धर्मराज कठायत / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ पुस । कञ्चनपुरको दोधाराचाँदनीमा सञ्चालित समुदायको लागि बाढी उत्थानशीलता मापन (एफआरएमसी) परियोजना समापन गरिएको छ । मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजनाले सन् २०२१ देखि २०२३ सम्म दोधाराचाँदनी नगरपालिकाभित्र बाढी उत्थानशीलताका लागि सम्पन्न गरेका गतिविधि र ती गतिविधिहरू सम्पन्न गर्न भएको खर्च विवरण समेत सार्वजनिक गरिएको छ ।
परियोजनाले दोधाराचाँदनी नगरपालिका वडा नं. ३ को पटराखल्ला, वडा नं. ७ को कञ्चभोज, वडा नं. १० को कुतियाकबरमा गरेको इण्ड लाइन सर्वेक्षणको नतिजा समेत सार्वजनिक तथा समीक्षा गरिएको छ । सो कार्यक्रममा नगर विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, दश वटै वडाका अध्यक्षहरू, समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस्तै, निड्स नेपालबाट पूर्व अध्यक्ष विमला शाह, कार्यक्रम निर्देशक विनोद सिंह कडारा, कार्यक्रम संयोजक नवीन भण्डारी, मर्सिकोरका प्रतिनिधि नवीन चन्द्र जोशी लगायतको पनि सहभागिता रहेको थियो ।
यो परियोजनाले हालसम्म समुदायको बाढी उत्थानशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको कुतियाकबर सामुदायिक विपद् व्यवस्थापन समितिका वकालत अभियन्ता पुरन सुनारले बताउनु भयो । उहाँले कुतियाकबर समुदायमा परियोजनाकै सहयोगमा बाढीबाट बच्न बहु उपयोगी सुरक्षित आवास भवन निर्माण गरिनुका साथै समुदायको क्षमता विकासको लागि खोज तथा उद्धार तालिम, प्राथमिक उपचार तालिम, पूर्व सूचना तालिम र विभिन्न वकालत सम्बन्धी तालिमहरू प्रदान गरेर समुदायको क्षमता विकासमा महत्त्वपूर्ण सहयोग पुर्याएको जानकारी दिनुभयो । दोधाराचाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले परियोजनाले खोज तथा उद्धारका तालिमहरू प्रदान गरेको, जीविकोपार्जनमा सहयोग गर्न बाख्राका खोरहरू निर्माण लगायतका कार्यहरूले समुदायलाई निक्कै फाइदा पुगेको बताउनु भयो । निड्स नेपालले विभिन्न परियोजनाहरू मार्फत दोधाराचाँदनीमा पुर्याइरहेको योगदानको उहाँले प्रशंसा समेत गर्नुभयो ।
नगर प्रमुख किशोरकुमार लिम्बुले निड्स नेपालले विपद् व्यवस्थापन लगायत विकास निर्माण र नीति निर्माणका क्षेत्रमा समेत निक्कै सहयोग पुर्याएको बताउनु भएको छ । संस्थाको सहयोगले स्थानीय तहलाई आफ्ना कामकारबाही गर्न समेत सहज भएको भन्दै नियमित साझेदारीका लागि अनुरोध पनि गर्नुभयो । निड्स नेपालका पूर्व अध्यक्ष विमला शाहले समुदायको लागि बाढी उत्थानशीलता मापन (एफआरएमसी) परियोजना तत्कालका लागि समापन गरिएको भए पनि अर्को चरणका लागि पहल भइरहेको बताउनु भयो । उहाँले अन्य परियोजनाहरू मार्फत पनि दोधाराचाँदनी नगरपालिकाका समुदायहरूमा नियमित क्रियाशील रहन निड्स नेपाल प्रतिबद्ध रहेको बताउनु भयो ।