पछिल्लो समय आम मानिसहरू सामाजिक सञ्जालमा निकै व्यस्त देखिन्छन् । फेसबुक, युट्युब, टिकटक, ट्विटर, ईन्स्टाग्राममा मानिसहरू निकै व्यस्त छन् । इन्टरनेटको सहज पहुँच बढेसँगै सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गइरहेको देखिन्छ । खासमा सामाजिक सञ्जालको प्रयोग भन्दा पनि दुरुपयोगका घटनाहरू ज्यादा हुने गरेका छन् पछिल्लो समय । अहिलेको समयमा सामाजिक सञ्जाल एक प्रकारले हेर्दा हरेक व्यक्तिका लागि जीवनकै अभिन्न अङ्गजस्तै भएको छ । इन्टरनेटका प्रयोगकर्तालाई आफ्ना विषयवस्तु सिर्जना गर्ने र त्यस विषयवस्तुमा अन्य व्यक्तिसँग अन्तरक्रिया गर्ने सुविधा प्रदान गरे सँगै सामाजिक सञ्जालको लोकप्रियता बढ्न थालेको छ । सामाजिक सञ्जालको इतिहास त्यति पुरानो नभए पनि दुई दशकको छोटो समयमै ठुलो फड्को मार्न सफल भएको छ । यहाँ अहिलेको समय हेर्दा टिकटक, फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता सञ्जाल बढी लोकप्रिय हुँदै आएका छन् । सामाजिक सञ्जालका धेरै प्रयोगकर्ता त व्यवसनी जस्तै भएका छन् । अहिलेको सन्दर्भमा भन्नू पर्दा दुनियाँ कम्प्युटरको “माउस” मा गरिने चोर औंले क्लिकबाट “स्मार्ट फोन” र अन्य यस्तै उपकरणको सस्तो र सहज उपलब्धतासँगै बुढी औंले स्क्रोलमा साँगुरिँदै गएको देखिन्छ । मन परेको टिभी कार्यक्रम वा सिनेमा हेर्न होस् वा पत्रपत्रिका पढ्न, साथीभाइलाई सन्देश पठाउन होस् वा टाढा रहेका आफन्तको अनुहार हेर्दै गफ गर्न यही बुढी औंले स्क्रोल नै काफी छ अहिले ।
अर्कोतर्फ हेर्दा सामाजिक सञ्जालको प्रयोगलाई समयमै उचित नियन्त्रण गरिएन भने “असामाजिक” सञ्जाल बन्न सक्ने खतरा रहन्छ । जिम्मेवार व्यक्तिले सार्वजनिक रूपमा बोलेका कुराको समेत जबाफदेही लिनै नपर्ने अभ्यास रहेको नेपालजस्तो देशमा यो जोखिम अझै बढी हुने खतरा समेत रहेको छ । सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलाई एक्ल्याउँदै त लगि नै रहेको छ भने समाजबाट समेत टाढा बनाउँदै छ । अर्थात्, सामाजिक सञ्जालले व्यक्तिलाई असामाजिक बनाउँदै लगेको प्रष्ट भएको छ । धेरै सम्बन्ध तोडिनुमा सामाजिक सञ्जालले मुख्य उत्प्रेरकको काम गरिरहेको समाचारहरू छ्यापछ्याप्ती समाजमा आइरहेका छन् । त्यस्तै आपराधिक घटनाहरू समेत कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जाल जोडिएका उदाहरण पनि प्रशस्तै पढ्न र सुन्न पाइन्छन् । कुनै दुर्घटनाका हेर्नै नसकिने बीभत्स दृश्यहरू हुन् वा दैवी प्रकोपपछि उद्धारका क्रममा खिचिएका अप्रासङ्गिक सेल्फी, सामाजिक सञ्जालमा राख्नेहरू वास्तवमा ‘असामाजिक’ व्यक्ति हुन् । त्यस्तै “देखेर नदेखेजस्तो नगर्नुस् अन्यथा यस्तो नराम्रो हुनेछ” वा “यति जनालाई यो सेयर गर्नुस् मनोकाङ्क्षा पूरा हुनेछ” भनेर देवी, देवताको तस्बिर साझा गर्नु पनि व्यक्तिको आस्थामा गरिएको खेलबाड नै हो भनेर स्पष्ट हुन्छ । यस्तै भन्नुपर्दा कसैलाई केही चित्त बुझेन वा कसैसँग रिस उठ्यो भने सामाजिक सञ्जालमा एक हरफ नराम्रो लेखिदियो र काम सक्किएको ठान्यो । समाजको ठुलो समूह त्यसको सत्यता खोजबिन गर्नेतर्फ सोच्दै सोच्दैन । त्यही एक हरफका आधारमा धारणा बनाइदिन्छन् । नेपालका धेरै नेता, सामाजिक अभियन्ता, कलाकार, खेलाडी र अन्य पेसाकर्मी मात्र नभएर विभिन्न संघसंस्थासमेत यस्तै घटनाबाट पीडित भएका समेत समाचारहरू आइरहेका हुन्छन् सामाजिक सञ्जालको यस्तो नकारात्मक प्रयोग नियतवश वा प्रयोग गर्न नजानेर पनि हुन सक्छ तर कुनै निश्चित “मिसन”का लागि सञ्चालित व्यक्ति वा समूहको काम नै सामाजिक सञ्जाललाई आफ्नो उद्देश्यमा सहयोग पुग्ने गरी प्रयोग गर्नु हो ।
शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्नेलाई स्वतः कानुनी सजायको व्यवस्था भए पनि सबै अपराधीहरूले सजाय पाइरहेको देखिँदैन । असामाजिक” बाटोमा हिँड्न लागेको “सामाजिक सञ्जाल”लाई “सामाजिक” बाटोमा हिँडाउला भनेर विश्वास गर्न सकिने ठाउँ निकै कम छ । त्यसैले प्रयोगकर्ता आफूले पनि सभ्य समाजको सदस्य भएको प्रमाण प्रत्येक पोस्टबाट दिइरहनु जरुरी देखिन्छ । नाम ‘सामाजिक सञ्जाल’ भइसके पछि यहाँ राखिने सामाग्री पनि कम्तीमा सामाजिक हुन जरुरी छ । तपाई हामीले राख्ने सामाग्री समाजले कत्तिको रुचाउँछ, समाजलाई हानी गर्छ या फाइदा पुर्याउँछ, परिवारमा सँगै बसेर हेर्न सकिने सामाग्री छन् या छैनन् ? हाम्रा सामाग्रीले बाल मनोविज्ञानमा कस्तो असर गर्न सक्छ ? दीर्घकालीन रूपमा फाइदा पुर्याउँछ या बेफाइदा ? हामीले सामाजिक सञ्जालमा राख्ने सामाग्रीका बारेमा एक पटक सोच्न जरुरी छ र समाजको लागि हित गर्दैन भने त्यस्ता सामाग्री राख्नु हुँदैन ।