कञ्चनपुर, १४ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ रामबस्ती घरभई नेपाल आर्मीमा कार्यरत रब्बा तामाङ (वर्ष ३५) को आँखा दुई दिन देखि ओभाएको छैन । घरको अगेना चिसो छ । नुहाउने, खाना खाने र लुगा लगाउने फुर्सद छैन । गोठमा भोकाएका पशुहरु कराईरहेका छ्न । शान्ति सेनाको रुपमा विदेशमा कार्यरत रहँदा आफ्नी श्रीमतीका लागि देखेका सपना सिसा झैँ फुटेको छ ।
उनकी श्रीमती यशोदा भनिने विमला तामाङ (३२ वर्ष) ले गाउँघरका आफन्त, समूह र स्थानीय वित्तीय संस्थाबाट करीब उन्नाइस लाख रकम लिएर अर्कै पुरुषसंग भागेपछि रब्बा तामाङको दिन श्रीमती खोज्दै बितिरहेको छ । उनी श्रीमती खोज्न चारैतिर दौडधुप गरिरहेका छन् । आफन्त, प्रहरी प्रशासन, पत्रकार सबैलाई गुहार मागिरहेका छन् । तर उपलब्धी शुन्य ।
पत्रकारहरुको टोली उनको घर पुग्दा श्रीमती खोज्न चारैतिर दौडधुप गरि भर्खर घर आईपुगेका थिए । दुई वटा सन्तान मनिषा (१४ वर्ष) र वसन्त (वर्ष ११) मलिन अनुहार बनाएर पीढीमा बसिरहेका थिए । गाउँका आफन्त, समूह र स्थानीय वित्तीय संस्थाहरुबाट उनको श्रीमतीले उन्नाईस लाख लगेको भन्दै रकम माग्न आईपुगेका रहेछ्न । “एकातिर स्वास्नी भागेको पीडा अर्कोतिर साहु घरमा आउँदाको पीडा” रब्बा तामाङ दोहोरो पिडामा छन् ।
“विदेशबाट घर आउँदा स्वास्नी सामान्य अवस्थामा थिइन् । पहिले पनि गल्ती गरिसकेकोले आइन्दा कहिले गल्ती गर्दिन भन्दै छोराछोरी र मेरो टाउकोमा हात राखेर कसम खाएकि थिई । त्यसैले अब त सुध्रि होली भन्ठानेर ढुक्क थिए । सधै सामान्य व्यवहार गर्ने मान्छे गएको माघ ११ गते बिहान गम्लङ अंगालो हालेर मलाई म्वाई खाई, माया गरेर सुमसुम्याई, म अचम्ममा परे । त्यसपछि बुढाबुढी सल्लाह गरेर म मोटरसाइकल बनाउन भारतको सम्पूर्णानगर गएँ ।
स्वास्नीको व्यवहारमा एक्कासि आएको परीवर्तन देखेर बाटोभरी स्वास्नीकै बारेमा सोचिरहेँ । मनमा शंका लागीरह्यो । छिटोछिटो मोटरसाइकल बनाईदिन मेकानिकलाई आग्रह गरे । मोटरसाइकल बनाएर हतार हतार घरतर्फ आएँ । घर पुगेर आँगनमा मोटरसाइकल रोकि स्वास्नीलाई बोलाएँ तर घरमा नभेटेपछि आईबिआरडीमा ल्होछार कार्यक्रम हेर्न गएकी होली भनेर म पनि त्यतै लागे । तर त्यहाँ भेटीन । घर फर्केर आएँ । वल्लोपल्लो घरमा सोधपुछ गर्दा झोला लिएर धनगढी तर्फ लागेको थाहा पाएँ । हतार हतार सबैतिर खोजे तर भेटन सकिन ।” रब्बा तामाङको स्वर बोल्दाबोल्दै रोकिन्छ, आँखाबाट आँसु झर्छ ।
“मलाई मन नपराए पनि छोराछोरीको के गल्ती थियो र ? फेरि जानै थियोे भने यसरी ऋृणमा डुबाएर किन गयौ ? मेरो गल्ती के हो ?” उनी स्वास्नीलाइ प्रश्न राख्न चाहन्छ्न । एक चोटि घर आउन, विदेशबाट आफुले पठाएको पैसाको हिसाब देखाउन र गाउँको ऋृण तिरी आफूलाई सजिलो पारीदिन श्रीमतीसंग आग्रह गर्छन । घरमा आए श्रीमतीलाई कुनैपनि नराम्रो व्यवहार नगर्ने बरु सम्बन्धविच्छेद गरेर बाटो खोलिदिने पीडित रब्बा तामाङ बताउँछन ।
हाम्रै साझा पत्रिकाका प्रकाशक सुनिल कुमार लो द्वारा सम्प्रेषित समाचारलाई साभार गरी केही सम्पादन गरिएको...