हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले बाख्रा पालक किसानलाई गोठ सुधारका लागि अनुदान रकम हस्तान्तरण गरेको छ । अनुदान स्वरूप रु. २५ हजार नगद रकम बेलडाँडी गाउँपालिका वडा नम्बर १ निवासी कलावती बमलाई हस्तान्तरण गरिएको अध्यक्ष कमला रेग्मी जोशीले बताउनु भयो । प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको विशेष उपस्थितिमा उक्त रकम बाख्रा पालक किसान कलावती बमलाई हस्तान्तरण गरिएको हो । उक्त रकम बुझ्दै बमले अनुदान पाएकोमा हर्षित हुँदै अनुदानको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सोही क्रममा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ सहितको टोलीले बाख्रा पालक किसानले गरिरहेका गतिविधिहरूको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले कृषि पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउन किसानहरूलाई हौसला प्रदान गर्नुभयो । किसानहरूले कृषि पेसामा देखिएका चुनौतीका बारेमा प्रतिनिधि सभा सदस्य तामाङलाई अवगत गराउनु भएको छ ।
२०७४ सालमा स्थापना भएको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा हाल १६०० जना भन्दा बढी सदस्य रहेको प्रबन्धक विमला कुमारी बडवालले जानकारी दिनुभयो । बेलडाँडी क्षेत्रको विकासका लागि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक गुणस्तर मात्र नभई महिला सशक्तीकरणका सन्दर्भमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले विविध सामाजिक गतिविधिहरूमा समेत सक्रियता बढाएको छ । गत विगतका वर्षहरूदेखि नै सहकारीमा आबद्ध परिवारका सदस्यहरू मध्येबाट कोटा अनुसार छनौट गरी कृषि विषय अध्ययन भिसामा इजरायल पठाउने कार्य गर्दै आएको छ । त्यस्तै, किसानहरूलाई मलखाद बिक्री वितरण, साना सिँचाई, एम्बुलेन्स सेवाका लागि तत्काल सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्दै आएको सहकारी संस्थाका अध्यक्ष कमला रेग्मी जोशीले बताउनु भयो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि समेत उक्त सहकारीले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेको थियो ।
उक्त सहकारी संस्थाले दुई लाख रुपैयाँसम्म बिना धितो र दश लाख रुपैयाँसम्म धितो राखेर ८ देखि १६ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । रु. ५० लाखदेखि रु. दुई करोडसम्म इलाका बैङ्कबाट स्वीकृति लिनुपर्ने र स्वीकृत भएमा कर्जा दिन मिल्दछ । त्यसमा पनि अपाङ्गता भएका व्यक्ति र महिलालाई विशेष सहुलियतमा कर्जा प्रवाह गर्दै आएको बताइएको छ । सहकारीले युवा स्वरोजगारमुखी कार्यक्रम, पशुधन तालिम, कृषि उत्पादनमुखी कार्यक्रम, किसानलाई आकर्षित कर्जा, सामूहिक स्वरोजगार कार्यक्रम, समूहको वृद्धि विकास, आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका दलित, आदिवासी, जनजाति, मुक्त कमैया, सीमान्तकृत, अपाङ्गता, कुष्ठरोगबाट प्रभावित नागरिकहरूलाई सहकारीमा आबद्ध गराउने, कृषिको बजारीकरण लगायतका आकर्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त सुत्केरी महिलाका लागि घ्यू खाने खर्च, कुनै सदस्यको मृत्यु भएमा सम्बन्धितको परिवारजनलाई किरिया खर्च समेत दिने गरेको छ । सदस्य राहत काेष अन्तर्गत रु. ५० हजार रकम दिने व्यवस्था गरिएको छ । खास गरी युवाहरूलाई विदेश जानबाट रोकी स्वदेशमै उद्यमशील बनाउन युवा लक्षित उद्यमी कर्जा अन्तर्गत दुग्धजन्य र मासुजन्य व्यवसायमा ९ प्रतिशत, तरकारी व्यवसायमा १० प्रतिशत, उद्यमी कर्जा व्यवसायका आधारमा ५० हजारदेखि १० लाखसम्म ८ देखि १० प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने गरिएको छ । कोरियाबाट फर्केका किसानलाई ४५ लाख रकमसम्म कर्जा प्रवाह गरिएको लिमिटेडले जनाएको छ ।