण्डलीहरू र ख्रिष्टियन सङ्घ संस्थाले क्रिसमस पर्वलाई उत्सवको रूपमा मण्डलीभित्र वा सार्वजनिक स्थलमा हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लज हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्ने जनविश्वास रहेको छ । हरेक चाडपर्वहरूको आ–आफ्नै महत्त्व रहेको हुन्छ । ती चाडपर्वहरूलाई धर्मको रूपमा भन्दा पनि उत्साहका रूपमा लिन जरुरी छ । यसर्थ आज परेको क्रिसमस डे को सबैमा हार्दिक शुभकामना ।